मधु आचार्यको प्रस्ताव : मंसिर २४ गतेबाट सुरु हुने गरी विशेष महाधिवेशन बोलाउँ

आचार्यले फागुन २१ गते हुने निर्वाचनलाई पहिलो प्राथमिकता बताउँदै त्यसअघि कांग्रेसलाई “नीति, नेता र कार्यक्रमका दृष्टिले योग्य” बनाउने समय आएको उल्लेख गरे।

काठमाडौं / नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीलाई एकजुट बनाउँदै आगामी निर्वाचनको तयारी सुदृढ गर्न मंसीर २४ गतेबाट विशेष महाधिवेशन सुरु गर्ने प्रस्ताव गरेका छन्। उनले मंगलादेवी सिंहको जन्मजयन्तीको अवसर पारेर विशेष महाधिवेशन आह्वान गर्न आग्रह गरेका हुन्।

केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले भने, “विशेष परिस्थिति आएको बेला छोटो तयारीमै ठूला निर्णय गर्न सकियोस् भनेर विधानमा विशेष महाधिवेशनको व्यवस्था गरिएको हो। अहिले त्यसको सही उपयोग गर्ने समय आएको छ।”

आचार्यले फागुन २१ गते हुने निर्वाचनलाई पहिलो प्राथमिकता बताउँदै त्यसअघि कांग्रेसलाई “नीति, नेता र कार्यक्रमका दृष्टिले योग्य” बनाउने समय आएको उल्लेख गरे। उनका अनुसार विशेष महाधिवेशनले पार्टीभित्रको ५५–४५ को विभाजन मेटाउने र आन्तरिक एकता मजबुत बनाउने अवसर दिनेछ।

उनले भने, “पार्टीमा दिनरात संघर्षरत कार्यकर्ताको भावना अनुसार केन्द्रीय समितिले निर्णय लिनुपर्छ, अन्यथा विधानतः हस्ताक्षरकर्ताहरुले विशेष महाधिवेशन गर्ने अधिकार राख्छन्।”

आचार्यले नयाँ पुस्तालाई पार्टीभित्र सशक्त प्रतिनिधित्व दिलाउनुपर्ने आवश्यकता औंल्याए। उनले १६५ वटै प्रतिनिधि सभा क्षेत्रबाट कम्तीमा चार महिला सहित सात जना जेन्जी पुस्ताका प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागी गराउने व्यवस्था गर्न प्रस्ताव गरे।

त्यस्तै, भावी महाधिवेशनले ४० वर्ष मुनिका सदस्यको ४० प्रतिशत सहभागिता अनिवार्य गर्ने नीति पारित गर्नुपर्ने उनको सुझाव छ।

पूर्व पदाधिकारीहरूले समस्या बल्झाउने होइन, समाधान दिनुपर्नेमा आचार्यले जोड दिए।

उनका अनुसार, “सिनियर नेताहरुले विकल्प देखाएर पार्टीभित्र एकता निर्माणमा योगदान गर्नुपर्छ। विशेष महाधिवेशनले नै राष्ट्रिय मेलमिलाप र एकताको मर्म समात्छ।”

आचार्यले नेपाली कांग्रेसका केही नेतामाथि लागेको भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनसम्बन्धी आरोपको निष्पक्ष छानबिन गर्न माग गरे।

उनले भने, “पार्टी र कार्यकर्ताको प्रतिष्ठासँग यो विषय जोडिएको छ। सरकारलाई ‘भ्रष्टाचार तथा अकुत सम्पत्ति छानबिन आयोग’ गठन गर्न र कांग्रेससम्बद्ध आरोपितमाथि निष्पक्ष छानबिन गर्न आग्रह गरौं।”

उनका अनुसार, सरकारले यस्तो आयोग गठन गरेमा कांग्रेसको पूर्ण सहयोग रहनेछ।

आचार्यद्वारा केन्द्रिय समितिको बैठकमा पेश गरिएको प्रस्तावको मूलअंश :

१. महाधिवेशन सम्वन्धमाः

हाम्रो पहिलो प्राथमिकता फागुन २१ को निर्वाचन हो र सँगसँगै त्यस निर्वाचनमा जान “नीति, नेता र कार्यक्रम” का दृष्टिले योग्य कांग्रेस बनाउनु पनि हो। त्यसैले केन्द्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरी नेपालको लोकतान्त्रिक आन्दोलनको वीरंगना मंगलादेवी सिंहको जन्मजयन्तीको अवसर पारेर मंसीर २४ गतेबाट सुरु हुनेगरी विशेष महाधिवेशन आयोजन गर्न प्रस्ताव गर्दछु। यसो गरेमा यो शतप्रतिशतको महाधिवेशन हुनेछ, ५५ र ४५ को विभाजन पनि मेटिनेछ। जहाँसम्म जेन्जी युवा पुस्ताको सहभागिता नहोला कि भन्ने चिन्ता छ, विशेष महाधिवेशनबाट अनुमोदन गर्नेगरी एउटा निर्णय गरौं- सबै १६५ प्रतिनिधि सभा क्षेत्रबाट कम्तिमा ४ जना महिला सहित ७ जनाको दरले यो पुस्ताको प्रतिनिधिलाई सहभागिको रुपमा विशेष महाधिवेशनमा पठाउन सम्वन्धित समितिलाई विशेष अधिकार प्रदान गरौं।

शीघ्रातिशीघ्र यसै बैठकबाट विशेष महाधिवेशन बोलाऔं। पार्टीमा दुःख गरेका, रगत पसिना भिजाएका ठूलो संख्यामा साथीहरु दिनहुँ बाहिर विभिन्न संघर्षको कार्यक्रममा हुनुहुन्छ, वहाँहरुको भावना समेतलाई सम्मान गरेर केन्द्रीय समितिले निर्णय लिऔं। अन्यथा हस्ताक्षरकर्ताले विधानतः विशेष महाधिवेशन गर्ने नै छन। उनीहरुलाई रोक्ने अधिकार हामीसँग हुने छैन।

२. जेन्जी युवामैत्री कांग्रेस निर्माणः

कांग्रेसले भावि विशेष महाधिवेशनमा जेन्जी युवामैत्री नीति पारित गर्नेगरी तयारी गरौं। ४० वर्ष मुनिकालाई पार्टीको हरेक तहमा ४०% सहभागि गराउने सुनिश्चितता गरौं। युवा सहभागिता बढाऔं।

३. पूर्व पदाधिकारीहरुबाट अपेक्षाः

पूर्व पदाधिकारीहरुले समस्या बल्झाउने होइन, समाधान दिनुपर्छ। आफैं पोजिशन बनाउने हो र ? बिकल्प दिनु र देखाउनु पर्छ। विशेष महाधिवेशन पक्षधर हस्ताक्षरकर्ताहरुले बरु तीनवटा कि पुष दोस्रो हप्ताभित्र नियमित महाधिवेशन सकौं, कि केन्द्र आफ्नै निर्णयले विशेष महाधिवेशन बोलाउनोस, आउँछौं, नभए हामी आफैं विशेष महाधिवेशन गर्छौं) विकल्प दिएका छन। तर सिनीयर नेताहरु चाहीं किन रिजिड भा’को ? यसरीअभिभावकको भूमिका हुँदैन।

पार्टीभित्र एकता निर्माणमा योगदान गर्नोस। साथीहरुलाई विकल्प दिएर डोर्याउँनोस, बिच्काउने काम नगर्नोस। विशेष महाधिवेशनले मात्र राष्ट्रिय एकता र मेलमिलापको मर्म समात्छ। पार्टीलाई एकजुट बनाउँछ। निर्वाचन सामना गर्न हामी सक्षम हुनेछौं। यसलाई आत्मसात गर्नोस।

४. सैद्धान्तिक संकल्पमा जोडः

विशेष महाधिवेशनबाट अनुमोदन गर्नेगरी यो बैठकबाट दुईवटा शंकल्प पारित गरौं। पहिलो, क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट सबै तहको नेतृत्व चयन गर्ने पध्दति अवलम्वन गरौं। दोस्रो, निर्वाचनमा क्रियाशील सदस्यको प्राइमरीबाट तहगत उम्मेदवार निर्धारण गरौं। यी दुईवटा आधारभूत परिवर्तनले पार्टीको ब्यापक लोकतान्त्रिकरण गर्दछ, घात-अन्तर्घातसम्वन्धी आरोप-प्रत्यारोपको अन्त्य गर्छ।

५. शक्तिशाली आयोग र छानवीनको मागः


नेपाली कांग्रेसका कतिपय नेता वा सदस्य माथि भ्रष्टाचार र गैरकानूनी अकुत सम्पति आर्जन सम्वन्धी दोषारोपण भइरहेको विषय पार्टी एवं कार्यकर्तालाई कत्तिपनि शोभनीय छैन। यो बैठकले नेपाल सरकारलाई अविलम्व “भ्रष्टाचार र अकुत सम्पति आर्जनसम्वन्धी उच्चस्तरीय छानबीन आयोग” गठन गर्न तथा नेपाली कांग्रेस सम्वध्द आरोपितहरु माथि (अरु पार्टीको हकमा उनीहरु नै जानुन) निष्पक्ष छानवीन गर्न अनुरोध गर्नेगरी प्रस्ताव पारित गरौं। सरकारले यसप्रकारको कदम चालेमा नेपाली कांग्रेस पार्टीको पूर्ण सहयोग रहने कुरा पनि प्रष्ट गरौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments