बिपी राजमार्ग दुई लेनमा पुनर्निर्माण हुँदै, सुरुङ निर्माणको अध्ययन गर्न सरकारको जाइकालाई आग्रह

गत असोज दोस्रो साताको बाढीबाट पूर्ण रूपमा क्षति भएको बिपी राजमार्ग दुई लेन (डबल लेन) मा पुनर्निर्माण हुने भएको छ । सडक डिभिजन भक्तपुरले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गलाई हालको इन्टरमिडियट लेनबाट स्तरोन्नति गरेर दुई लेनको बनाउने भएको हो ।

सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जियिनर (सिडिई) सुमन योगेशले बाढीबाट पूर्ण रूपमा क्षति भएको बिपी राजमार्गलाई दुई लेनमा पुनर्निर्माण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले इन्टरमिडियट लेनमा निर्माण गरेको बिपी राजमार्गलाई पुनर्निर्माण गर्दा दुई लेनको बनाइने छ । दुई लेनको बनाउने गरी दुई वटा खण्डको सडक पुनर्निर्माणका लागि सम्झौता भइसकेको छ ।”

उहाँले बिपी राजमार्गको डालाबेँसीदेखि चार सयबेँसीसम्मको ८.५ किलोमिटर सडक पुनर्निर्माणका लागि खानी/कमलजित/एवान जेभीसँग एक अर्ब २२ करोड र चार सयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ किलोमिटर सडक पुनर्निर्माणका लागि लामा/नवकान्तिपुर जेभीसँग एक अर्ब १४ करोड रुपियाँमा ठेक्का सम्झौता भएको बताउनुभयो ।

“जाइकाले इन्टरमिडियट लेन अन्तर्गत साढे पाँच मिटरको सडक बनाएको थियो । उक्त इन्टरमिडियट सडकमा ठुला सवारीसाधन सञ्चालनमा समस्या देखिएको थियो भने अब पुनर्निर्माण हुने भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको २९.५ किलोमिटर सडकलाई नौ मिटरमा विस्तार गरिने छ,” सिडिई योगेशले भन्नुभयो । दुई लेनको बनाएपछि सवारी आवागमनमा समस्या नहुने उहाँले बताउनुभयो ।

कार्यालयले पहिलो चरणमा भकुन्डेदेखि नेपालथोकसम्मको २९.५ किलोमिटर सडक दुई लेनको बनाउने छ । “बिपी राजमार्गमा आगामी दिनमा हुन सक्ने सवारी चापलाई ध्यानमा राख्दै पुनर्निर्माण गर्न लागिएको सडकलाई दुई लेनको बनाउन लागेका हौँ । यस्तै हामीले धुलिखेलदेखि भकुन्डेबेँसीसम्मको करिब २२.७ किलोमिटर सडकलाई समेत दुई लेनको बनाउन सकिने देखेका छौँ,” सिडिई योगेशले भन्नुभयो ।

कार्यालयले धुलिखेलदेखि भकुन्डेसम्मको सडकलाई दुई लेनको बनाउनका लागि विस्तृत परियोजना रिपोर्ट (डिपिआर) समेत तयार गरेको छ । उक्त सडकखण्डलाई सरकारले बजेट सुनिश्चित गरेर काम गर्न अनुमति दिएको खण्डमा दुई लेनमा विस्तार गर्न सकिने उहाँले बताउनुभयो । सरकारले पछिल्लो समय अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकलाई छ लेनमा विस्तार गरिरहँदा बिपी राजमार्गको धुलिखेलदेखि भकुन्डेसम्मको सडकलाई दुई लेनमा विस्तार गरेको खण्डमा पूर्वी पहाडी र तराई जाने सवारी सहज रूपमा आवागमन गर्न सक्ने छन् ।

सरकारले क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि साढे आठ अर्बको स्रोत सुनिश्चित गरेको अवस्थामा काभ्रेपलाञ्चोकतर्फका दुई खण्ड र सिन्धुलीतर्फको एक खण्डमा अनुमानभन्दा कम मूल्यमा ठेक्का लागेकोले सोही रकमबाट सडक विस्तारको काम गराउँदा राज्यलाई थप आर्थिक भार नपर्ने प्राविधिक बताउँछन् ।

सरकारले बिपी राजमार्गको खुर्कोटदेखि सिन्धुली चियाबारीसम्मको ३०.५ किलोमिटर सडकलाई छोटो बनाउनका लागि सुरुङमार्ग बनाउने विषयमा छलफलसमेत सुरु गरेको छ । उक्त सुरुङ निर्माणका लागि जाइकालाई अध्ययन गर्न सरकारले अनुरोध गरेको छ । अध्ययन अनुसार खुर्कोटबाट चियाबारीसम्म सुरुङमार्ग निर्माण गरेको खण्डमा करिब २२ किलोमिटर साँघुरो सडकको यात्रा छोटिने छ ।

अध्ययन अनुसार खुर्कोटदेखि चियाबारीसम्म करिब साढे आठ किलोमिटर सुरुङमार्ग बन्ने छ । बिपी राजमार्गको धुलिखेलदेखि खुर्कोटसम्मको सडकलाई दुई लेन र खुर्कोटबाट चियाबारीसम्म सुरुङमार्ग बनाएको खण्डमा साँघुरो, घुम्ती र जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता हट्ने छ ।-केदार तिमिल्सिना/गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments