एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवास अवलोकन

आन्दोलनका नाममा योजनाबद्ध रूपमा मुद्दाका मिसिलहरू, सिंहदरबारका ऐतिहासिक दस्तावेज, उद्योग–व्यवसाय, स्कुल र निजी सम्पत्तिहरू जलाएर ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भएको उहाँको भनाइ छ ।

भक्तपुर / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज बालकोटस्थित आफ्नो निवास अवलोकन गर्नुभएको छ । उहाँले जेनजी आन्दोलनका क्रममा जलेर भग्नावशेषमा परिणत भएको घरको अवलोकन गर्नुभएको हो ।

अध्यक्ष ओलीले आफ्नो निवास परिसरभित्र रहेका पुस्तकालय, सुरक्षाकर्मीको घरसहितका संरचना अवलोकन गर्नुभएको हो । अवलोकनपछि अध्यक्ष ओलीले भन्नुभयो, “यो मेरो सम्पत्ति थिएन, यो सरकारको सम्पत्ति हो । हामीले त बाँचुन्जेल बास बस्न र खानका लागि मात्रै प्रयोग गरेको हो । अब त त्यो अवस्था पनि रहेन ।”

अध्यक्ष ओलीले थप भन्नुभयो, “मेरो श्रीमतिले राष्ट्र बैंकमा ३३ वर्ष गरेको दुःखबाट सृजना गरेको सम्पत्ति हो यो, यो सबै राज्यका नाममा दिइसकेका थियौँ, यहाँका ऐतिहासिक दस्तावेजहरू, दुर्लभ किताबहरू, महत्त्वपर्ण सामानहरू जलाउँदा राज्यलाई नै क्षति भएको छ ।”

जेनजी आन्दोलनका नाममा भएका तोडफोड, लुटपाट र आगजनीका घटना भयानक षड्यन्त्र भएको बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, “मैले यहाँ धेरै भन्नुपर्ने केही छैन । तस्बिर आफैँ बोलिराख्या छ । जसरी छानीछानी व्यक्तिका घरहरू जलाइएको छ । योे आश्चर्य जनक छ ।”

आन्दोलनका नाममा योजनाबद्ध रूपमा मुद्दाका मिसिलहरू, सिंहदरबारका ऐतिहासिक दस्तावेज, उद्योग–व्यवसाय, स्कुल र निजी सम्पत्तिहरू जलाएर ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भएको उहाँको भनाइ छ । उहाँले सम्पूर्ण घटनाको निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीसँगै अवलोकनमा रहनुभएकी उहाँकी पत्नी राधिका शाक्यले जलेको घरलाई अब केही नगर्ने र यतिकै छाडिदिने बताउनुभयो । अनुगमनका क्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत, नेताहरू भानुभक्त ढकाल, विशाल भट्टराई, एमाले जिल्ला उपाध्यक्ष किरण थापालगायत एमालेका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments