काभ्रेपलान्चोक / काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको वडा वडामा स्त्रीरोग सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
गाउँपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान गट्ठाघर भक्तपुर र शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल बनेपा काभ्रेपलाञ्चोकको प्राविधिक सहयोगमा विभिन्न वडामा शिविर हुन लागेको स्वाश्थ्य शाखा संयोजक दिलरत्न शाक्यले जानकारी दिए । सोमबारदेखि सञ्चालन भएको शिविर मंसिर ४ गतेसम्म सञ्चालन हुनेछ । मंसिर २ गते वडा नं ६ स्थित सिपाली चिलाउने स्वास्थ्य चौकिमा, ३ गते वडा नं ७ स्थित कटुन्जेबेशी स्वास्थ्य चौकीमा र ४ गते वडा नं ९ स्थित मंगलटार स्वास्थ्य चौकीमा बिहान १० बजेदेखी दिँउसो २ बजेसम्म शिविर सञ्चालन हुने आयोजकले जनाएको छ ।
पहिलो दिन सोमबार वडा नं १ स्थित नारायणस्थानमा भएको शिविरमा २ सय ४३ जना महिलाहरूले सेवा लिएका छन् । त्यहाँस्थित रोशी अस्थायी अस्पतालमा भएको शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, पिसाव चुहिने रोगको पहिचान र उपचार, आङ खस्ने समस्याको प्रतिरोधात्मक उपचार, परामर्श र शल्यक्रिया, स्त्री रोग सम्बन्धी परीक्षण (पाठेघर जाँच) र परामर्श, पाठेघरको मुखको परीक्षण र परामर्श, पाठेघरको मुखको क्यान्सरको पूर्व पहिचान, थर्मोकोगुलेशन, फिस्टुलाको अप्रेसन, भिडियो एक्स–रे सेवा र स्त्री रोग सम्बन्धी सम्पूर्ण रोगको जाँच तथा उपचार भएको शाक्यले जानकारी दिए । उनका अनुसार, शिविरमा २ सय ५ जनाको भिआईए परिक्षण गरेकोमा १४ जनामा पाठेघरको मुखको क्यान्सर पूर्व पहिचान (जोखिम) भएको पाइएको छ ।



शिविरमा २० जनाको पाठेघर खस्ने पहिलो, दोस्रो र तेस्रो स्टेजको समस्या पाइएकोमा १० जनालाई रिङ प्रेसरी उपचार गरेको र ३ जनालाई शल्यक्रियाका लागि शिर मेमोरियल अस्पतालमा रिफर गरेका शाक्यले जानकारी दिए । अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको छ ।
आङ खस्ने समस्या भएका बिरामीहरूलाई निःशुल्क औषधी वितरण गरिएको छ । शिविरमा उपलव्ध भिडियो एक्सरे सेवामार्फत एक जनाको जोखिम पत्ता लागेको छ । रगत बग्ने समस्या लिएर आएकी एक गर्भवतीको भिडियो एक्सरे परिक्षणमा जुम्ल्याहा बच्चा रहेको पहिचान भएको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित