स्टोरी:

जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क

मनाङ / हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा अहिले याक, चौँरी र भेडाच्याङ्ग्रा घाँसेमैदानमा चरिरहेका देखिन्छन् । हिउँदमा घर वरपर राखेर पालिएका याक, चौँरी र भेडाच्याङ्ग्राको बथान यतिबेला लेकका खर्कमा पु¥याइएका छन् । हिउँद सकिएपछि लेकमा पु¥याइने याक, चौँरी र भेडाच्याङ्ग्राका बथान खर्कमा चरिरहेका भेटिन्छन् ।
हिमाली खर्कहरुका घाँसे मैदानमा याक, चौँरी र भेडाच्याङ्ग्रा चरिरहेका हुन्छन् भने खर्ककै नजिक रहेका पानीका स्रोतहरुमा पानी खान झर्दै गरेका र पानी खाइरहेका दृश्य देखिन्छन् । यतिबेला पशुपालन गरिरहेका किसान याक चौँरीका बाच्छाबाच्छी जन्मने समय भएकाले खर्कमा रहेका गोठमा यिनीहरुको स्याहारसुसारमा व्यस्त हुन्छन् ।

यहाँका अधिकांश पशुपालक किसान अर्थात् चौँरी पालक किसानमध्ये एक हुनुहुन्छ ६२ वर्षीया याञ्छु खाण्डा लामा । उहाँ आइसलेक खर्कमा नै बसोबास गरी याकचौँरी र भेडाच्याङ्ग्रा पालन गर्दै आउनुभएको छ । उहाँलाई खर्कमा नै चिसो मौसममा सबेरैदेखि दुध दुहुन, कुडोपानी गर्न र छुर्पीका लागि दही बनाउँदै गरेको देख्न सकिन्छ । याञ्छु भन्नुहुन्छ, “बाजेबजै र आमाबाको पालादेखि नै याकचौँरी र भेडाच्याङ्ग्रा पालनमा जोडिएको हो । आम्दानी भने पनि यही हो । नोक्सान भए पनि व्यवसाय नै यही हो । कहिले बेसी त कहिले लेकका खर्क गर्दै जीविकोपार्जन भइरहेको छ ।”

याक, चौँरी तथा भेडाच्याङ्ग्रा पालनसँगै आफूले चार छोराछोरी हुर्काउनुभएको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफू पनि गोठमै हुर्किएको र आफ्नो विवाहदेखि बालबालिका जन्माएर हुर्काउनुसम्मको काम गोठ सार्दै र याक, चौँरीको स्याहारसँगै छोराछोरी हुर्काएको हुँ ।” खर्ककै गोठमा याकचौँरी र भेडाच्याङ्ग्रालाई स्याहार्दै आफ्ना छोराछोरी हुर्काएको उहाँ बताउनुहुन्छ । हालसम्म पनि पशुपालन गरिरहेको उहाँ बताउनुहुन्छ । याञ्छु भन्नुहुन्छ, “बच्चा पिठियुमा बोेकेर नै याक, चौँरी र भेडाच्याङ्ग्रा स्याहार गथ्र्यौं । दुःख गरी छोराछोरी पनि गोठमै हुर्काएँ । कहिलेकाँही त बच्चा च्यापेर नै दूध दुहुनुपथ्र्यो । हामीलाई सुख कहाँ भयो र ?”

मुख्य आम्दानीको स्रोत भनेकै याक पालन रहेको उहाँ बताउनुहुन्छ । बच्चासँगै छुर्पी बोकेर बेसी पु¥याएर खर्कको गोठमा फर्किनुपर्ने हुन्थ्यो । खर्कमा घामपानीको समस्या हुन्छ । स्याहार्न सजिलो हुन्छ भनेर तल (बेसी) मा नै पु¥याउनुपर्ने उहाँ बताउनुहुन्छ । अहिले जीवनशैली फेरिदै गएको उहाँको अनुभव छ । “गोठमा हुर्काएका छोराछोरी अहिले विदेश पठाएँ । उनीहरुको इच्छाको अगाडि हामीले भनेको कहाँ हुने रहेछ र ?”, उहाँ भन्नुहुन्छ, “याक, चौँरीको बजार छैन । याक, चौँरी, भेडाच्याङ्ग्रा पालन गर्न मान्दैनन् । पहिले याक, चौँरी र भेडाच्याङ्ग्रा कति छ गन्नै सकिदैन थियो । आफ्नो र अरुको याक, चौँरी नै चिन्न सकिदैन थियो । तर, अहिले घटेको छ । गन्न सकिने भएको छ ।”

याक, चौँरीका लागि नुन बाहेक अन्य खानेकुरा किन्नु नपर्ने उहाँ बताउनुहुन्छ । कम खर्च भए पनि फेरिएको प्रविधिले यो पेसाबाट पलायन हुने क्रम बढेको उहाँको बुझाई छ । अब बाँकी हामीसँग यहीँ कान्छो छोरा मात्रै रहेको उहाँ बताउनुहुन्छ । “कान्छो पनि विदेश जाने तयारीमा छ । यहीँ याक, चौँरीपालन गर्ने भन्दा मान्दैन । सबै दाजु र दिदी विदेश छन् म पनि जान्छु भन्छ”, याञ्छु भन्नुहुन्छ, “त्यसैमाथि याक, चौँरी बिक्री पनि कम हुन्छ । आम्दानीको स्रोत यही हो । यो भन्दा काम गरेर आम्दानी हुन्छ भन्छ छोरा कान्छा पनि विदेश गएपछि झन याक, चौँरी घटाउनुपर्ने अवस्थामा पुग्नेछौँ ।”

बेसीमा झारेको बेला याक, चौँरी तथा भेडाच्याङ्ग्रा गनिदै आएको उहाँ बताउनुहुन्छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गणना गर्नुका साथै याक, चौँरीलाई खोप समेत लगाउने र पशुको स्वास्थ्य परीक्षण हुन थालेको याञ्छुको भनाइ छ । लेकका खर्कमा याक, चौँरी लगिएको समयमा बच्चा जन्माउने समय भएकाले भेटेरिनरी सेवा लिन समस्या रहेको उहाँ बताउनुहुन्छ । खर्क टाढा हुने हुँदा समयमा सम्बन्धित निकायमा सम्पर्क गर्न र प्राविधिक पुग्न नसक्दा कुनै समयमा बाच्छाबाच्छी जन्मिदै मर्ने पनि हुने गरेको उहाँको भनाइ छ ।

“सामान्य प्राविधिकको काम सिक्ने भएकाले सहज भएको छ । प्राविधिकको अभावमा आफैँले काम गर्दै आएका हुन्छौं”, याञ्छु भन्नुहुन्छ, “समयमा हिउँ पथ्र्यो । पानी भएपछि घाँस समयमा नै पलाउँछ । अहिले ५÷७ वर्ष भयो हिउँ पर्न छोड्यो । धेरै पशुपालन गर्न सजिलो थियो । अहिले हिउँ नपरेपछि घाँस पलाएका छैनन् । जसले गर्दा टाढा (खर्क) का घाँसेमैदानमा वस्तु चराउनकै लागि पु¥याउनुपर्ने बाध्यता छ । टाढा पु¥याउँदा वन्यजन्तुको आक्रमण बढेको छ ।”

पहिले बाच्छाबाच्छी जोगाउन मुस्किल हुने भएपनि अहिले खर्कमै बाच्छाबाच्छीको सुरक्षा गर्न तारबार लगाउने गरिएको उहाँ बताउनुहुन्छ । “पहिले एउटा याक, चौँरी रु २० देखि २५ हजारसम्ममा बेचबिखन हुन्थ्यो । अहिले प्रति याक, चौँरी रु.एक लाखदेखि एक लाख ५० हजारसम्मको मूल्यमा बेच्न सकिन्छ”, याञ्छु भन्नुहुन्छ, “समय फेरिएको छ आधुनिक प्रविधिले याक खर्कमा बस्ने गोठाला पाउन सकस हुन्छ । खर्कमा सुविधा हुँदैन । आजकाल सबैले पेसा फेर्न मात्रै खोज्छन् ।”

त्यस्तै नार गाउँका (याक, चौँरी) पशुपालक किसान मिङ्मार छिरिङ लामा भन्नुहुन्छ, “गोठाला नपाउने, आफैँले मात्रै स्याहारसुसार गर्न सकिदैन । त्यसैले पशुपालन गर्न छाड्ने बढ्दै गएका छन् ।” नार्पाभूमिका वार्षिक रुपमा चार÷पाँच पशुपालक किसानले वस्तुभाउ बिक्री गरी वैदेशिक रोजगारी तथा अन्यत्र पलायन हुने क्रम बढेको उहाँ बताउनुहुन्छ । लामा भन्नुहुन्छ, “मासु अहिले प्रयोगमा बढी आएको हो । पहिले याक, चौँरी र भेडाच्याङ्ग्राका ऊन, छाला, दुध, छुर्पी, गोबर, भारी बोक्न वा ढुवानीका लागि प्रयोग हुन्थ्यो । तर, अहिले छाला, ऊन, गोबर, ढुवानीका साधनको रुपमा प्रयोग हुन छाडेको छ ।”

पुस्तौंदेखि गरिदै आएको पशुपालनबाट किसान पलायन हुन थालेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “दाउरा पाउन मुस्किल हुने यस ठाउँमा पशुपालन छाडिदै जाँदा गोबर पाउने अवस्था छैन । बाह्रैमास जाडो हुने यस क्षेत्रमा दाउराको काम गोबरले गर्दै आएकामा किसान पेसाबाट पलायन हुँदा गोबर पाउन सकस हुने अवस्था छ ।” सोलारको भरमा जनजीविका चल्ने यस ठाउँमा हिउँ पथ्र्यो पहिले, अहिले पानी पर्न थालेको उहाँ बताउनुहुन्छ । पानी पर्न थालेपछि याक, चौँरीसँगै यहाँका पुराना माटाका घर मासिदै गएका लामा बताउनुहुन्छ । यसले पनि यहाँको वातावरणमा असर पारेको हुनसक्ने उहाँको भनाइ छ । याक, चौँरीको बजार क्षेत्र नै जिल्ला बाहेक अन्यत्र नहुँदा याकचौँरी पालन घट्दै गएको लामा बताउनुहुन्छ ।

चौँरी पालनको सामाजिक–सांस्कृतिक पक्ष

चौँरी केवल आर्थिक स्रोत मात्र नभएर सांस्कृतिक पहिचान पनि हो । गुरुङ, शेर्पा, लामा, भोटे, तामाङ लगायतका समुदायमा चौँरीलाई देवीको रूपमा पूजा गरिन्छ । बौद्ध र बोन धर्मअनुसार चौँरीको रौँबाट बनाइने झण्डा र लुगाहरू पवित्र मानिन्छ । बिहे, चाडपर्व, तिथिमिति, मेलापात जस्ता कार्यहरूमा चौँरीको घ्यू, दही, छुर्पी र पनिर प्रयोग गरिन्छ । चौँरीको टाउको, सिङ र हड्डीहरूबाट धार्मिक सामग्री निर्माण गरिन्छ । यसैगरी, खर्कहरूमा प्रत्येक वर्ष मनाइने ‘याक डे’, ‘घ्यू पूजा’ आदि पर्वहरूले खर्क संस्कृतिको विशेषता उजागर गर्ने गर्दछन् ।

नारका ८४ वर्षीय साङ्मा टासी लामा र ८० वर्षीया रिक्तर पर्चु लामा भन्नुहुन्छ, “चौँरीको घ्यू, दही, छुर्पीले पाहुनालाई स्वागत गर्छौं । शद्ध बनाउन पनि प्रयोग हुन्छ । यी बिना हाम्रा चाडपर्व, बिहे, तिथिमिति र मेलापात नै चल्दैन । हाम्रो संस्कार र संस्कृतिसँग जोडिएको छ ।” हरेक दिनको सुरुआत नै घ्यू चियाबाट हुने गरेको उहाँहरु बताउनुहुन्छ । साङ्मा भन्नुुहुन्छ, “गोठाला पाइदैन । अन्य पेशामा जाने क्रम बढ्दो छ । बिक्री वितरण कम हुन्छ । किनबेच कम हुने भएकाले पनि यस पेसाबाट पलायन हुने क्रम बढेको हो ।” याक, चौँरीपालन घट्दै गएपछि घ्यू कम पाउँदा समस्या भएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला जस्तो याक, चौँरी पालन हुँदैन । भएका पनि बेचेर विदेश तथा अन्य ठाउँतर्फ जान्छन् । बूढापाकाले मात्रै याक, चौँरी पाल्न समस्या हुन्छ ।”

चौँरीको आर्थिक पक्ष

नेपालमा हाल करिब ८० हजार चौँरी रहेको अनुमान छ । जसमा लगभग ६० प्रतिशत चौँरी खर्क क्षेत्रमा पालिन्छन् । एक खर्कमा सामान्यतः १५ देखि ५० चौँरीसम्म पालिएको पाइन्छ । विगतमा सयौं याक, चौँरीपालन हुने गरेका याक, चौँरीपालक किसान याञ्छु खण्टा लामा भन्नुहुन्छ, “पहिला एउटै गोठ (खर्क)मा एक सय बढी पालन गरिएको हुन्थ्यो । अहिले घट्दै गएको छ ।”

खर्कमा नै दूध, घ्यु, छुर्पी, पनिर उत्पादन गरिन्छ । यी क्षेत्रमा प्रति चौँरी वार्षिक औसत तीन सय लिटर दूध उत्पादन गर्ने गरेको किसान याञ्छुको भनाइ छ । करिब चार हजार मेट्रिक टन घ्यू वार्षिक उत्पादन हुने गरेको तथ्याङ्कमा उल्लेख छ । देशभरमा आठ हजार मेट्रिक टन छुर्पी उत्पादन हुने अनुमान छ । पनिर तीन हजार मेट्रिक टन चौँरीको दूधबाट उत्पादन हुँदै आएको तथ्याङ्क कृषि तथा पशुपंक्षी विभागले जनाएको छ । कृषि तथा पशुपंक्षी विभाग, गणनात्मक तथ्याङ्क विभाग वा स्थानीय पालिकाहरूको तथ्याङ्कमा आधारित रहेका छन् । एक मध्यम खालको खर्कले प्रतिवर्ष औसत रु.पाँचदेखि १० लाखसम्म आम्दानी गर्नसक्ने अनुमान गरिएको छ । छुर्पी, घ्यू, चौँरीको रौँ र मल बिक्रीबाट हुने आम्दानीले हिमाली गाउँहरूमा आर्थिकस्तर वृद्धि सम्भव बनाएको छ ।

विशेषगरी मनाङका पशुपालक किसान प्रत्यक्ष लाभान्वित हुने गरी बजारको व्यवस्थापन नहुँदा पलायन हुने अवस्था सिर्जना भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख पुष्पराज बाँस्तोलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिले पहिले घर खर्चले पुग्थ्यो । अहिले घर खर्चले मात्रै हुँदैन । अहिले प्रविधिको विकाससँगै मान्छेका आवश्यकता भन्दा बढी फाइदा लिन चाहन्छन् । जसले गर्दा पेसाबाट पलायन हुने क्रम बढ्दो छ । यसका साथै तात्कालीन फाइदाका कारण पनि पेसा परिवर्तन गर्ने जमात बढ्ने क्रममा छ ।” गणनाको तथ्याङ्कअनुसार वार्षिक रुपमा २०० का दरले याकचौँरी तथा भेडाच्याङ्ग्रा घट्दै गएको प्रमुख बाँस्तोलाले बताउनुभयो ।

वार्षिक रुपमा ९६ वटा याक, चौँरी मुस्ताङमार्फत् बिक्रीका लागि पठाउने गरिएको उहाँको भनाइ छ । त्यस्तै दुई सय भेडाच्याङ्ग्रा मुस्ताङ पठाउने गरिएको तथ्याङ्कमा उल्लेख छ । उहाँले भन्नुभयो, “याक, चौँरीपालनलाई घट्न नदिन तथा याक, चौँरीपालनतर्फ प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।” त्यसैमाथि जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष रुपमा याकचौँरी पालनमा परेको पाइएको उहाँले बताउनुभयो । “पानी नपर्ने जिल्लाका रुपमा परिचित स्थानमा नै जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष रुपमा परेको छ । समयमा परेको हिउँले घाँसे मैदान (खर्क) पलाउने र सहज थियो । अहिले फेरिएको छ”, बास्तोलाले भन्नुभयो, “जसले समयमा घाँस पलाउदैन र खर्कका घाँसेमैदान मासिने क्रममा छन् । यसले पनि याक, चौँरी पालनबाट पलायन हुने सङ्ख्या बढ्दो क्रममा छ ।” सिँचाइको अभावले अधिकांश खर्क सङ्कटमा पर्दै गएको उहाँको बुझाइ छ । खर्कका नजिकै तालतलैयालगायत पानीका स्रोत हराउने क्रममा छन् ।

खर्कको व्यवस्थापन र संरचना

मुख्यतः याकचौँरी पालन हुने क्षेत्रमा दुई किसिमका खर्क हुने गरेको पाइन्छ । स्थायी र मौसमी खर्क हुन्छन् । स्थायी खर्कमा वर्षैभर बस्न मिल्ने पक्की र कच्ची संरचना हुन्छ भने वर्षा र हिउँदमा खर्क जाने र जाडोमा तल्लो भेगमा फर्कने प्रचलन रहेका छन् । हालसम्म स्थायी खर्क कम रहेको तथ्याङ्क पाइएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मनाङका प्रमुख पुष्पराज बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश मौसमी खर्कमा नै आधारित रहेका छन् । स्थायी खर्कमा घाँस, कुँडोलगायतका आहारको व्यवस्थापनमा समस्या हुने भएकाले कम पाइने गरेको किसान सुरेश थकाली बताउनुहुन्छ ।

एकै गोठमा धेरै सङ्ख्यामा याक, चौँरी र भेडापालन गरिन्छन् । यसले उनीहरुको आहारमा कमी भएर रोगी निस्कन्छन् । यसले आयभन्दा नोक्सान व्यहोनुपर्ने अवस्था हुनसक्छ । उहाँ भन्नुहुन्छ, “अहिले भेटेरिनरी अस्पतालमार्फत औषधि तथा खोप दिने काम हुने गरेका छन् । तर, खर्क धेरै टाढा रहने भएकाले खर्कमा पुगेर सेवा प्रवाह गर्न सकस भएको पाइन्छ । बेसीमा झरेका बेला भने खोप तथा जाँचपडताल गर्ने गरिएको पाइन्छ ।”

सचेतता अपनाउँदै मौसमी खर्कलाई पशुपालक किसानले प्राथमिकता दिएको पाइन्छ । गर्मी बढ्दै जाँदा घाँस तथा पानीको अभावले मौसमी खर्क प्राथमिकतामा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो, “खर्कमा खुला आकाशमुनि याक, चौँरी पालिन्छ । गोठ बनाउन सकिने अवस्था हुँदैन । धेरै वस्तुभाउ हुँदा त्यसरी पालिन्छन् । घाँस काटेर पु¥याउन सकिने अवस्था हुँदैन । जसले एकदेखि अर्को स्थानमा सार्न पनि सहज हुन्छ ।” पालुवा घाँस खाँदा भेडाच्याङ्ग्रा मर्ने तथा बिरामी हुने गरेका उहाँको भनाइ छ ।

बाँस्तोला भन्नुहुन्छ, “पशु मृत्युदर घट्दै गएको छ । समयसमयमा परीक्षण गर्ने व्यवस्था रहेको छ । पखला लाग्ने रोग बढी देखिने हो । यी भनेका आहार नमिल्नु हो ।” आहारको अभावले मानिसमा देखिए जस्तै पशुमा पनि दुर्बलता देखिने गरेको उहाँ बताउनुहुन्छ । निःशुल्क खोपको व्यवस्थापन तथा गणना गरिदै आएको उहाँले जानकारी दिनुभयो । आहारको उपलब्धता दिन नसके पनि स्थानीय सरकारबाट निःशुल्क सेवा प्रवाह गरिरहेको बास्तोलाले बताउनुभयो ।

एक खर्कमा साधारणतयाः दुईदेखि पाँच जना गोठाला अर्थात खर्के रहने गर्दछन् । १० देखि ५० वटा चौँरी पाल्ने र गोठको हेरचाह गर्ने, दूध दुहुने, घ्यू पकाउने चुलो र सुत्ने ठाउँ छुट्टाछुट्टै हुने व्यवस्था हुन्छ । याक, चौँरीको सङ्ख्या विगतको वर्षमा भन्दा घट्ने क्रममा रहेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा नेपालमा ७१ हजार नौ सय १३ याक, चौँरी रहेको पशुसेवा विभागले जनाएको छ । करिब १० हजार याक, चौँरीपालनमा संलग्न रहेका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका वरिष्ठ पशु विकास अधिकृत शोभा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हाल ३१ जिल्लामा याक, चौँरीपालन हुन्छ ।

नेपालको उच्च हिमाली भूभागमा पशुपालनका चरन क्षेत्र चौँरी खर्क हुन् । ती नेपालको मौलिक परम्परा, संस्कार, आर्थिक संरचना र पर्यावरणीय सन्तुलनको आधारशिला मानिन्छन् । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा रहेका यी खर्क आज पनि हजारौं परिवारको जीविकोपार्जनको स्रोत बनिरहेका छन् । जलवायु परिवर्तन, जनशक्ति पलायन, आधुनिक प्रविधिको अभावजस्ता समस्याका कारण चौँरी खर्कको अस्तित्व सङ्कटमा परेको छ । चौँरी खर्कको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक अवस्था, आर्थिक योगदान, पर्यावरणीय महत्व, वर्तमान चुनौती र सम्भावनाका बारेमा विश्लेषण गर्न आवश्यक छ ।

‘चौँरी खर्क’ उच्च हिमाली क्षेत्रको खुला चरन भूमि हो । जहाँ विशेष किसिमको गाई प्रजाति ‘चौँरी’ (याक) पालिन्छ । चौँरी उच्च हिमाली क्षेत्रमा पालिने पशु हो । याक, चौँरीमा जाडो सहनुका साथै कम अक्सिजनमा बाँच्न सक्ने क्षमता हुन्छ । दुग्ध तथा रौँ उत्पादनका लागि उपयोग गरिन्छ । खर्कमा परम्परागत गोठ, सुत्ने ठाउँ, दूध दुहुने ठाउँ, घ्यू बनाउने चुलो र चरनभूमि रहेको हुन्छ ।

जलवायु परिवर्तन र पर्यावरणीय महत्व

चौँरी खर्क जैविक विविधताको रक्षकको रुपमा लिन सकिन्छ । याकचौँरी, भेडाच्याङ्ग्रा पालनले यहाँका प्राकृतिक क्षेत्रको संरक्षण गरेका छन् । खर्कमा याकचौँरी चरणले बोटबिरुवालाई आवश्यक मलजल प्रदान गर्न सकिन्छ भने मलको माध्यमबाट बोटबिरुवा संरक्षण र नयाँ बिरुवा उत्पादनमा सहयोग पुगेको हुन्छ । जसले पारिस्थितिकीय प्रणालीमा सन्तुलन कायम गर्छ ।

पशुपालक किसान साङ्दो लामा आफ्ना पशुपंक्षीसँगै प्राकृतिक चरन भूमि संरक्षण, जलस्रोतको संरक्षण, वन्यजन्तुको बासस्थान सुरक्षा जस्ता काममा महत्वपूर्ण भूमिका रहेको छ । उहाँ भन्नुहुन्छ, “यहाँ पशुपालन मात्रै नभई पर्यटन व्यवसाय र जडीबुटी उत्पादनको भूमि समेत भएकाले मानवीय जीवनलाई ऊर्जाशील बनाउन उपयोग हुने औषधीय जडीबुटीको संरक्षण पनि गरेका छन् ।” याक, चौँरी र भेडाच्याङ्ग्रापालनको क्रममा खर्कमा पाइने घाँस, जडीबुटी र झार जैविक उपचारका लागि समेत उपयोग भएको पाइन्छ । यसले गर्दा संरक्षणमा पनि टेवा पुगेको छ । चौँरी खर्क प्रणाली हाल विभिन्न समस्याको चपेटामा परेको छ ।

खर्क सारिरहने प्रचलनले मलमुत्रको उपयोग हुने र जडिबुटी तथा झारपात र घाँसजस्ता जैविक वस्तुको संरक्षणमा सहयोग पुगेको उहाँको भनाइ छ । वस्तुभाउ तथा मानवलाई नै यहाँका जडिबुटी पनि महत्वपूर्ण रहेका उहाँ बताउनुहुन्छ । उच्च हिमाली क्षेत्रमा हिमपात घट्दै गएको छ । कतिपय वर्षमा हिमपात नै हुन छोडेको छ । हिमपात नहुँदा चरन भूमि सुक्दै गएका छन् । पानीको स्रोत सुक्न थालेको छ । मौसमी प्रणालीमा परिवर्तन आएको यहाँका स्थानीयले आभास गर्न थालेका पाइन्छ । पहिले मनाङमा हिउँ समयमै पथ्र्यो । मङ्सिरको पहिलो साताबाट पर्न सुरु भएको हिउँ पुस, माघसम्म पर्ने गर्दथ्यो । अहिले पूर्ण रुपमा परिवर्तन भएको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङ बताउनुहुन्छ । “हिउँदमा परेको हिउँ चैत, बैशाखमा पग्लिएपछि चरन भूमि र यहाँका खेतीपाती खुल्थ्यो । तर, अहिले परिस्थिति परिवर्तन भएको पाइएको छ । असारदेखि असोजसम्म लेकका खर्कमा चौँरी चराउने समय हुन्थ्यो”, उहाँ भन्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पहिले समयमा हिउँ पथ्र्यो । पानी नै नपर्ने माथिल्लो मनाङमा पानी पर्छ । तर, अहिले पानी पर्छ । यही नै त हो नि जलवायु परिवर्तन ।” यसवर्ष नै असारमा अलिअलि हिउँ प¥यो तर पर्याप्त परेन । मनाङको तापक्रम नै बढ्दै गएको आभास हुने गरेको उहाँ बताउनुहुन्छ । अहिलेको मौसमी तालिका अस्तव्यस्त बनेको छ । उच्च हिमाली क्षेत्रमा तापक्रम १.५–२ डिग्रीसेल्सियसले बढेको अध्ययनले देखाएको हिमजलाधार विज्ञ रिजनभक्त कायस्थ बताउनुहुन्छ । “यसको प्रत्यक्ष प्रभाव खर्क र जलस्रोतमा परेको देखिन्छ”, उहाँ भन्नुहुन्छ, “तापक्रम वृद्धिकै कारण हिउँ पग्लिदै गएका छन् । पानीका स्रोत सुक्ने क्रम बढ्दो छ । जसले खर्कका साथै पशुपंक्षी तथा मानवलाई समेत प्रभाव परिरहेको उहाँको भनाइ छ ।

कायस्थ भन्नुहुन्छ, “सिँचाइको अभावले चरन भूमि सुक्खा बन्दै गएका छन् । पहिले हराभरा देखिने चौँरी खर्क अधिक स्थानमा चिरा परेका छन् भने धुलो उड्ने भएका छन् । कतिपय स्थानमा पानीको अभाव, पहिरोका कारण माटो कटानजस्ता कारणले चरनयोग्य भूमि घटेका छन् ।” चरण भूमिको अभावले यहाँका किसानले याकचौँरी पालन कम गर्दै गएको उहाँको भनाइ छ ।

चौँरीपालन घट्दै

आधुनिक रोजगारी र वैदेशिक रोजगारको आकर्षणका कारण युवा पुस्ता गाउँ छोडेर वैदेशिक रोजगारी (जस्तैः खाडी, कोरिया, जापान) वा शहरतिर लाग्दै छन् । जसले युवा पुस्ताको यसतर्फ आकर्षण घट्दै गएको पाइन्छ । चौँरी वा भेडा चराउन दिनरात पहाड चढ्नुपर्ने, अप्ठ्यारो जीवनशैलीको सट्टा, वैकल्पिक आयको खोजीले परम्परागत पशुपालन अभ्यास त्यागिन थालेको छ । जलवायु परिवर्तनका कारण चरन क्षेत्रको उत्पादनशीलता घटेको हिमजलाधार विज्ञ रिजनभक्त कायस्थ बताउनुहुन्छ । जस्तै ः घाँसको उत्पादन कम हुनु, अनियमित मौसम परिवर्तनलगायतले हिमाली क्षेत्रको जीवनशैली फेरिने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ ।

सरकारी नीति र समर्थनको अभावले आधुनिक कृषि तथा पशुपालनमा सरकारले सहुलियत, अनुदान वा प्रवद्र्धन गरे पनि याक÷चौँरी र भेडा÷च्याङ्ग्रा जस्ता परम्परागत प्रणालीलाई प्रोत्साहन गर्ने नीति कमजोर हुँदा विकर्षण बढेको छ । पूर्वाधार (जस्तै पशु औषधि सेवा, चरन व्यवस्थापन, बजार पहुँच) को अभाव रहेको नेपाल याक, चौँरी कृषक महासङ्घका केन्द्रीय अध्यक्ष पविहाङ राई बताउनुहुन्छ । अहिले बेसीमा याक, चौँरी, भेडाच्याङ्ग्रा झरेका समयमा औषधि सेवा, खोप दिइने व्यवस्था छ । तर, खर्कमै पुगेर भने सेवा प्रवाह गर्न सकेको छैन ।

याक, चौँरीको संरक्षण तथा परम्परागत संस्कृतिसँग जोडिएकाले यसको संरक्षण अति आवश्यक रहेको उहाँ बताउनुहुन्छ । “बजार अभाव र मूल्य अस्थिरताले चौँरीको दूध, घ्यु, रेसा, मासुको राम्रो बजार छैन । किसानले मध्यस्थ व्यापारीले मनपरी मूल्य निर्धारण गर्ने प्रवृत्तिले कृषक निरुत्साहित भएका छन् । सस्तो आयातित घ्यू÷दूध वा मासुको उपलब्धताले नेपाली चौँरी÷भेडा उत्पादन प्रतिस्पर्धी हुन सकेको छैन”, अध्यक्ष राई भन्नुहुन्छ । याक, चौँरी र भेडाच्याङ्ग्रापालनमा अहिले जनशक्ति अभाव र कठिन जीवनशैली बनेको छ । चौँरी वा भेडा पाल्न दैनिक मेहनत, जोखिम र लामो समयसम्म पहाडमा बस्नुपर्ने हुन्छ । आधुनिक जीवनशैलीको प्रभावले परम्परागत सीप र अभ्यासमा युवाको चासो घटेको पाइएको अध्यक्ष राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यता जलवायु परिवर्तनले तापक्रम बढ्दो अवस्थामा छ भने अर्कोतिर नयाँ पेसातर्र्फको आकर्षणले नै बढी याक, चौँरी पालन घटेको हो ।”

किसान याञ्छु खाण्टा लामा भन्नुहुन्छ, “पहिला कम मूल्यमा बिक्री गरे पनि अहिले बढेको छ । तर आधुनिकीकरणले याकचौँरी गोठसम्म विद्युत, इन्टरनेट उपलब्ध हुँदैन । युवाहरु आधुनिक दुनियाँमा रमाउँदै काम गर्न रुचाउँछन् । अहिलेको युगमा पनि आधुनिकताबाट टाढा रहन नचाहेका हुन् जस्तो लाग्छ ।” कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत शर्मा भन्नुहुन्छ, “च्याङ्ग्रा चाडपर्वमा बिक्रीका लागि अन्यत्र जिल्लासम्म पु¥याउने गरिए पनि अन्य समयमा बिक्री वितरणको काम हुन नसक्दा युवामा चासोको विषय बन्न सकेको पाइँदैन ।”

चौँरी खर्कहरू समुद्री सतहबाट करिब तीन हजार मिटरदेखि पाँच हजार पाँच सय मिटर उचाइसम्म पाइन्छन् । मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, गोर्खा, धादिङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक, रामेछाप, मुगु, डोल्पा, जुम्ला, हुम्ला, रुकुम पूर्व, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायतका ३१ जिल्लामा व्यावसायिक चौँरीपालक किसान रहेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत शोभा शर्माका अनुसार नेपालभर हाल करिब ३५ हजार खर्क रहेका छन् । तीमध्ये झन्डै १० हजार खर्क सक्रिय रूपले चौँरीपालनमा प्रयोग भइरहेका छन् ।

सन् १९९९ मा पहिलो पटक अनुसन्धान गरिएको अभिलेख पाइन्छ । सन् २०१७ सम्म याक, नाक चौँरी पालन वृद्धि भएको छ भने बिस्तारै घट्दै गएको तथ्याङ्कमा उल्लेख छ । नेपालको प्रदेश १ मा १३ हजार सात, प्रदेश ३ मा एघार हजार ३५४, प्रदेश ४ मा १० हजार ६६४, प्रदेश ५ मा ११, प्रदेश ६ मा १३ हजार ८३ र प्रदेश ७ मा ७४६ गरी कूल ४८ हजार ८६५ याक, नाक (चौँरी) रहेका मलेसियन एनिमल हस्बन्डरी जोर्नल (एमएएचजे)ले गरेको अनुसन्धानमा जनाइएको छ ।

मनाङमा मात्र करिब एक हजार १५० खर्क सक्रिय छन् । यस्तै मुस्ताङमा ८५०, डोल्पामा एक हजार ३०० र सोलुखुम्बुमा करिब ७५० खर्क सक्रिय छन् । डोल्पा, मुस्ताङ, मनाङ लगायतका ठाउँमा व्यापक चरन क्षेत्र र चौँरी पालन परम्परागत जीवनशैलीसँग गासिएको हुँदा खर्कको सङ्ख्या बढी छन् । दोलखा, ताप्लेजुङलगायतका जिल्लामा खेतीयोग्य जमिन बढी भएकाले चौँरी पाल्ने खर्कको घनत्व कम रहेको छ । वैदेशिक रोजगारी, शहरीकरण, जलवायु परिवर्तन र नयाँ पुस्ताको विकर्षणले याकचौँरी पालन घट्दै गएको छ ।

नेपालमा याक–चौँरी र भेडाच्याङ्ग्रा पालन परम्परागत रुपमा उच्च हिमाली कृषि प्रणालीको अभिन्न अंग हो । तर पछिल्लो केही दशकयता यी पशुपालन अभ्यास उल्लेखनीय रूपमा घट्दै गएका नार गाउँका (याकचौँरी) पशुपालक किसान मिङ्मार छिरिङ लामा बताउनुहुन्छ । यसको पछाडि धेरै सामाजिक, आर्थिक, वातावरणीय र नीतिगत कारण छन् । उहाँ भन्नुहुन्छ, “शैक्षिक र सामाजिक परिवर्तनले शिक्षा र प्रविधिको विस्तारसँगै गाउँका युवा वैकल्पिक पेशा रोज्न थालेका छन् ।” चौँरी, याक, भेडा र च्याङ्ग्रा पालन घट्नु नेपालका हिमाली संस्कृतिको संकटापन्न अवस्थामा पुग्नसक्ने खतरा भएको लामाको भनाइ छ । यदि यो अभ्यास जोगाउनुपर्छ भनेर नीतिगत स्तरमा समर्थन, प्राविधिक सहयोग, बजार सुनिश्चितता, युवालाई आकर्षित गर्ने कार्यक्रम अत्यावश्यक भएको औल्याउनुभयो ।

नश्ल सुधार कार्यक्रम

विसं २०७९ मा लोपोन्मुख याक, चौँरीको नश्ल सुधारका लागि मनाङका किसानलाई ब्याड याक वितरण गरेको थियो । गण्डकी प्रदेशले लोपोन्मुख याकचौँरी याक आनुवंशिक स्रोत केन्द्र स्याङबोचे सोलुखुम्बुबाट याक वितरण गरिएको हो । वंशाणुगत रुपमा हाडनाताबाट उत्पादित याकचौँरीमा हुने समस्याको समाधान गर्नका लागि प्रदेश सरकारले ब्याड प्रयोजन गर्ने उद्देश्यले याक वितरण गरिएको थियो । शुद्ध नश्लका याक प्रदेश सरकारले खरिद गरी किसानलाई वितरण गरिएको जनाइएको थियो । याक, चौँरीपालक व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थकालीले भन्नुभयो, “हाडनाताबाट जन्मने याकचौँरीमा धेरै समस्या उत्पन्न हुनसक्ने र याकचौँरीको नश्ल सुधारमा मद्दत पु¥याउने लक्ष्यका साथ केन्द्रबाट शुद्ध याक ल्याएर वितरण गरिएको थियो । हाडनाताबाट याकचौँरीको नश्ल खस्किदै जाने पशु विज्ञका सुझावअनुसार नश्ल कायम राख्न ब्याड याक वितरण गरिएको हो ।”

जिल्लाका किसानलाई वितरण गर्नका लागि नौ वटा याक ल्याइएको थियो । सामूहिक याक, चौँरीपालक किसानलाई प्राथमिकता दिएर याक वितरण गरिएको थियो । ब्याड याक घुम्ती रुपमा प्रयोग गर्ने गरी वितरण गरिएको थियो । त्यति प्रभावकारी हुन सकेन । प्रदेशले स्याङबोचे केन्द्रबाट १९ वटा ल्याएकामध्ये मनाङमा नौ र मुस्ताङ १० वटा याक किसानलाई वितरण गरेको हो । यसको उपयोगपछि यहाँ नाकबाट जन्मने बाच्छाबाच्छीमार्फत् मापन याक नाकको उत्पादन र उत्पादकत्व वृद्धिबाट हुने प्रदेशले लक्ष्य लिएकामा प्रभावकारी हुन भने सकेन ।

यसका साथै घाँसको अभावमा याक, चौँरी तथा भेडाच्याङ्ग्रा दुब्लाउन थालेपछि घाँसको व्यवस्थापनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले आधुनिक प्रजातिको घाँस समेत वितरण गरेको थियो । घाँस पनि यहाँको मौसम तथा हावापानीमा मौलाउन नसकेपछि खर्क वा यहाँका प्राकृतिक घाँसमै निर्भर हुन बाध्य भएको किसान बताउँछन् ।

  • नवीन लामिछाने/रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus

अन्य न्यूजहरु

news

Book of Dead Slot: Egyptian Adventure for Quick Wins

news

Slothunter das fesselnde Spiel für unvergessliche Abenteuer

news

Jokeri Nettikasino Seikkailut ja Voittojen Tietoisuus

news

Unlocking Fun at Joker Room Casino with No Deposit Bonus