नागरिकलाई प्रशासनिक सहजता अनुभूति गराउनुहोला – प्रमुख प्रशासकीय अधिकृत, गुरागाईँ
काठमाडौँ / काठमाडौँ महानगरपालिकाले ४२ हजार ८५६ वटा विद्युतीय शिफारिस जारी गरेको छ । आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा विभागीय प्रमुख, वडा सचिव, लेखापाल र इञ्जिनियर सहभागी बैठकमा विद्युतीय सेवाका लागि सञ्चालन गरिएको ‘शिफारिस तथा प्रमाणित प्रक्रिया व्यवस्थापन प्रणाली’लाई थप परिष्कृत गर्दै लैजाने विषयमा छलफल गर्दै सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले यो तथ्याङ्क दिनुभएको हो ।


बैठकमा प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले, गत आ. व. को अन्तिम लेखा परीक्षणको तयारी गर्न, वेरुजु फस्र्योट गराउने प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभयो । बैठकमा चालु आ. व. को कार्यक्रम कार्यान्वयन, अहिलेसम्म प्राप्त उपलब्धि, महानगरपालिकाको गुनासो व्यवस्थापन प्रणाली र हेल्लो सरकारमा प्राप्त भएका गुनासा फस्र्योट, वेरुजु फस्र्योट लगायत विषयमा वडाले देखेका र भोगेका समस्या तथा समाधानका विषयमा छलफल भएको थियो ।

छलफलमा कमल गौत्तम, पदमकेशर अधिकारी, मदनकिशोर गुरागाईँ, सञ्जुमा महर्जनसहित वडा सचिवहरुले बहाल करमा भाडा नलागेको अवस्था देखाउँदै देखाउँदै पनि राजस्व वेरुजु आएको गुनासो गर्नुभयो । यस्तै इञ्जिनियर सुमनवादे श्रेष्ठसहितका सहभागीहरुले बैठकले आपसी अभ्यास बुझेर आफ्नो कामलाई सुधार गर्ने मौका भएको बताउनुभयो ।
चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रममध्ये सार्वजनिक सूचनामार्फत प्रक्रिया अगाडि बढाउनु पर्ने कामलाई तत्काल अगाडि बढाउन, अन्तिम लेखा परीक्षणका लागि जिम्मेवारी छुट्याउन, आवश्यक पर्ने कागजात तयार पार्न आग्रह गरिएको छ ।

खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित