टोकियो/ जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा गर्ने निर्णय गर्नुभएको स्थानीय मिडियाले आइतबार जानकारी दिएका छन् ।
सत्तारूढ पार्टीका सदस्यहरूले माथिल्लो सदनमा भएको विनाशकारी चुनावी हारपछि नयाँ नेतृत्व खोज्दै गरेको अवस्थामा इशिबाले यस्तो निर्णय गर्नुभएको हो ।
लामो समयदेखि प्रभावशाली लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को नेतृत्व सम्हालेको एक वर्ष पनि नपुग्दै ६८ वर्षीय इशिबाले यस्तो कदम चाल्नुभएको हो । त्यसयता उहाँले संसद्का दुवै सदनमा बहुमत गुमाउनुभएको छ ।
सार्वजनिक प्रसारणकर्ता एनएचकेले इशिबाले पार्टीलाई विभाजनबाट जोगाउन राजीनामा गर्न निर्णय गरेको जनाएको छ भने दैनिक आसाही सिम्बुनले उहाँलाई राजीनामा गर्न दबाब बढिरहेको उल्लेख गरेको छ ।
शनिबार राति कृषिमन्त्री र एकजना पूर्व प्रधानमन्त्रीले इशिबालाई भेटी स्वेच्छिक रूपमा पद छोड्न आग्रह गर्नुभएको थियो । गत हप्तामात्रै पार्टीका नम्बर दुई नेता हिरोशी मोरियामासहित एलडिपीका चार वरिष्ठ अधिकारीले पनि राजीनामा दिनुपर्ने प्रस्ताव गर्नुभएको थियो ।
जुलाईमा सम्पन्न माथिल्लो सदनको निर्वाचनपछि इशिबाका विपक्षीहरूले चुनावी हारको जिम्मेवारी लिई पदत्याग गर्न निरन्तर दबाब दिँदै आएका थिए ।
अब नयाँ नेतृत्वको चुनावका लागि जापानभरका एलडिपी सांसद र क्षेत्रीय अधिकारीहरूले सोमबार आधिकारिक अनुरोध पेस गर्नेछन् । आवश्यक बहुमत प्राप्त भएमा पार्टीमा नेतृत्व प्रतिस्पर्धा सुरु हुनेछ ।(रासस/एएफपी) :
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित