गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईका अनुसार कार्यक्रमअन्तर्गत यहाँका सबै ६ वडाका १९ महिला समूहले गड्यौँला मल उत्पादन थालेका छन् ।
भोजपुर / रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाले गड्यौला मल उत्पादन सुरु गरेको छ । महिला विकास बोर्डमार्फत ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’अन्तर्गत सुरु गरिएको यो योजनाले स्थानीय महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य राखिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईका अनुसार कार्यक्रमअन्तर्गत यहाँका सबै ६ वडाका १९ महिला समूहले गड्यौँला मल उत्पादन थालेका छन् । महिलालाई आत्मनिर्भरसँगै उद्यमशील बनाउँदै गाउँपालिकामा जैविकखेती प्रणालीमा जोड दिने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । महिलालाई अनुदानमा आवश्यक सहयोग गरेर गत वर्षबाट कार्यक्रम थालिएको हो ।
“महिलालाई उद्यमशील बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उपाध्यक्ष राईले भन्नभयो, “यो कार्यक्रम सञ्चालन भएपछि यहाँका १९ महिला समूह गड्यौँला मल उत्पादनमा लाग्नुभएको छ । हामीले आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गरेका छौँ ।”
यो कार्यक्रममा आबद्ध महिला समूहले उत्पादन गरेको गड्याँैला मल गाउँपालिकाले नै खरिद गरेर अन्य किसानलाई वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो । खरिद गरिएको मल अन्य किसानलाई ५० प्रतिशत अनुदानमा वितरण भइरहेको उहाँले जानकारी दिनुभयो ।
“रासायनिक मलको प्रयोग कम गर्न हामीले गड्यौँला मल उत्पादनको कार्यक्रम सञ्चालन गरिरहेका छौँ,” अध्यक्ष राईले भन्नुभयो, “किसानले उत्पादन गरेको मल खरिद गरेर अन्य किसानलाई अनुदानमा दिन्छौँ । हाम्रो मुख्य उद्देश्य नै अग्र्यानिक उत्पादनमा जोड दिनु हो ।”
किसानले उत्पादन गरेको गड्यौँला मल प्रतिकिलो रु २२ मा गाउँपालिकाले खरिद गर्ने व्यवस्था मिलाइएको छ । यसरी खरिद गरिएको मल अन्य इच्छुक किसानलाई मागका आधारमा अनुदानमा वितरण हुँदै आएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित