गृहिणीबाट उद्यमीः सीपले जीवन बदल्दै भोजपुरका महिला

स्थानीय तहको निरन्तर प्रयास र महिलाको सक्रिय सहभागिताले अहिले भोजपुरका गाउँघरमा आत्मनिर्भरता र उद्यमशीलताको नयाँ उदाहरण देखिन थालेको स्थानीयले बताएका छन् ।

भोजपुर / पहिले घरधन्दा र परिवारमा सीमित भोजपुरका महिला अहिले आफ्नै सीपबाट आम्दानी गर्न थालेका छन् । गाउँपालिका र वडास्तरमा सञ्चालित सिलाइकटाइ, ढाका बुनाइ, बेमौसमी तरकारीखेती, मुढा बनाउने, अचार बनाउने, गड्यौलाको मल उत्पादनलगायत सीपमूलक तालिमले महिलालाई स्वरोजगार र उद्यमशील बन्ने अवसर प्रदान गरेको हो ।

महिलालाई आत्मभिर्नरसँगै व्यावसायिक बनाउनका लागि ‘महिला लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको का उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । ढाका बुनाइ, सिलाइकटाइ, अचार बनाउने, बेमौसमी तरकारीखेती, बाख्रापालन, बङ्गुरपालनलगायत सीप प्रदान गरेपछि यहाँका महिला उद्यममा जोडिएका उहाँले उल्लेख गर्नुभयो ।

सीप लिएर व्यवसायमा लाग्न चाहने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहनसहित सहयोग गरिरहेको उपाध्यक्ष राईले बताउनुभयो । उहाँका अनुसार गाउँघरमा पाइने कच्चा पदार्थको सदुपयोग गर्दै व्यावसायिकसँगै उद्यमशील बनाउन गत आर्थिक वर्षमा २७ जना महिलालाई अचार बनाउने सीप प्रदान गरिएको थियो ।

टेम्केमैयुङ गाउपालिका–४,नागीकी सम्झना राईले सोही तालिम लिएपछि आफ्नै गाउँमा अचार उत्पादन सुरु गरेको बताउनुभयो । सीपले जीवन निर्वाह गर्न सहजता प्रदान गरेको उहाँको भनाइ छ । “सीप सिकेपछि घरमा अचार बनाउन थालेकी छु”, उहाँले भन्नुभयो, “यसले मलाई आत्मनिर्भर बन्न सहज बनाएको छ । जानेको सीप अरुलाई पनि सिकाएर प्रेरित गर्दै आएकी छु ।”

यहाँका सीप लिन इच्छुक दलित समुदायका महिलाको पहिचान गरेर बाँसकोे मुढा बनाउने तालिम दिएपछि अहिले महिला स्वरोगार बन्दै गएका छन् । पौवादुङ्मा गाउँपालिकामा १९ वटा आमा समूहले गड्यौलाको मल उत्पादन गरी बिक्री वितरण गर्न थालेका छन् ।

पौवादुङ्मा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’अन्तर्गत महिला विकास बोर्ड गठन गरी उद्यमसँग जोड्न विभिन्न गतिविधि सञ्चालन गर्न थालिएको उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिनुभयो ।

रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका महिलाहरू पनि सीपमूलक तालिमपछि उद्यममा जोडिएका छन् । स्थानीय चन्द्रकला राई अहिले सिलाइकटाइ व्यवसायमा सक्रिय हुनुहुन्छ । “वडामा सीपमूलक तालिम पाउँदा हामीजस्ता गृहिणी महिलालाई सजिलो भयो”, उहाँले भन्नुभयो, “अहिले यही व्यवसायबाट घरखर्च चलाउन सहज र आत्मनिर्भर बन्न टेवा पुगेको छ ।”

सिलाइकटाइ तालिमबाट स्वरोजगार बन्नुका साथै आत्मविश्वास बढेको चन्द्रकलाको भनाइ छ । “हामी जस्ता महिलालाई अन्य ठाउँमा गएर तालिम लिन गाह्रो पर्थ्यो”, उहाँले भन्नुभयो, “आफ्नै गाउँमा तालिम लिएर व्यवसाय गर्न पाउँदा खुसी छौँ ।”

स्थानीय तहको निरन्तर प्रयास र महिलाको सक्रिय सहभागिताले अहिले भोजपुरका गाउँघरमा आत्मनिर्भरता र उद्यमशीलताको नयाँ उदाहरण देखिन थालेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments