काठमाडौँ / काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले हालैको आन्दोलनमा सक्रिय सहभागिता जनाएका युवा पुस्ता ‘जेन जेड’ लाई सलाम गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै परिवर्तनको यात्रामा नयाँ पुस्ताले खेलेको भूमिका ऐतिहासिक र प्रेरणादायी भएको बताएका छन्।
बालेनले आफ्नो स्ट्याटसमा लेखेका छन्, “प्रिय जेन जेड, तपाईँहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ।” उनले आन्दोलनका क्रममा जीवन गुमाएका वीर सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान सधैँ भावी पुस्ताको मार्गदर्शन बन्ने विश्वास व्यक्त गरेका छन्।
उनले भनेका छन्, “वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली। तपाईँहरूको योगदान अमूल्य छ, जसले सधैँ भावी पुस्तालाई देश प्रेम र कर्तव्य बोधको मार्गदर्शन गर्नेछ। तपाहरूप्रति असिम सम्मान।”
त्यस्तै, आन्दोलनका क्रममा घाइते भएकाप्रति चिन्ता व्यक्त गर्दै उनले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। बालेनले भनेका छन्, “घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”
प्रधानमन्त्रीको शपथ कार्यक्रममा नदेखिएका शाहले फेसबुकबाट जेनजीलाई बधाई दिएपनि नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भने बधाई दिएनन्।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित