भारतमा खोकी औषधि प्रकरण : २१ बालबालिकाको मृत्युमा औषधि कम्पनीका मालिक पक्राउ

चेन्नाई/भारतीय प्रहरीले २१ बालबालिकाको मृत्युमा संलग्न औषधि कम्पनीका मालिकलाई पक्राउ गरेको छ । अधिकारीहरूका अनुसार चेन्नाईस्थित आफ्नै घरमा पक्राउ परेका ७५ वर्षीय जी रङ्गनाथनलाई गैरकानूनी हत्या र लागुऔषध मिलावट गरेको आरोप लगाइएको छ ।

मध्य प्रदेश राज्यमा गत महिना कम उमेरका बालबालिकाहरूको घातक विषाक्त पदार्थले दूषित खोकी सिरप सेवनपछि मृत्यु भएको थियो । सो सिरप दक्षिणी भारतको तमिलनाडु राज्यस्थित स्रेसन फार्मा युनिटमा ‘कोल्ड्रिफ’ ब्रान्ड नामले उत्पादन गरिएको थियो ।

भारतीय स्वास्थ्य मन्त्रालयको परीक्षणले सिरपमा डाइथाइलिन ग्लाइकोल (डिइजी) भएको पुष्टि गरेको छ, जुन औद्योगिक सम्मिश्रण हो र थोरै मात्रामा सेवन गरे पनि घातक हुन सक्छ ।

यस प्रकरणपछि मध्य प्रदेश र अन्य राज्यहरूले उक्त सिरपमा प्रतिबन्ध लगाएका छन् । विश्व स्वास्थ्य सङ्गठनले पनि भारतीय अधिकारीहरूलाई सो सिरप अन्य देशमा निर्यात गरिएको छ कि छैन भनेर स्पष्टीकरण मागेको छ ।

यो घटना भारतमा मात्रै सीमित छैन । सन् २०२२ मा भारतबाट आयात गरिएको दूषित सिरप खाएपछि गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएको थियो ।

उज्बेकिस्तानमा पनि २०२२–२०२३ बीचमा भारतमा उत्पादित दूषित सिरप सेवन गर्दा ६८ बालबालिकाको मृत्यु भएको थियो ।

घटनाले भारतको औषधि उद्योगको प्रतिष्ठामा गम्भीर धक्का पुगेको छ र विश्वभरका स्वास्थ्य अधिकारीहरूलाई सतर्क बनाएको छ । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments