काठमाडौँ / आजदेखि विश्व प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह नेपालमा पनि मनाइँदैछ । सप्ताह मनाउने क्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आज भिडियो सन्देश दिँदै जथाभावी औषधिको सेवन नगर्न आग्रह गर्नुभएको छ ।
मन्त्री डा गौतमले चिकित्सकले लेखेको औषधि पूर्ण डोजमा र आवश्यक मात्रामा खानहुन अनुरोध गर्दै अनावश्यक जथाभावी औषधि, एन्टिबायोटिक औषधि र एन्टिमाइक्रोबियल औषधि सेवन नगर्न आग्रह गर्नुभयो । उहाँले एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधिको जथाभावी प्रयोगले एन्टिबायोटिक रेसिस्टेन्स भन्ने अवस्था सिर्जना हुने उल्लेख गर्दै चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधि सेवन नगर्न आग्रह गर्नुभयो ।
सन्देशमा मन्त्री डा गौतमले उपचारका क्रममा सामान्य औषधिले नछोएर एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधिको प्रयोगले अलि हाम्रो बिमारी नै पनि निको नभएर गम्भीर स्वास्थ्यमा असर पर्ने अवस्थासम्म पुर्याउने गरेको बताउनुभयो ।
https://www.facebook.com/reel/25908366652097913
“हामीलाई सामान्य औषधिले नछोएर, अलि हाम्रो बिमारी नै पनि निको नभएर गम्भीर स्वास्थ्यमा असर पर्ने अवस्थासम्म हामी पुग्न सक्छौँ । त्यसैले हामीले जँचाएर आवश्यक मात्रामा र आवश्यक औषधि मात्रै प्रयोग गर्नुपर्छ,” मन्त्री डा गौतमले सन्देशमा भन्नुभएको छ । उहाँले जथाभावी एन्टिबायोटिक औषधि किनेर खाने गर्नाले, खाद्य सामग्रीमा मिसाएर खानाले र पशुपन्छीको आहारका रुपमा खुवाउँदा पनि एन्टिबायोटिक रेसिस्टेन्स हुन सक्ने बताउनुभयो ।
मन्त्री डा गौतमले अस्पतालमा आइपुग्ने बिरामीमा विभिन्न औषधिले काम नगर्दा–नगर्दा अति नै कडा खालका औषधि दिनुपर्ने हुन्छ र त्यो औषधिले पनि निको नहुने अवस्था सिर्जना हुन सक्ने बताउनुभयो । उहाँले सबैको सहभागितामा मुलुकबाट प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) हुने औषधिका रेसिस्टेन्स कम गर्नलाई सक्रिय भूमिका खेल्न अनुरोध गर्नुभएको छ ।
यस्तै सप्ताहकै अवसरमा स्वास्थ्य सचिव डा विकास देवकोटाले विवेकपूर्ण तरिकाले औषधि प्रयोगको गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) स्वास्थ्य उपचारमा एक जटिल समस्या बन्दै आइरहेकाले यसलाई समयमै सम्बोधन गर्न सकेनौँ भने भोलि स्वास्थ्य प्रणालीले नराम्रो हार क्षति व्यहोर्नुपर्ने हुनसक्ने बताउनुभयो । उहाँले एन्टिमाइक्रोबियल रेसिस्टेन्स चुनौतीको सामना गर्न एन्टिमाइक्रोबियल स्टिवार्डसिप अस्पताल स्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
“हामीले स्वास्थ्य संस्थाहरूमा औषधि प्रयोगको निगरानी, डेटा÷तथ्याङ्क अभिलेख र चिकित्सकहरूको क्षमता विकासलाई प्राथमिकता दिएका छौँ,” उहाँले भन्नुभयो, “एन्टिमाइक्रोबियल स्टिवर्डसिप कार्यक्रम केवल नीति नभई, व्यवहार परिवर्तनको यात्रा हो जसमा स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता अत्यावश्यक छ ।”
मन्त्रालयले औषधिको प्याकेटमा रातो धर्का दिएका औषधि स्वास्थ्यकर्मीको प्रेस्क्रिप्सन बिना सेवन गर्न÷नगर्न आग्रह गरेको छ । ‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ नाराका साथ विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह देशव्यापी रुपमा मनाइँदैछ । सप्ताह मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित