नागरिक समूहको अध्यक्षमा दाहाल

नवनिर्वाचित अध्यक्ष विष्णुहरि दाहालले आफ्नो अध्यक्षीय कार्यकाल मुलुकको आर्थिक रुपान्तरण, सुशासन र राष्ट्रिय समृद्धिको अभियानमा केन्द्रित रहने बताउँदै नेपालभित्र र बाहिर रहेका सबै देशभक्त नागरिकलाई यो अभियानसँग जोडिन आह्वान गरे ।

काठमाडौँ / सुशासन र भ्रष्टाचारविरोधी अभियानका लागि ख्याति कमाएको नागरिक समूह नेपालले आज आफ्नो साधारण सभा सम्पन्न गरेको छ। काठमाडौँको धुम्बाराहीस्थित होटल स्मार्टमा सम्पन्न उक्त सभाले नयाँ नेतृत्व चयन गर्दै विष्णुहरि दाहाललाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ ।

विगत एक दशकदेखि सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्वका पक्षमा आवाज उठाउँदै आएको नागरिक समूहले नयाँ नेतृत्वको आगमनसँगै आगामी दिनमा अभियानलाई अझ व्यवस्थित, प्रभावकारी र समावेशी रूपमा अघि बढाउने घोषणा गरेको छ।

नवनिर्वाचित अध्यक्ष विष्णुहरि दाहालले आफ्नो अध्यक्षीय कार्यकाल मुलुकको आर्थिक रुपान्तरण, सुशासन र राष्ट्रिय समृद्धिको अभियानमा केन्द्रित रहने बताउँदै नेपालभित्र र बाहिर रहेका सबै देशभक्त नागरिकलाई यो अभियानसँग जोडिन आह्वान गरे । उनले देशभक्त शक्ति, युवापुस्ता, कलाकार, प्राविधिक, मजदुर, किसान, विद्यार्थी र पत्रकारलाई समेत मिलेर नयाँ युगको निर्माणमा हातेमालो गर्न आग्रह गरे ।

सभामा भदौ २३ र २४ गतेको जेन–जेड आन्दोलन का क्रममा शहीद भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । वक्ताहरूले उक्त आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा ऐतिहासिक परिवर्तन ल्याएको भन्दै यसको उपलब्धिहरूको रक्षा गर्नु आजको मुख्य आवश्यकता रहेको बताए ।

समूहका प्रतिनिधिहरूले नेपाल अहिले संकटग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै, पछिल्ला आन्दोलनले दिएको सन्देशलाई व्यवहारमा रूपान्तरण गर्न सबै सचेत नागरिकले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले राजनीतिक स्थायित्व कायम गर्दै देशलाई समृद्ध र सशक्त बनाउने लक्ष्यका साथ नागरिक समूहले नयाँ अभियान सुरु गरेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments