सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण ३८ लाख मानिसले ज्यान गुमाएको एक अध्ययन द ल्यान्सेट प्लानेटरी हेल्थ पत्रिकाले सार्वजनिक गरेको थियो ।
भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको भयावह स्तरले असङ्ख्य नागरिकको जीवनशैली नै परिवर्तन गरिरहेको छ ।
यस्तै परिस्थितिबीच नताशा उप्पल र उहाँका श्रीमान् पनि अभिभावक बन्ने निर्णयमा सन्तानलाई यस्तो विषाक्त वातावरणमा हुर्काउने कि प्रदूषणमुक्त ठाउँमा नयाँ जीवन सुरु गर्ने भन्ने विषयमा ठूलो दुविधामा पर्नुभयो ।
तीन करोडभन्दा बढी जनसङ्ख्या बसोबास गर्ने दिल्ली विश्वका सबैभन्दा प्रदूषित सहरहरू मध्ये निरन्तर शीर्षमा रहँदै आएको छ । सहरमै हुर्किएकी ३६ वर्षीया उप्पलले विशेष गरी जब घरभित्रै एयर प्युरिफायरको आवाजमा दिन बित्थ्यो र उहाँ माइग्रेनको पीडाले थला पर्नुभएपछि लामो समयदेखि दिल्ली छोड्ने सोच राख्दै आउनुभएको छ ।
दम्पतीले सन्तान प्राप्तिको प्रयास गर्ने निर्णय गरेपछि निर्णायक क्षण आयो । उप्पलले भन्नुभयो, “हामीले सोच्यौँ, हाम्रो बच्चाका लागि कस्तो वातावरण चाहिन्छ ? तर दिल्लीको हावा त त्यसका लागि पूर्ण रूपमा अवरोध बन्यो ।”
सन् २०२२ मा दम्पती बेङ्गलुरुमा बसाइँ स¥यो र त्यहीँ केही दिनमै उप्पलले गर्भवती भएको खबर पाउनुभयो । उहाँहरू अहिले वायु प्रदूषणका कारण दिल्ली छोड्ने परिवारहरूको सानो तर बढ्दो समूहमा पर्नुभएको छ । मातृ स्वास्थ्य सहायता संस्था ‘म्याट्रेसेन्स इन्डिया’ की संस्थापक उप्पलले आफ्नो निर्णयलाई ‘जीवनको उत्तम विकल्प’ बताउँदै भन्नुभयो, “स्वच्छ हावा त मानवको आधारभूत अधिकार हो, जसको पहुँच सबैलाई सहज रूपमा हुनुपर्छ ।”
बेङ्गलुरुमा प्रदूषण कहिलेकाहीँ विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डभन्दा तीन गुणा पुग्ने गरे पनि त्यो दिल्लीको महीनौँसम्म चल्ने घना धुवाँभन्दा निकै कम छ । उप्पलले भन्नुभयो, “मेरो छोरो अहिले चाहेजति घरभित्र र बाहिर खेल्न सक्छ, यो दिल्लीमा असम्भव जस्तै थियो ।”
प्रत्येक जाडोमा दिल्ली धुवाँ, बाली जलाउने, कारखानाको उत्सर्जन र ट्राफिक जामको विषाक्त मिश्रणले ढाकिन्छ । क्यान्सरसम्म निम्त्याउन सक्ने वायुमा रहेका सूक्ष्म कणहरू (एः २.५) डब्लुएचओको सुरक्षित सीमाभन्दा ६० गुणा बढी मापन गरिएको छ ।
सरकारले विभिन्न सुधारका वाचा गरे पनि आंशिक सवारी प्रतिबन्ध र कुहिरो छर्कने पानी ट्रकहरू जस्ता उपायहरूले खासै प्रभाव देखाएका छैनन् । यस वर्ष अधिकारीहरूले क्लाउड–सिडिङ (कृत्रिम वर्षा) प्रयोगमार्फत प्रदूषण घटाउने योजना अघि सारेका छन् ।
सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण ३८ लाख मानिसले ज्यान गुमाएको एक अध्ययन द ल्यान्सेट प्लानेटरी हेल्थ पत्रिकाले सार्वजनिक गरेको थियो । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) का अनुसार प्रदूषित हावाले बालबालिकालाई तीव्र श्वासप्रश्वास सङ्क्रमणको उच्च जोखिममा पु¥याउँछ ।
३६ वर्षीया विदुषी मल्होत्राले पनि सन् २०२० मा आफ्नो दुई वर्षे छोरा बारम्बार बिरामी परेपछि दिल्ली त्याग्ने निर्णय लिनुभयो । उहाँ भन्नुहुन्छ, “हामीसँग तीनवटा एयर प्युरिफायर लगातार चलिरहेका थिए, तर त्यसले पनि पुगेन ।” त्यसको एक वर्षपछि उहाँले श्रीमान् र छोरा सहित गोवा बसाइँ सरेर ‘नयाँ जीवन’ सुरु गर्नुभयो । “मैले साथीहरूलाई पनि सहर छोड्न प्रेरित गरेकी छु — सानो आन्दोलनजस्तै भयो”, उहाँले भन्नुभयो, “तर हरेकपटक जब म दिल्ली फर्किन्छु, प्रियजनहरूलाई त्यही विषाक्त हावामा बसिरहेको देख्दा मन साँच्चै दुख्छ ।”
तर सबैले सहर छोड्न सकेका छैनन् । ३४ वर्षीया रोली श्रीवास्तव अहिले पनि दिल्लीमै बस्नुहुन्छ, तर निरन्तर चिन्तामा । छोरा सधैँ खोकीले ग्रस्त हुने भएकाले उहाँले हरेक जाडोमा इनहेलर र नेबुलाइजर तयार राख्नुहुन्छ “डाक्टरले हामीलाई चेतावनी दिएका छन् — जब बच्चालाई राति खोकी लाग्छ, मलाई फोन नगर्नुहोस्, सिधै नेबुलाइज गर्न सुरु गर्नुहोस्”, उहाँ भन्नुहुन्छ ।
जाडो नजिकिँदै जाँदा श्रीवास्तवले घरभित्र एयर प्युरिफायर चलाउने, बाहिरी खेल सीमित गर्ने र दैनिक हावाको गुणस्तर मापन गर्ने तयारी गरिरहनुभएको छ । जब उहाँहरूको परिवार दक्षिणी सहर चेन्नई पुग्छ, छोरा तुरुन्तै निको हुने गर्छ । “त्यहाँ पुगेपछि नाक बग्न बन्द हुन्छ, खोकी हराउँछ”, उहाँले मुस्कुराउँदै भन्नुभयो ।
श्रीवास्तव र उहाँका श्रीमान् भन्नुहुन्छ, “यदि काम र अवसरका कारण नहुँदो हो त हामीले धेरै अघि नै दिल्ली छोडिसकेका हुन्थ्यौँ ।” उहाँहरू दुवै अन्तर्राष्ट्रिय संस्थामा कार्यरत हुनुहुन्छ ।
तर स्थानान्तरणको विचार भने कहिल्यै टाढा हुँदैन । उहाँ भन्नुहुन्छ, “मलाई लाग्दैन यो गति र हावाको अवस्थामा दिल्ली अब बच्चा हुर्काउने सहर रह्यो — कम्तीमा वायु प्रदूषणको हिसाबले त होइन ।”
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित