काठमाडौँ /विराटनगर किंग्सको अपराजित यात्रामा ब्रेक लागेको छ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पारेको हो ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा चितवन राइएनोजले विराटनगर किंग्सलाई ४८ रनले पराजित गरेको हो ।
चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १६।५ ओभरमा सबै विकेट गुमाएर १२६ रनमा अलआउट भयो ।
विराटनगरका लागि लोहर अर्डका मर्चेन्ट डे लाङले ३९ र प्रतिश जिसीले ३० रन बनाए पनि टिमको हार टार्न पर्याप्त भएन । डे लाङ र प्रतिशले नवौँ विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए ।
यस्तै साम हिजलेटले २२ रन जोडे । विराटनगरका ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
विराटनगरलाई अलआउट गर्न चितवनका रन्जितले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । उनी यस सिजन एकै खेलमा ५ विकेट लिने पहिलो बलरसमेत बने ।
यस्तै कमल सिंह ऐरीले २ तथा सोहेल तनविर, सैफ जैब र कप्तान कुशल मल्लले समान एकरएक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
चितवनका लागि बोपाराले सर्वाधिक ६५ रन बनाए । यस क्रममा उनले ३८ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे । सैफ जैबले ३२ र देव खनालले २८ रन जोडे । कप्तान कुशल मल्लले अविजित रहँदै २० रन जोडे । बोपारा र कुशल मल्लले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए ।
विराटनगरका मर्चेन्ट डे लाङ र कप्तान सन्दीप लामिछानेले दुई/दुई तथा शुभम रन्जानले एक विकेट लिएका थिए ।
सुरुवाती लगातार तीन खेल जित्दै सानदार सुरुवात गरेको विराटनगरको पहिलो हारपछि ४ खेलबाट ६ अंक छ । चितवनले दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित