भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार तिहारका लागि मुस्ताङ र डोल्पाबाट झण्डै एक हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ ।
मुस्ताङ / मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार तिहारका लागि मुस्ताङ र डोल्पाबाट झण्डै एक हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ ।
यसअघि दसैंमा मुस्ताङसहित डोल्पा, मुगु, जुम्लालगायत स्थानबाट १६ हजार भेडाच्याङ्ग्रा बेनी–जोमसोम सडकमार्ग हुँदै बिक्रीका लागि अन्यत्र लगिएको पशु चिकित्सक लालमणि अर्यालले जानकारी दिनुभयो । दसैँ तथा तिहारमा भेडाच्याङ्ग्राको माग अत्यधिक हुने गरेको उहाँले बताउनुभयो ।
घरपझोङ–४ जोमसोमका व्यापारी पेम्बाछिरिङ रोकायाले ८० च्याङ्ग्रा तिहारका लागि बजारमा पुर्याउनुभएको छ । उहाँले दसैँमा ३०० च्याङ्ग्रा बिक्रीका लागि पोखरा पुर्याउनुभएको थियो । मुस्ताङबाट खेदाएर बेँसी झार्दै गरेका व्यापारी रोकायले म्याग्दीको तातोपानीबाट ट्रकमा ढुवानी गरी पोखरा पुर्याउनुभएको हो । दसैँमा प्रतिच्याङ्ग्रामा रु पाँच हजारसम्म घाटा भएको उहाँले बताउनुभयो ।
तिहारका लागि खरिद गरिएको च्याङ्ग्रा खोरमा नै रु ३० हजार परेको र थोरै च्याङ्ग्रा भएकाले सहजै बिक्री हुन्छ भन्ने लागेको व्यापारी रोकायाले बताउनुभयो । मुस्ताङबाट पोखरा पुर्याउदा प्रतिच्याङ्ग्राको ढुवानी खर्च रु एक हजार ५०० लाग्ने उहाँको भनाइ छ । विगत १२ वर्षदेखि निरन्तर च्याङ्ग्राको व्यापार गर्दै आउनुभएका रोकायाले च्याङ्ग्राको व्यापारमा जोखिम हुने गरेको बताउनुभयो ।
मुस्ताङका पाँच स्थानीय तहमा ५७ हजार बढी भेडाच्याङ्ग्रा पालन गरिएको छ । जसमध्ये २५ प्रतिशत मात्रै भेडाच्याङ्ग्रा बिक्री भएको छ । हिमाली जिल्लामा पालन गरिएका भेडाच्याङ्ग्राको मासु स्वादिलो र पोषिलो हुने भएकाले उपभोक्ताले बढी रुचाउने गर्छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित