काठमाडौँ उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले उक्त ट्राफिक लाइटको उद्घाटन गर्नुभयो ।
काठमाडौँ / जोरपाटीसहित आसपासका क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण तथा सहरी ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले ट्राफिक लाइट जडान गरिएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा जोरपाटी चोकमा ट्राफिक लाइट जडान गरिएको हो ।
आज यहाँ आयोजित एक कार्यक्रमका बीच काठमाडौँ उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले उक्त ट्राफिक लाइटको उद्घाटन गर्नुभयो । उहाँले अहिलेको समयमा पनि ट्राफिक प्रहरीले सडकमा हात हल्लाएर सवारी व्यवस्थापन गर्नु परिरहेको उल्लेख गर्दै नयाँ प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापन सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “एकाइसौँ शताब्दीमा हामी अझै पनि परम्परागत ढङ्गबाट सवारी व्यवस्थापन गरिरहेका छौँ । ट्राफिक लाइटको प्रयोगले व्यवस्थापनमा गुणात्मक सुधार ल्याउनेछ । सवारी दुर्घटना घटाउन, सहरी ट्राफिकलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न यस्ता प्रविधि अपरिहार्य छन् ।”
प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले समाजमा शान्तिसुरक्षामा खलल पु¥याउने, अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा नछाडिने स्पष्ट पार्नुभयो । उहाँले पछिल्लो समय ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरी संरचनामा भएको क्षति तथा प्रहरीको हतियार लुटिएको विषय गम्भीर अपराध भएको बताउँदै दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको जानकारी दिनुभयो ।
“हामी अनुरोध गर्छौँ, लुटिएका हतियार प्रहरीलाई फिर्ता गर्नुहोस् । सुध्रिन मौका छ, तर अपराधमा संलग्न जोसुकै होस्, कानूनी कारबाहीबाट उन्मुक्ति हुँदैन”, प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले भन्नुभयो ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सडकमा अराजक तरिकाले सवारीसाधन चलाउने, मोडिफाई गरिएका मोटरसाइकलले पटपट र चर्को आवाज निकालेर अशान्ति फैलाउने, ट्राफिक नियमको उल्लङ्घन गर्नेलगायत व्यक्तिलाई समाजमा शान्तिसुरक्षामा खलल पुर्याएको कसुरमा नियन्त्रणमा लिई कारबाही गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब ट्राफिक नियम उल्लङ्घनलाई सामान्य लापरबाही होइन, शान्तिसुरक्षामा खलल पु¥याउने कार्य मानिनेछ । ट्राफिक प्रहरीको आग्रहलाई बेवास्ता गर्दै अटेरी गरेर समाजमा अशान्ति मच्चाउँदै हिड्ने चालकलाई शान्तिसुरक्षा खलल पारेको कसुरमा कारबाही गरिने छ ।”
गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले नगरको तर्फबाट ट्राफिक व्यवस्थापनमा यथासम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “समाजमा विकृति र अशान्ति मच्चाउने जोकोहीलाई कानूनी दायरामा ल्याउनु आजको आवश्यकता हो । प्रहरीका हतियार लुट्ने जस्ता गम्भीर अपराध गर्नेलाई माफ गर्नु हुँदैन । यस्ता व्यक्ति अपराधिक मानसिकताका हुन् र तिनीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।”
नगरप्रमुख रिसालले ट्राफिक तथा नेपाल प्रहरीलाई आवश्यक पर्ने सहयोग र स्रोत उपलब्ध गराउन नगर तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले आज ट्राफिक लाइट जडान गरिनुले नागरिकलाई आवागमनमा सुविधा पुग्ने बताउँदै आगामी दिनमा यस्ता कार्यले निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, प्रहरी अधिकारीहरू, स्थानीय समाजसेवीहरू तथा सर्वसाधारणको उपस्थिति थियो । ट्राफिक लाइटको सञ्चालनपछि जोरपाटी क्षेत्रको ट्राफिक व्यवस्थापन थप सशक्त हुनुका साथै सडकमा बढ्दो घुइँचो नियन्त्रण हुने र दुर्घटनामा कमी आउने विश्वास गरिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ कार्तिक ५ गते