मुलुक बनाउने जिम्मेवारी हामी सबैको होः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री कार्कीले आफू राजनीतिक नेता नभएको र परिस्थितिले यहाँ ल्याइपुर्याएको बताउँदै गत भदौ २३ गतेअघिसम्म त यो परिस्थिति आउला भन्ने अनुमान पनि नभएको उल्लेख गर्नुभयो ।

काठामाडौँ / प्रधानमन्त्री सुशीला कार्कीले मुलुक बनाउने जिम्मेवारी सबैको भएको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भएको बैठकमा उहाँले भन्नुभयो, “हामी सबै मिलेर मुलुक बनाउने हो । हामीले नसुधारे कसैले सुधारिदिँदैन । त्यसैले जेजस्ता समस्या छन्, मिलेर समाधान गरौँ ।”

प्रधानमन्त्री कार्कीले आफू राजनीतिक नेता नभएको र परिस्थितिले यहाँ ल्याइपुर्याएको बताउँदै गत भदौ २३ गतेअघिसम्म त यो परिस्थिति आउला भन्ने अनुमान पनि नभएको उल्लेख गर्नुभयो । जेनजीहरूको सुरुको माग भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा रहेको बताउँदै उहाँले अहिले धेरैथरी जेनजी देखापरेका तथा धेरै माग आउन थालेको उल्लेख गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

“कतिपय जेनजी यहीँ आएर चर्का कुरा गरेर जान्छन् । कतिपय यहाँभित्र ठीकठाक हुन्छन्, बाहिर गएर मनोमानी बोल्छन् । जेसुकै भए पनि ती सबै हाम्रा छोराछोरी हुन्”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “सिक्दै छन् । कतिपय त निकै नै परिपक्व कुरा पनि गर्छन् । हामीले भन्दा धेरै कुरा उनीहरूले जानेका छन् ।”

प्रधानमन्त्री कार्कीले आफूहरु प्रदेश सरकारसँग सहकार्य गरेर नै अघि बढ्ने उल्लेख गर्दै संविधानले दिएको परिधिभित्रै रहेर काम गर्ने बताउनुभयो । संविधानले बनाएका संरचनाको सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।

“स्थायित्वका लागि निर्वाचित सरकार नै चाहिन्छ । निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन् । राजनीतिक दल नभई यो व्यवस्था चल्दैन । त्यसैले स्वतन्त्र विज्ञ भनेर नाम चलेका व्यक्ति पनि चुनाव लड्न दल खोल्दै छन्”, उहाँले भन्नुभयो, “जेनजीहरूलाई पनि पार्टी खोलेर चुनावमा सहभागी होऊ र आफ्ना एजेन्डा जनताबाट अनुमोदन गराऊ भनेका छौँ । कोहीकोही बरालिएका छन्, कोही उग्र पनि छन् । उनीहरूले यो समयको संवेदनशीलता र अन्तरिम सरकारका सीमा बुझ्नुपर्छ ।”

निर्वाचनको वातावरण बनाउने सरकारको मुख्य प्राथमिकता भएको बताउँदै प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका लागि बन्दोबस्तीका सबै सामानको व्यवस्था गर्न लागेको जानकारी गराउनुभयो ।

“प्रहरीका लागि तत्काल आवश्यक गाडी खरिदको प्रक्रिया अघि बढिसकेको छ । छिमेकी मुलुकहरूले पनि सवारीसाधन उपलब्ध गराउँदै छन् । केही मित्रराष्ट्रले आर्थिक सहयोग गर्ने वचन दिएका छन्”, उहाँले भन्नुभयो ।

आन्दोलनमा क्षतिग्रस्त भएका प्रहरीका ९० प्रतिशत संरचना स्थानीय जनताले नै बनाइदिएको बताउँदै प्रधानमन्त्री कार्कीले यसले प्रहरीको मनोबल उकास्न र जनतासँगको सम्बन्ध थप कसिलो बनाउन मद्दत गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “अहिलेभन्दा निकै प्रतिकूल अवस्थामा पनि चुनाव भएको छ । जेनजीहरूले पनि चुनाव हुनुपर्छ र अहिलेको अवस्थामै गर्न सकिन्छ भनेका छन् । दलहरूसँगको संवादले अझै बढी चुनावका पक्षमा वातावरण बनेको महसुस भएको छ ।”

निर्वाचन आयोगलाई चाहिने १२० प्रकारका सामग्रीमध्ये ९० प्रतिशतभन्दा बढी उपलब्ध रहेको र बाँकी व्यवस्थापन गर्न लागेको प्रधानमन्त्री कार्कीले बताउनुभयो । आयोगले पनि तोकिएकै समयमा चुनाव गराउन सकिनेमा पूर्ण विश्वास दिलाएको उहाँको भनाइ थियो ।

लुटिएका र हराएका हतियार फेला पर्दै गएका र प्राप्त हुन बाँकी रहेका हतियारको पनि लोकेसन पत्ता लागिसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भागेका कैदी पनि फर्कन लागेका बताउनुभयो । सुरक्षित वातावरण बन्छ भन्नेमा ढुक्क हुन आग्रह गर्दै उहाँले यस कार्यका लागि प्रदेश सरकारले पनि भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय सरकारले पनि हातेमालो गर्नुपर्ने र तीनै तहका सरकारसँग समन्वय गरेर नै अघि बढ्ने बताउँदै प्रधानमन्त्री कार्कीले अबको छलफल स्थानीय सरकारका प्रतिनिधिसँग गर्ने जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments