नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले देशी–विदेशी शक्तिको चलखेलले राष्ट्रियता कमजोर भएको महसुस गरिएको भन्दै सबैले आफ्नो ठाउँबाट यस्ता चलखेल विरुद्ध, लोकतन्त्रको पक्षमा आवाज उठाउनुपर्ने बताए ।
काभ्रेपलाञ्चोक/नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले जेन-जी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको बनेपास्थित कार्यालयमा नै संविधान दिवस मनाएको छ ।
सो अवसरमा नेपाली कांग्रेसका नेताहरुले संविधानमाथि धावा बोलिएको भन्दै त्यसलाई जोगाउन अन्य राजनीतिक दलहरूसँग मिलेर कांग्रेसले नै नेतृत्व गर्नुपर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान माथि धावा बोल्ने काम भएको भन्दै त्यसको संरक्षण पनि कांग्रेसले नै गर्नुपर्ने बताए । संविधान अपरिवर्तनीय नभएको भन्दै उनले विधिबाट संशोधन गर्न सकिने बताए ।

६ महिनाभित्र निर्वाचन नभए मुलुक थप संकटमा फस्न सक्ने भन्दै उनले समयमा नै निर्वाचन गराउन सरकारलाई कांग्रेसले सघाउने बताए । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकमा नेताहरूबीच कुनै मतभेद नभएको भन्दै उनले कार्यकर्ताहरूलाई पनि एकताका साथ अघि बढ्न अनुरोध गरे।
केन्द्रीय सदस्य मधुप्रसाद आचार्यले संविधान संशोधन हुन सक्ने तर ध्वस्त हुन नसक्ने तर्क गरे । अराजकता गर्न कसैलाई पनि छुट नभएको भन्दै उनले तोडफोड गर्नेलाई कारबाही हुनुपर्ने तर्क गरे ।
केन्द्रीय सदस्य गणेश लामाले अहिलेको परिस्थितिमा फुटेर होइन जुटेर अघि बढ्नुपर्ने भन्दै एकताबद्ध हुन सबैमा अनुरोध गरे।
संविधानसभा सदस्य समेत रहेका नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले देशी–विदेशी शक्तिको चलखेलले राष्ट्रियता कमजोर भएको महसुस गरिएको भन्दै सबैले आफ्नो ठाउँबाट यस्ता चलखेल विरुद्ध, लोकतन्त्रको पक्षमा आवाज उठाउनुपर्ने बताए ।

संविधानको जग नभत्काइकन पुनर्लेखन गर्न सकिने तर्क गर्दै उनले संविधान जोगाउन कांग्रेस खरो भएर उत्रिने बताए । एकताबद्ध भए मात्र कांग्रेस संगठित र बलियो हुने भन्दै उनले सबै नेता कार्यकर्ताहरुलाई एकजुट हुन आग्रह पनि गरे ।
कांग्रेसका अग्रज नेता इन्द्रमणि अधिकारीले संविधान र नेपाली कांग्रेस पार्टीमाथि पटकपटक आक्रमण भएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका उपसभापति ठाकुरप्रसाद न्यौपाने, प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा क्षेत्र नं २ (क) का सभापति हेम लामा, प्रदेश सभा क्षेत्र नं १ (क) का सभापति राम योञ्जन लगायतले लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको लागि समेत समयमा नै निर्वाचन हुनुपर्ने तर्क गरे ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित