प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत, चीन र पाकिस्तानद्वारा बधाई

काठमाडौँ/नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त हुनुभएकामा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ ।

Lahachhap

यहाँस्थित अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो । लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुःखद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख गरेको छ ।

“हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनःस्र्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा सम्मान गर्दछौँ ” विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त राज्य अमेरिकाले अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेकोे जनाएको छ । राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्री कार्कीलाई चीनद्वारा बधाई, सहकार्यको प्रतिबद्धता

काठमाडौँ/चीनले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेको छ । साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Lahachhap

नेपालको अन्तरिम प्रधानमन्त्रीका रूपमा उहाँले शुक्रबार शपथ लिएको सन्दर्भमा विदेश मन्त्रालयका प्रवक्तासँग पत्रकारले गरेको प्रश्नको जवाफमा चीनले प्रधानमन्त्री कार्कीलाई बधाई दिएको हो ।

चीन र नेपालबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै विदेश मन्त्रालयका प्रवक्ताले सदा झै चीनले नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने बताउनुभएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ ।

“हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोग बढाउन र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन नेपालसँग काम गर्न तयार छौँ,” उहाँले भन्नुभएको दूतावासको कथन छ ।

प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई

Lahachhap

काठमाडौँ/ पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेको छ ।

प्रधानमन्त्री शेहेबाज सरिफले नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हाल्नुभएकामा हार्दिक बधाई व्यक्त गर्दै दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले प्रधानमन्त्री कार्कीलाई पठाउनुभएको शुभकामना सन्देशमा नेपाली जनताको शान्ति र प्रगतिको कामना पनि गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments