निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि सरकारीमा प्रसूति गराउने बढे

नेपालगञ्ज/ बाँकेका निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रसूतिका लागि आउने महिलाको चाप अत्यधिक बढ्दै गएको छ ।

नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पताल र नेपालगञ्जमा रहेको सञ्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूतिका लागि आउनेको चाप अत्यधिक बढेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले जानकारी दिनुभयो ।

उहाँले प्रसूति गराउने महिलाको चापले गर्दा कतिपय अवस्थामा भर्ना भएका बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रसूतिका लागि शल्यक्रिया र औषधि, उपचार निःशुल्क हुने भएकाले अस्पतालप्रतिको भरोसा बढ्दै गएको बताउनुभयो ।

“सरकारी अस्पताल भुइँ मान्छेका लागि नै हो, उहाँहरू बाहिरको अस्पतालमा ठूलो रकम तिर्न सक्नुहुन्न त्यसैले पनि अस्पतालमा चाप बढेको छ”, उहाँले भन्नुभयो ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गत शल्यक्रियादेखि अन्य सबै औषधि र उपचार निःशुल्क हुँदै आएकामा चालु आर्थिक वर्षबाट यहाँका दुई ठूला निजी अस्पतालमा सो कार्यक्रम बन्द हुँदा अधिकांशले प्रसूतिका लागि भेरी अस्पताललाई रोज्ने गरेका छन् ।

निजी अस्पतालमा प्रसूति सेवा निकै महँगो भएकाले अहिले अधिकांशले भेरी अस्पताल रोजेपछि शय्या र जनशक्ति अभावले समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ । अस्पतालमा सामान्य डेलिभरी दैनिक २० देखि २५ र शल्यक्रिया १२ वटा हुने गरेको मेसु डा सुवेदीले बताउनुभयो ।

उहाँले प्रसूतिका लागि आउने बिरामीको चापलाई ध्यानमा राखेर १८ वटा शय्या थप गरिएको तथा केही पोस्टअप बेड थप्दासमेत धान्न नसकेको बताउनुभयो । उहाँले तीन सय श्ययाको अस्पतालमा प्रसूतिका लागि ७५ वटा शय्या छुट्याइएको जनाउँदै हाल आएर त्योभन्दा दोब्बर बढी बिरामी आउने गरेकाले सेवा प्रवाहमा समस्या भएको बताउनुभयो ।

भेरी अस्पतालको प्रसूति सेवा विभागका प्रमुख वरिष्ठ चिकित्सक डा उर्मिला पराजुलीले केही समययता भेरी अस्पतालमा प्रसूति गराउने धेरै बढी आउन थालेकाले उपचारमा समस्या भएको बताउनुभयो । उहाँले बिरामीको सङ्ख्या अनुपातमा सामान्य बेड, पोस्टअप बेड र जनशक्ति निकै कम भएकाले त्यसतर्फ तत्काल ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पताल र नेपालगञ्जस्थित सञ्जीवनी अस्पतालले निजीस्तरमा सञ्चालन गरेको आमा सुरक्षा कार्यक्रम बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments