प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।
काठमाडौँ / प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका विषयमा परामर्श जारी राख्नुभएको छ । यसै सन्दर्भमा आज उहाँले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्नुभएको छ ।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कार्कीले निर्वाचनमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्नेमा जोड दिनुभएको छ । सो क्रममा महामन्त्रीद्वयले भन्नुभयो, “औपचारिक निर्णय गर्न बाँकी भए पनि कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ । शीघ्र यसबारे आधिकारीक निर्णय पनि गर्छौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने विश्वास छ । एमालेलाई सहमतिमा ल्याउन सरकारले पनि थप प्रयास गर्नुपर्ने देखिन्छ । हामी पनि प्रयासरत छौँ ।”
उहाँहरूले आफ्नो पार्टीले जेनजी युवासहित अन्य दलसँग पनि शीघ्र निर्वाचनलगायत समसामयिक विषयमा गहन संवाद गर्ने बताउनुभयो । महामन्त्रीद्वय थापा र शर्माले जेनजी युवालगायत सबै राजनीतिक दलसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचन अघि केकसरी सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसद्को पहिलो बैठकले केके निर्णय गर्ने भन्ने विषयमा अहिले नै सहमति गरेर जानुपर्ने धारणा राख्नुभएको थियो ।
प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाउनुभएको उहाँको सचिवालयले जनाएको छ । आज एमाले सचिवालय बैठक भएकाले छलफल अर्को दिन गर्ने एमाले नेतृत्वले बालुवाटारमा जानकारी गराएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरकफरक दलका नेताहरूसँग छलफल गर्नुभएको थियो । प्रधानमन्त्रीकै आह्वानमा यसअघि सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद पनि भइसकेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित