महोत्तरी/ भाद्र पूर्णिमाकै दिन यहाँ पितृपक्ष सुरु भएको छ । असोज कृष्णपक्षलाई पितृपक्ष मानिए पनि भाद्र पूर्णिमाकै दिन देवर्षि पितृ तर्पण दिइने परम्पराअनुसार आज नै पितृपक्षको पूर्वविधि देवतर्पणबाट सुरु भएको हो ।
“मैथिल परम्परामा भाद्र शुक्ल चतुर्दशीकै दिन ‘नौकेश’ (हातगोडाका नङ र कपाल काट्ने विधि) गरेर पितृपक्षमा कूलदेवता, ग्रामदेवता र देवर्षिहरूलाई पहिलो आमन्त्रणा गरी भाद्र पूर्णिमाकै दिन तर्पण दिइन्छ”, महोत्तरीको बर्दिबास–२ का पण्डित महेशकुमार झा भन्नुहुन्छ, “देवर्षि पितृ तर्पणसँगै पितृपक्ष सुरु भएको मानिने मैथिल परम्परा छ ।” आज कूलदेवता, ग्राम देवता र देवर्षिलाई आमन्त्रण गरी तर्पण दिइएपछि भोलि असोज कृष्णपक्ष प्रतिपदादेखि पक्षभरि आफ्ना दिवङ्गत स्वजनलाई तर्पण दिइनेछ ।
पितृपक्षमा दिवङ्गत पितृको दुई प्रकारका श्राद्ध विधान छ । पितृपक्षबाहेकका तिथिमा दिवङ्गत भई पहिलो वार्षिकी गरिएका पितृको सम्झनामा यसपक्षमा ‘पार्वण’ श्राद्ध गरिन्छ । यस्तो श्राद्धमा आफ्ना घरका तीन पुस्ता, मावली तीन पुस्ता, अन्य परिवारभित्रका आफन्त र गायत्री गुरुलाई समेत पिण्ड दिइने परम्परा छ । यसलाई महालय श्राद्ध पनि भनिन्छ ।
त्यसैगरी पितृपक्षभित्रै दिवङ्गत भएका पितृको भने सोही तिथिमा गरिने श्राद्धलाई ‘एकोपार्वण’ भनिन्छ । एकोपार्वणमा एकोदिष्ट (दिवङ्गत तिथिमा सम्बन्धित पितृलाई पिण्ड दिइने) श्राद्ध र पार्वण विधिसमेत गाभिने हुँदा यसलाई ‘एकोपार्वण’ भनिएको पण्डित झाको भनाइ छ ।
मिथिलामा सामान्यतया पितृपक्षको तर्पण र श्राद्ध तीर्थमा गरिने चलन छ । टाढा तीर्थस्थल जान नसक्नेहरू आफ्नो बस्ती नजिकको पवित्र जलाशयमा गई पितृ तर्पण गर्छन् । मिथिलामा पितृपक्षका सबै दिन तर्पण दिने चलन छ । यो परम्पराले आज महोत्तरीका धार्मिक महत्वका नदी र तलाउ तटमा पहिलो दिनको देवर्षि तर्पण दिनेहरू भरिभराउ छन् । जलेश्वरस्थित भृगु ऋषिको आश्रम नजिकको भार्गवसर, जलेश्वरनाथ महादेव मन्दिर परिसरका वरुण र पुरन्दर सर, मटिहानीस्थित लक्ष्मीसागरसहितका पवित्र तलाउ, रातु, मरहा, बाँके र कुटमेश्वरीसहितका नदी तटमा सामूहिक तर्पण दिनेको भीड भएको हो । यी धार्मिकस्थलमा एक पुरोहितले नै सामूहिक सङ्कल्प पढेर तर्पण गराउँछन् ।
असोज कृष्णपक्षको अवधिलाई पितृपक्ष (मैथिली बोलीचालीमा पितरपक्ष) र सोह्रश्राद्ध भनिने गरिएको छ । यसपक्षमा पितृहरु (दिवङ्गत आफन्त) स्वर्गबाट पृथ्वीमा ओर्लने विश्वास गरिन्छ । पृथ्वीमा ओर्लेका पितृले सन्तानले दिएको तर्पण र पिण्ड सोझै ग्रहण गर्ने विश्वासले यस अवधिमा तर्पण र श्राद्ध गरी पिण्ड दिने परम्परा चलेको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।
पितृपक्षमा बर्दिबास नगरपालिका–५ को टुटेश्वरनाथ महादेव मन्दिरसँगैको मरहा नदी तट, बर्दिबास–३ को राइमण्डल धार्मिक क्षेत्र र रातु, मरहा एवं ओक्सीलगायतका नदीतटमा तर्पण दिने यजमान (श्राद्ध गर्ने कर्ता) लाई सङ्कल्प पढाउन पुरोहितको व्यस्तता पनि निकै बढेको देखिन्छ । कर्तापिच्छे गोत्र, नाउँ र पितृहरूको फरकफरक सङ्कल्प पढ्नुपर्ने भएकाले पुरोहितलाई धपेडी पर्ने गर्छ ।
पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ (दिवङ्गत परिवारजन) त्रिप्त हुन्छन् भन्ने विश्वासले हिन्दू मैथिल पितृपक्षमा तीर्थस्थलमा श्राद्ध गर्न पुग्छन् । यस पक्षमा पितृपक्ष (पितातर्फ) र मातृपक्ष (मावलीपक्ष)सँगै गुरु, दिवङ्गत राष्ट्रप्रमुख र नजिकका अन्य दिवङ्गत नातेदारलाई तर्पण र पिण्ड दिने चलन छ ।
मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथिका श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ (सोह्रश्राद्ध) पनि भन्ने गरिन्छ । पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँसीका दिन गरिने भएकाले पक्ष १५ दिनकै भए पनि श्राद्धचाहिँ १६ तिथिका गरिने चलन छ ।
दसैँं, तिहार र छठजस्ता मुख्य चाडवाडअघि पितृहरूको स्मरण गर्नाले पारिवारिक विघ्न नपर्ने र पितृ तृप्त हुने विश्वास गरिन्छ । यी पर्वबाहेक घरमा आयोजन गरिने माङ्गलिक कार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादिसहितका शुभकार्य) अघि पनि पितृहरूलाई तृप्त गराउन नानीमुखी श्राद्ध र सप्तमातृकाको पूजा गर्ने हिन्दू वैदिक परम्परा रहेको भङ्गाहा–५ का बासिन्दा मैथिल कर्मकाण्डी पुरोहित चन्द्रकान्त झा बताउनुहुन्छ ।
वर्षका अन्य बेला गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होस् भन्ने कामनाजस्तै दसैँ, तिहार र छठपर्वको मुखमा पितृहरूलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको झाको कथन छ । हिन्दू परम्परामा पितृपक्षभरि पितृहरू स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यस पक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित