आश्विन शुक्ल पूर्णिमाः कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिँदै

सनत्कुमार संहितामा कोजाग्रत पूर्णिमाको रातमा महालक्ष्मीको पूजा गरी नागकन्याहरूसँग जुवा खेल्दा धनहीन बलित नामका ब्राह्मणले महालक्ष्मीका कृपाले ठूलो वैभव प्राप्त गरेको कथा वर्णन गरिएको छ।

काठमाडौँ/ बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दशैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको पनि आजै गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुने शास्त्रीय विधान छ । अखिल बलिपूर्ति गरेपछि आजै साँझ जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइन्छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकाल बताउनुहुन्छ ।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भएपनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । आज राति जुवा खेल्ने विधान समेत रहेको उहाँले बताउनुभयो । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ ।

कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि असोज २१ गते मङ्गलबारदेखि सुरु हुने जनाइएको छ । आकाशदीपदान पनि मङ्गलबार साँझदेखि नै सुरु गरिँदैे छ ।

कोजाग्रत पूर्णिमाको नाम र यसको महत्त्वबारे ब्रह्मपुराण, लिंगपुराण, सनत्कुमार संहिता आदि पौराणिक ग्रन्थमा पनि चर्चा पाइन्छ। लिंगपुराणको प्रसंगअनुसार आश्विन शुक्लपक्षको पूर्णिमा तिथिका रातमा लक्ष्मी को जागा छ, त्यसलाई धन–सम्पत्ति दिन्छु भनेर मत्र्यलोकमा आएकी हुन्छिन्। ‘को जागर्ति’ को जागा छ भनेर लक्ष्मीले हेर्ने भएकाले यसको नाम कोजाग्रत रहन गएको हो। त्यसैले त्यस रात जाग्राम बसेर लक्ष्मी, इन्द्र र ऐरावत हात्तीको पूजा गर्ने, अखण्ड दीप बाल्ने, जुवा खेल्ने गर्नुपर्छ। राति महालक्ष्मीका साथै देवता र पितृहरूलाई नरिवल र चिउराको भोग लगाउने, आफूले पनि सोही प्रसाद खाने गरिन्छ। त्यस रात जुवा खेल्नाले लक्ष्मीको कृपाले धनवान् भइन्छ भन्ने कुरा पनि लिंगपुराणमा उल्लेख भएको छ। 

सनत्कुमार संहितामा कोजाग्रत पूर्णिमाको रातमा महालक्ष्मीको पूजा गरी नागकन्याहरूसँग जुवा खेल्दा धनहीन बलित नामका ब्राह्मणले महालक्ष्मीका कृपाले ठूलो वैभव प्राप्त गरेको कथा वर्णन गरिएको छ। पूर्णिमाको मध्यरातमा महालक्ष्मीको पूजा गरिने हुनाले मध्यरातव्यापी आश्विन शुक्लपूर्णिमामा यो व्रत गर्नू भन्ने विधान पनि त्यहाँ बताइएको छ। 

चान्द्रमान अनुसार कोजाग्रत पूर्णिमापछि कार्तिक महिना सुरु हुन्छ। कार्तिक चतुर्मासको अन्तिम महिना, यमपञ्चक, लक्ष्मीपूजाजस्ता पर्वको समय, तुलसीको सेवा गर्ने समय र राधादामोदरको पूजा गर्ने महिना भएकाले पनि यसको धार्मिक महत्त्व छ। आषाढ शुक्लपक्षको हरिशयनी एकादशीदेखि सुरु भएको चतुर्मास व्रत कार्तिक शुक्लपूर्णिमामा समाप्त हुन्छ। यसै बीचमा कार्तिक शुक्ल हरिबोधिनी एकादशी पनि पर्छ। यी सबै कुराले गर्दा कार्तिक महिनाको ठूलो महत्त्व बताइएको छ। सम्भव हुनेले कार्तिकमा प्रत्येक दिन गंगास्नान गर्ने विधान छ। कोजाग्रत पूर्णिमादेखि कार्तिकस्नान पनि सुरु हुन्छ। कार्तिक महिनाभरि कार्तिक माहात्म्य भन्ने सुन्ने गर्नाले भगवान् दामोदरको कृपा प्राप्त हुने विश्वास छ। 

कोजाग्रत पूर्णिमाकै दिनदेखि आकाश दीपदान सुरु हुन्छ। यसका लागि तुलसीको मठ लिपपोत गरी तुलसीको पूजा गर्ने र मठको छेउमा आकाशदीप तयार गरेर प्रत्येक साँझ आकाशदीप बाल्ने विधान छ। आकाशदीप राधा–दामोदरलाई अर्पण गरिने भएकाले तुलसीका मठमा राधा–दामोदरको पूजा गरी उनैलाई आकाशदीप दान गरिन्छ। आकाशदीप दान गर्दा गरिने प्रार्थना यस्तो छ–

दामोदराय नभसि तुलायां दोलया सह । 
प्रदीपं ते प्रयच्छामि नमोऽनन्ताय वेधसे ।।

कार्तिक महिनाभरि तुलसीको पूजा–आराधना गरी अन्त्यमा तुलसी–विवाह गर्ने (तुलसीको होम हाल्ने) र चतुर्मास व्रत समाप्त गर्ने अनुष्ठानको आरम्भ पनि कोजाग्रत पूर्णिमादेखि नै आरम्भ हुन्छ। 

कोजाग्रत पूर्णिमा शक्तिको उपासना गर्ने दुर्गापक्ष र महालक्ष्मीसहित तुलसीको आराधना गर्ने कार्तिक महिनाको बीचमा पर्ने महत्त्वपूर्ण दिन हो। प्राकृतिक रूपमै सफा, स्वच्छ र उज्यालो शरद् ऋतुको यो रात शक्तिका उपासक सनातन धर्मावलम्बीहरूका लागि बाहिर पनि भित्र (मनमा) पनि दीप प्रज्ज्वलन गर्ने उज्यालोको पर्व हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments