महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काठमाडौँ / नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । पार्टीको १५औँ महाधिवेशनको मिति तोक्नेसम्बन्धी प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गर्ने बारेमा संस्थापन र संस्थापनइतर पक्षबीच सहमति हुन नसक्दा बैठक स्थगित भएको हो । यसअघि पनि शुक्रबारको बैठक यसरी नै स्थगित गरिएको थियो ।

कांग्रेसमा वर्तमान सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको आमनिर्वाचनपछि महाधिवेशन गर्ने वा त्यस अगावै महाधिवेशन गर्ने विषयमा बहस जारी छ ।

गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा पहिलो दिन सभापति शेरबहादुर देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोक्नुभएको थियो । गत भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनका क्रममा सभापति देउवा दम्पती साङ्घातीक हमलामा परी गम्भीर घाइते हुनुभएको थियो । उहाँहरु अहिले थप स्वास्थ्य उपचारका लागि सिङ्गापुरमा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments