रातका समयमा हाम्रो बस्तीलाई सुरक्षा चाहियो : राउटे समुदायका युवा

सुर्खेत/राउटे समुदायमा त्रास सृजना गर्ने एक युवालाई राउटे समुदायका युवाहरूले यही असोज २४ राति नियन्त्रणमा राखे । सुर्खेतको लेकबेँसी नगरपालिकाका ती युवकले मदिरा सेवन गरी रातिका समयमा राउटेबस्तीमा छिरेका थिए । शनिबार बिहान ती समुदायका युवाहरूले नजिकैको प्रहरीलाई खबर गरी ती युवालाई प्रहरीको जिम्मा लगाएका थिए । त्रास सिर्जना गर्ने युवाकलाई आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाले जानकारी दिनुभयो ।

पछिल्लो समय बाह्य व्यक्तिहरूको अनाधिकृत प्रवेशले राउटे समुदायले असुरक्षित महसुस गर्न थालेका जनाइएको छ । आफ्नै जीवन्त रीतिरिवाज र वेशभूषामा जङ्गलमा बस्दै आएका उनीहरुका बस्तीमा जथाभावी बाह्य व्यक्तिहरूको प्रवेशले असुरक्षित बन्न थालेका हुन् । विभिन्न बहानामा राउटे बस्तीमा जाने र त्यहाँ विभिन्न अवाञ्छित क्रियाकलाप गर्ने प्रवृत्ति बढेको उनीहरुको भनाइ छ ।

कर्णालीका विभिन्न ठाउँमा फिरन्ते रूपमा जीवन बिताउँदै आएका राउटे समुदाय माथि केही वर्ष अगाडि पनि अवाञ्छित काम गर्ने केही व्यक्तिलाई प्रहरीले कारबाही गरेको थियो । राउटे समुदायका युवा दीपक शाही भन्नुहुन्छ, “बाहिरबाट बिनाकाममा बस्तीभित्र आउने गर्दा आफूहरूलाई असहजता बनाएको छ । रातिमा बस्तीभित्र बाहिरका मानिस आउन थालेपछि झनै असुरक्षित हुन थालेको छ, हामीलाई सुरक्षा चाहियो । हिजोमात्र हाम्रो बस्तीमा रक्सी खाएर एक जना मान्छे आएर हल्ला गर्यो । अरु बेलामा पनि जथाभावी मानिसहरू आउँदा हामी त्रासमा छौँ ।” उहाँले दिउँसोको समयमा राउटे बस्तीमा आए पनि रातको समयमा मादक पदार्थ सेवन गरेर नआउन आग्रह गर्नुभयो ।

यस्तै, राउटे समुदायको रेखदेखका लागि काम गर्दै आउनुभएका सोसेकका दुर्गा खत्रीले पनि पछिल्लो समय राउटे समुदायमा सुरक्षा चुनौती थपिएको जनाउँदै बस्तीको लागि प्रहरी खटाउन आवश्यक रहेका औँल्याउनुभयो । राउटे बस्तीमा प्रहरी चाहिएको अवस्था छ । उहाँले भन्नुभयो, “यहाँ बाहिरको मानिसहरू धेरै आउने, भिडियो बनाउनेसँगै रातिको समयमा गलत मानिसहरूको प्रवेश बढ्दै जाँदा राउटेको सुरक्षा जोखिम बढ्दो छ ।”

उहाँले राउटेहरूलाई भत्ताको सट्टा राशन दिनुपर्ने जनाउँदै भत्ताका रूपमा रकम दिँदा उनीहरू मदिराको लतमा फस्दै गएकाले उनीहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको बताउनुभयो । यसले पनि राउटेहरूको सुरक्षामा चुनौती थपिएको बताउनुभयो ।

राउटे समुदायमा भाइरल ज्वरोको सङ्क्रमण

केही दिनदेखि राउटे समुदायमा भाइरल ज्वरोको सङ्क्रमण बढ्दै गएको पाइएको छ । सुरुमा दुई जनामात्रै बिरामी परेकामा पछिल्लो एक हप्ता २५ जना बिरामी परेका छन् । उनीहरूले डेङ्गुलगायतका अन्य चेकजाँच गर्न नदिने गरेको भन्दै प्राथमिक उपचारमात्र गर्ने गरिएको राउटे समुदायको उपचारका लागि खटिनुभएका स्वास्थ्यकर्मी अनुजा पन्त बताउनुहुन्छ ।

“अहिले राउटे बस्तीमा ज्वरोको सङ्क्रमण बढ्दो छ, पछिल्लो एक हप्तादेखि २५ जनाभन्दा बढी बिरामी पर्नुभएको छ, उहाँहरूले डेङ्गु चेकजाँच गर्न दिनुहुन्न । हामीले प्राथमिक उपचारमात्र गरेका छौँ । अन्य समस्या चेकजाँच गर्नका लागि उहाँहरू ‘कन्भिन्स’ हुनुहुन्न ।”

सङ्ख्या लगातार घट्दै

राउटे समुदायको सङ्ख्या लगातार घटिरहेको छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययन २०८१ को प्रतिवेदनले पनि राउटे समुदायको सङ्ख्या लगातार घट्दो क्रममा रहेको देखाउँछ ।

प्रतिवेदनमा २०७५ सालमा एक सय ४९ रहेको राउटेको जनसङ्ख्या १५ माघ २०८१ सम्म आइपुग्दा घटेर एक सय ३५ मा झरेको छ । विसं २०७५ मा एक सय ४९ रहेको राउटेको सङ्ख्या एक जनाले घटेर २०७६ मा एक सय ४८ भयो । २०७७ मा फेरि तीन जनाको मृत्युपछि एक सय ४५ मा झरेको यो समुदायको सङ्ख्या २०७८ मा आउँदा एक सय ४४ मा झर्यो । अहिले यो समुदायको सङ्ख्या एक सय ३५ मा सीमित हुनपुगेको छ । यो समुदायको सङ्ख्या घट्नुका विभिन्न कारण रहेको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार यो समुदायको जनसङ्ख्या घट्नुको पछाडि सामाजिक मूल्य, मान्यता प्रमुख कारण छ ।

राउटे समुदायको उत्थानका लागि काम गर्दै आएको गैरसरकारी संस्था सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापा भन्नुहुन्छ, “राउटे समुदायमा कल्याल, रास्कोटी र सोवंशी गरी तीनवटा समुदाय छ, एउटै समुदायका केटा र केटीको विवाह नहुने सामाजिक परम्परा भएका कारण धेरै युवायुवतीहरू विवाह नगरेर बसेको अवस्था छ । अर्को परम्परा भनेको श्रीमान्को मृत्युपछि जतिसुकै उमेर समूहका महिला भए पनि एकल भएर बस्नुपर्ने बाध्यता छ ।” उहाँले थप्नुभयो, “अहिले एकल महिला २३ जना छन्, तीमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका छन् । उनीहरूले अर्को विवाह गर्न पाउँदैनन्, प्रजनन उमेरका महिलाहरू बच्चा जन्माउनै नपाएपछि कसरी सङ्ख्या बढ्छ ।”

प्रमुख थापाले राउटे समुदायमा युवाहरूको सङ्ख्याभन्दा ज्येष्ठ नागरिक र बालबालिकाको सङ्ख्या धेरै रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, राउटे समुदायको जनसङ्ख्या घट्नुको अर्को कारण अत्यधिक मदिराको सेवन हो, मदिराको सेवनले गर्दा उनीहरू भिरबाट लडेर मृत्यु हुने समस्या बढ्दै गएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले दिएको प्रतिवेदनलाई आधार बनाएर तीनै तहका सरकारहरूले राउटे संरक्षणसम्बन्धी योजना बनाउनुपर्ने उहाँको सुझाव छ । आयोगले सिधैँ रकमको साटो आवास, खाद्यान्न, पोषण, लत्ताकपडा र शिक्षा उपलब्ध गराउने विधि प्रयोग गरी कार्यान्वयन गर्न जरुरी रहेको बताएको छभने बाहिरी आधुनिक दुनियाँले उनीहरूको सभ्यतामा हस्तक्षेप गरेको भन्दै नियन्त्रण गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको अध्ययनमा समेत राज्यको यथोचित ध्यान पुग्न नसक्नु, कमजोर जनस्वास्थ्य, कुपोषण, उपचारमा पहुँच नहुनु÷नराख्नु, प्रजनन स्वास्थ्य अभाव, गुणस्तरहीन परम्परागत आवासमा बसोबास, मौसमअनुकूल लत्ताकपडा अभाव, स्वच्छ खानेपानी तथा सरसफाइको अभावजस्ता कारणले राउटेको जनसङ्ख्या ऋणात्मक बन्दै जान थालेको उल्लेख छ ।

आयोगका कर्णाली प्रदेश संयोजक मानबहादुर कार्की भन्नुहुन्छ, “राउटे समुदाय जीवन चलाउने भनेर सरकारले भत्ता दिने गर्यो, उनीहरूको जीविका चलाउन सहज होस् भनेर सरकारले भत्ता त दियो । तर त्यो भत्ताको प्रयोग उनीहरूले आफ्नो खानपानभन्दा पनि मदिरा सेवनमा प्रयोग गर्ने गरेको पाइयो । यसले गर्दा उनीहरूको मृत्यु धेरै भएको देखिन्छ । यहीमात्र कारण त नहोला तथापि अन्य कारणले पनि उनीहरूको सङ्ख्या घटिरहेको छ ।” उनीहरूको स्वास्थ्य अवस्था पनि बिग्रँदै गएको भन्दै तीनै तहका सरकारले मुख्यगरी उनीहरूको संरक्षणका लागि नयाँ योजना बनाउनुपर्ने सुझाव कार्कीको छ ।

“उनीहरू स्वास्थ्य समस्या भइहाले उपचार गर्न नमान्ने, कडा खालको मदिराको सेवन गर्ने, पोषिलो खानाको कमी तथा विभिन्न कारणले मृत्युवरण गर्नुपर्ने यो समुदायको समस्या छ । त्यसका साथै सामाजिक परम्परा पनि छन् जनसङ्ख्या घट्नुको कारण छन् । त्यसैले सरकारले नयाँ योजना बनाएर यो समुदायको संरक्षणमा लाग्न सुझाव दिन्छु”, कार्की भन्नुहुन्छ । पछिल्लो समय बढ्दो असुरक्षाले उनीहरूको मानवअधिकारसमेत हनन हुने सम्भावना बढेको उहाँको भनाइ छ ।

कर्णाली प्रदेश सरकारले भने उनीहरूका लागि राउटे करिडोर निर्माण गरी विभिन्न संरक्षणका योजना अगाडि सारेको छ ।-टेकराज केसी / रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments