काठमाडौँ/ सुनचाँदी व्यवसायीहरूको छाता संस्था नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले जेनजी आन्दोलनका क्रममा चोरी भएका तथा लुटिएका सुनचाँदी बेच्न आउनसक्ने भन्दै विशेष सतर्कता अपनाउन व्यवसायीलाई आग्रह गरेको छ ।
महासङ्घका महासचिव निरबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी आन्दोलनका क्रममा लुटपाट भएका सुनचाँदी बिक्रीका लागि पसलमा आउनसक्ने भन्दै विशेष सतर्कता अपनाएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।
महासङ्घले आन्दोलनका क्रममा ऐतिहासिक सम्पदा, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालयदेखि निजी सम्पत्तिसम्ममा ठूलो क्षति पुगेको उल्लेख गर्दै कैयौँ कैदीबन्दी फरार भएको र लुटपाटका घटना भइरहेकाले व्यवसायीले सावधानीपूर्वक कारोबार सबैलाई आग्रह गरेको हो ।
महासचिव विश्वकर्माले चोरी वा लुटपाट भएका सुनचाँदीसमेत बजारमा आउन सक्ने सम्भावना उच्च भएकाले कुनै पनि कारोबार गर्दा ग्राहकको प्रमाणित परिचयपत्र र आवश्यक कागजात अनिवार्य रूपमा जाँच गर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।
त्यस्तै, बहुमूल्य गरगहनाको सुरक्षाका लागि सिसी टिभी, अर्लाम वा अन्य उपकरणको व्यवस्था मिलाउन, भीडभाडलाई नियन्त्रणमा राख्न, अपरिचित व्यक्तिलाई सजिलै पसल वा घरमा प्रवेश नदिन र कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरी वा सुरक्षाकर्मीलाई जानकारी गराउन महासङ्घले व्यवसायीलाई भनेको छ ।
महासङ्घले आगामी चाडपर्वलाई ध्यानमा राख्दै व्यवसाय सुरक्षित सञ्चालन गर्न स्थानीय सरकार तथा नजिकको प्रहरीसँग निरन्तर समन्वयमा रहन व्यवसायीलाई आग्रह गरेको छ । महासङ्घले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ भाद्र ३१ गते