सिंहदरबार, सर्वोेच्च अदालत, पालिका कार्यालयलगायत सरकारी भवन र निजी सम्पत्तिहरुमाथि एकै खालको आक्रमण हुनु संयोग मात्र नभई योजनाबद्ध गतिविधि भएको
काभ्रेपलाञ्चोक/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद शिवप्रसाद हुमागाईंले ‘जेन–जी’ आन्दोलनको पहिलो दिनको घटनामा मारिएकाहरूको श्रद्धाञ्जलीका नाममा विभिन्न दलहरूको संलग्नतामा भएको हिंसात्मक गतिविधि ‘रास्वपा लगायत सत्ताबाहिर रहेका दलहरूको नेतृत्वमा गराइएको’ दाबी गरेका छन् । उनले घटनालाई सुनियोजित षड्यन्त्रको परिणामको संज्ञा दिएका छन् ।
नव पुस्ता (जेन–जी) को आन्दोलनमा अराजक समूहले पनौती–६ स्थित आफ्नो घरमा तोडफोड र सवारी साधनमा आगजनी गरेपछिको अवस्थाको विश्लेषण र प्राप्त प्रमाणहरुको आधारमा यस्तो दाबी गरेका हुन् ।
‘भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका जेन–जी समूहको आन्दोलनमा स्वार्थ समूहको घुसपैठले अप्रिय घटनाहरू गराएको तथ्यहरु सार्वजनिक भइरहेका छन्’’ उनले थपे ।
घर तोडफोड भएर बस्नै नहुने भएपछि आफन्तको शरण लिएका हुमागाईं र उनको परिवार घटनाको पाँचो दिनमा घर फर्केका थिए । छिमेकी र आफन्तहरुले घरको सरसफाई र भत्केका संरचनाको पुनः निर्माण भएपछि यतिखेर सोही घरमा बस्न थालेका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहहरुमध्ये पनौती नगरपालिकामा धेरै निजी सम्पत्तिहरु छानी छानी तोडफोड र आगजनी भएकोमा उनले आक्रोश व्यक्त गरे । ‘पनौती नगरपालिका भित्र नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, समाजसेवी रामेश्वर थापा र पूर्व नगरप्रमुख भीम न्यौपानेको घरसमेत आन्दोलनको मर्म विपरीत आक्रमणमा पारिएको छ ।’
बुधबार अपराह्न पनौतीस्थित आफ्नै निवासमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले सिंहदरबार, सर्वोेच्च अदालत, पालिका कार्यालयलगायत सरकारी भवन र निजी सम्पत्तिहरुमाथि एकै खालको आक्रमण हुनु संयोग मात्र नभई योजनाबद्ध गतिविधि भएको दाबी गरे ।
उनले थपे, ‘सरकारी निकाय मात्र नभई ठूला व्यवसायिक केन्द्र, पसल र निजी घरहरूमासमेत आगजनी, लुछपाटरतोडफोड हुनु दुःखद हो । यी अवाञ्छित गतिविधिका कारण धेरै घरपरिवार विस्थापित भएका छन्, दशैंको मुखमा हजारौंको रोजगारी गुमेको छ ।’
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबामाथि भएको आक्रमणप्रति खेद प्रकट गर्दै हुमागाईंले भने, ‘यो कार्य विधि र कानुनी शासन विपरीत हो ।’
प्रजातान्त्रिक विचारधारामा अडिग रहँदै करिब दुई दशकदेखि राजनीति गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै हुमागाईंल यस अवधिमा दुई वर्ष जेल जीवन बिताएको, पटक–पटक हिरासतको पीडा व्यहोरेको अनुभव सुनाए ।
पनौतीमै बसेर राजनीति गर्दा सडक, विद्युत, पुल, विद्यालय, महाविद्यालय र प्राविधिक संस्थाहरु स्थापनामा महत्वपूर्ण योगदान दिएको दाबी गर्दै उनले भने, ‘म कुनै लाभको पदमा रहिनँ, सधैं नागरिककै पक्षमा उभिएँ ।’
फूलबारीको शोभा बढाउन थरी–थरी फूल चाहिने जस्तै विभिन्न विचारप्रति सधैं सम्मान गर्दै आएको उल्लेख गर्दै हुमागाईंले कोही कसैलाई जानेर पीडा नदिएको स्पष्ट पारे । हालसम्म ८० भन्दा बढी बालबालिकालाई शिक्षा प्राप्त गर्न सहयोग गरेको दृष्टान्त दिँदै उनले आफ्नै पुर्ख्यौली थलोमा परिवारसहित बसिरहेको अवस्थामा घरमा भएको तोडफोड र सवारी साधनमा गरिएको आगजनी ‘सधैं खोजीको विषय’ बन्ने बताए ।
हुमागाईंले सार्वजनिक तथा निजी सम्पत्तिमाथि ध्वंशात्मक ढंगले तोडफोड र आगजनी गर्ने आतातायी र लुटेरााहरूमाथि कडा कानुनी कारबाहीका लागि बलियो आयोग गठन गर्न सरकारसँग माग गर्दै भने, ‘भ्रष्टाचार वा अन्य अपराधविरुद्धका कानुनको कठघरामा उभ्याइ कारबाही गर्न आग्रह गर्दछु । साथै यस्तो व्यक्ति केन्द्रीत आन्दोलन कोही कसैको हितमा नहुने पनि प्रष्ट गर्दछु’ उनले थपे ।
राजनीतिक दलहरूले नयाँ पुस्ताको भावना बुझेर आफ्ना कमजोरी सुधार्नुपर्ने, संस्थागत सुधारमार्फत जनताको अपेक्षा पूरा गर्नुपर्नेमा हुमागाईंको जोड थियो । ‘जनतामा आएको निराशाले ठूलो सुधारको आवश्यकता पुष्टि गरिसकेको देखिन्छ । तर निराशा अन्त्यको नाममा विद्यमान संविधान र व्यवस्था मास्ने कुरा कदापि स्वीकार्य हुँदैन,’ उनले दोहर्याए ।
जेन–जी समूहको आन्दोलनमा ज्यान गुमाएका र घाइतेहरूलाई न्याय दिलाउन तत्काल आयोग गठन गर्न सरकारलाई थप आग्रह गर्दै उनले तोकिएको समयमा निर्वाचन गर्नुपर्नेमा जोड दिए । ‘नयाँ पुस्ताको चाहना सम्बोधन गर्दै लोकतन्त्र रक्षाको जिम्मा काँग्रेसले लिनुपर्छ,’ हुमागाईंले प्रष्ट्याए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित