महोत्तरी/ “सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व महसुस हुन्छ,” दमाहा बजाउँदै गर्नुभएकी यहाँको बर्दिबास–३ पाटुकी निरु पौडेलले भन्नुभयो, “सुरु सुरुमा कतिले कुरा काटे, बाहुनकी छोरीबुहारीले यो के गरेकी पनि भने, तर मैले आफ्नो काम छाडिन । यसमा नाम र दाम दुवै पाएकी छु ।”
पञ्चे बाजा समूहमा निरु मात्र हुनुहुन्न । क्षत्री, तामाङ्, मगर, कामी, सार्की र दमाईँ समुदायका अन्य महिला पनि छन् । पुरुष, महिला वा यो जात त्यो जात भन्ने छैन । सीप र कला हो । यसमा पोख्त सबै मिलेर ‘समावेसी नौमती पञ्चे बाजा साँस्कृतिक समूह’ गठन गरी व्यवसायिक रुपमा बाजा बजाउँदै आएका छन् ।
“हाम्रो समूहमा जात र लिङ्गको कुरा हुँदैन, त्यसैले यसको नाम नै ‘समावेसी’ शब्दबाट सुरु गरेका हौँ,” समूहका अध्यक्ष रमेश पौडेल खत्री भन्नुहुन्छ, “यहाँ सीप र कलाको कुरा हुन्छ ।”
पाटु बस्तीका १५ जनाले सुरु गरेका यो समूहलाई मङ्सिर लागेयता फुर्सद छैन । “हामीलाई डाक्ने जतिलाई समय दिन भ्याएका छैनाँै, जम्मा १५ जना छौँ, एकै समयमा बाँडिएर दुई ठाउँसम्म भ्याएका छौँ”, अध्यक्ष खत्रीले भन्नुभयो, “कोही कुरा काट्ने पनि होलान्, तर हामीलाई त तिनका कुरा सुन्ने फुर्सदै पो छैन ।” यो १५ जनाको समूहमा आठ जना महिला छन् ।
समूहमा भाले दमाहावादक सुभद्रा कार्की यो काम व्यवसायमात्र नभएर एउटा विद्रोह पनि भएको बताउनुहुन्छ । “हाम्रो पारम्परिक समाजमा महिलाले यो गर्नु हँुदैन, यो काम त अमुक जातको हो भन्ने सोचले जरा गाडेको छ, यस्तो बेला हामीले ‘दमाहा’ समाएका छौँ, परम्परागत समाजमा यो विद्रोह पनि हो”, उहाँ भन्नुहुन्छ, “अब निरन्तर हामी काममा लागेपछि टिप्पणी गर्ने हराउँदै गएका छन्, हामी व्यवसायी बनेका छौँ ।”
समूहकी भीममाया क्याप्छाकी मगरले सहनाई बजाउन थालेपछि सबै दर्शक मुग्ध देखिन्छन् । “हैन, कस्तो राम्रो मिलेको यिनीहरुको सुरताल”, बर्दिबास–१ का स्थानीय भक्त भण्डारीले भन्नुभयो, “यिनीको कामप्रतिको समर्पण र लगाव तारिफ योग्य छ ।”
केही महिना पहिलेमात्र समूह विधिवत बर्दिबास नगर कार्यपालिकाको कार्यालयमा दर्ता गराएका कलाकारले शुल्कमा पनि आफ्नो स्थानीयलाई विशेष छुट दिने गरेका छन् । बर्दिबास–३ मा आयोजना हुने समारोहमा दैनिक ४५ हजार, बर्दिबास नगरपालिकाका अन्य १३ वडामा ५५ हजार र बर्दिबास बाहिर जानुपरेमा ६५ हजार रुपैयाँ शुल्क तोकेका छन् ।
यो समूहमा आबद्ध भएदेखि घरायसी खर्चको जोहोका लागि कसैलाई गुहार्नु नपरेको झ्यालीवादक जानुका विक बताउनुहुन्छ । “मधेसका सबै जिल्ला पुग्यौँ, जहाँजहाँ पुग्छौ, त्यहाँ हामीलाई बोलाउछन्,” समूहकी सहनाइवादक अञ्जना तामाङले भन्नुभयो, “मान्छेको मायामाले कामप्रति झन् उत्साह बढाएको छ ।” मधेसका जिल्लाबाहेक कोशी प्रदेशको उदयपुर र वागमतीको सिन्धुलीका कैयन समारोहमा सरिक भइसकेको उहाँले जानकारी दिनुभयो ।
आफ्नो समूहप्रति युवा पुस्ताले चाख बढाउँदै लगेको समूहका अध्यक्ष खत्री बताउनुहुन्छ । यो चासोले कामप्रति विश्वास जगाएको समूहमा आबद्ध कलाकार बताउँछन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित