बजार अनुगमन तीव्र पार्दै विभाग

काठमाडौँ/वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा बजार अनुगमन तथा निरीक्षणको कामलाई थप तीव्र पारेको छ । विभागले बिहीबारमात्र काठमाडौँका नौवटा पानी उद्योगमा अनुगमन गरेको थियो ।

पिउनेपानीमा कैफियत भेटिएको भन्ने गुनासो आएपछि विभागले अनुगमन गरी उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारबाही गरेको छ ।

विभागले कोशी मिनरल वाटर उद्योग, स्तुपा इन्डस्ट्रिज, सहभागिता वाटर एन्ड वेभरेजलगायतलाई गुणस्तर कायम गर्न निर्देशन दिएको थियो । यस्तै, मङ्सिर ३ गते काठमाडौँका विभिन्न ११ वटा पसल, उद्योग तथा प्रतिष्ठानमा अनुगमन गरेको थियो । गोकर्णेश्वरमा रहेको जल्पादेवी कस्मेटिक र सुजाता फेन्सीलाई नगद जरिवाना गरेको थियो ।

मङ्सिर २ गते विभागले विभिन्न आठवटा उद्योग तथा फर्ममा अनुगमन गरेको थियो । अनुगमनका क्रममा परागन फुटवेयर उद्योग चन्द्रागिरिलाई रु ५० हजार जरिवाना गरेको थियो ।

यस्तै, राजेश स्यानिटरी वेयरलाई रु ५० हजार र एक्वा सञ्जिवनी पानी प्रशोधन उद्योगलाई रु २० हजार जरिवाना गरेको थियो । त्यसैगरी, मङ्सिर १ गते विभिन्न पाँचवटा उद्योग तथा फर्ममा विभागले अनुगमन गरेको थियो । कैफियत देखिएको पाइएपछि विभागले कविता वेभरेज प्रालिलाई रु १० हजार जरिवाना गराएको थियो ।

बजारलाई स्वच्छ, मर्यादित र उपभोक्तामैत्री बनाउन विभागले नियमित अनुगमनलाई तीव्रता दिएको जनाएको छ । विभागले स्थानीय सरोकारवालाको समेत साथ लिई बजार अनुगमनलाई तीव्र पारिएको स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments