काठमाडौं/ आश्विन शुक्ल नवमीका दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।
मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ। यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् ।
सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ । दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको विभिन्न पुराणमा उल्लेख छ ।
यी नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ ।
कतिपय ठाउँमा आज कुखुरा, बोका, भेडा, हाँस र कुखुराको पञ्च बलि पनि चढाएर कोत पूजा र निशान पूजा पनि गर्ने गरिन्छ । आजको दिन धूप आरती, फूल, नैवेद्य आदि पूजा अर्चनाका सामान लिएर खेतमा जाने अनि माटो र अन्नका बिरुवाहरूको पूजा गर्ने चलन पनि छ ।
कतिपय शक्ति पीठमा दुईदेखि दश वर्षसम्मका कन्याहरूको पूजा गर्ने चलन पनि छ । यस्तो कन्या पूजाका बारेमा देवी भागवतमा लेखिएको छ । आजको दिन काठमाडौँको तलेजु भवानीको मन्दिर वर्षभरिमा केवल एक दिन मात्र सर्वसाधारणका लागि खुल्ला रहन्छ ।
यस दिन विशेष पाठ:
या देवी सर्वभूतेषु माँ सिद्धि दात्री रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमस् ।।
अर्थात्:
सिद्धि दात्री देवीका रूपमा सर्वत्र विराजमान अम्बे, म तपाईँलाई कोटी–कोटी प्रणाम गर्दछु । मलाई शक्ति दिनुहोस् । महानवमीको सबैलाई शुभकामना, देवी माताले हामी सबैलाई शक्ति र समृद्धि प्रदान गरून् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित