गत वर्ष असोज २१–२२ गते सम्पन्न पहिलो सम्मेलनले लगानीको आधार तयार गरिसकेको छ । अब मङ्सिर १–२ गते हुने दोस्रो सम्मेलनमार्फत त्यसलाई अझ गति दिने, नयाँ सम्भावना खोल्ने र दीर्घकालीन साझेदारीको वातावरण निर्माण गर्ने हाम्रो अपेक्षा छ ।
अपार सम्भावना हुँदाहुँदै विगतमा सुदूरपश्चिम प्रदेशमा विकासले गति लिन सकेन । त्यसैले गरिबी, दुःख, अभाव, बेरोजगारी र कठिनाइ यस प्रदेशको परिचयजस्तै बन्यो । गणतन्त्र स्थापनापछि भने यो परिचय बदल्न र नयाँ पहिचान बनाउन तिनै तहका सरकार क्रियाशील छन् । सुदूरपश्चिम केबल ‘टाढाको भूगोल होइन, नजिकको सम्भावना’ हो भन्ने भाष्य बनाउन विविध प्रयत्न भइरहका छन् ।
आजको विश्व आर्थिक साझेदारी र सहकार्यको नयाँ चरणमा प्रवेश गरिरहेको छ । दिगो विकास, समृद्धि र साझा प्रगति अब सरकार, समुदाय र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै सम्भव छ । यही दृष्टिकोणलाई आत्मसात् गर्दै प्रदेश सरकारले आफ्ना नीति, योजना र कार्यक्रममार्फत रूपान्तरणको यात्रा अघि बढाएको छ । यस अभियानमा सबैको अपनत्व र सहकार्य जुटाउन ‘सुदूरपश्चिम प्रदेश विकास तथा लगानी सम्मेलन’ सुरु गरिएको हो । प्रदेशलाई ‘सम्भावनाको द्वार, लगानीको गन्तव्य’का रूपमा स्थापित गर्न दीर्घकालीन साझेदारी, लगानी प्रवद्र्धन र दिगो विकासतर्फ नयाँ युग सुरु गर्ने अठोटसहित यसको सुरुआत गरिएको हो । गत वर्ष असोज २१–२२ गते सम्पन्न पहिलो सम्मेलनले लगानीको आधार तयार गरिसकेको छ । अब मङ्सिर १–२ गते हुने दोस्रो सम्मेलनमार्फत त्यसलाई अझ गति दिने, नयाँ सम्भावना खोल्ने र दीर्घकालीन साझेदारीको वातावरण निर्माण गर्ने हाम्रो अपेक्षा छ ।
यसकारण विकास सम्मेलन
सुदूरपश्चिम, जहाँ हरेक नदीले ऊर्जा बोक्छ । हरेक जमिनमा सम्भावना अङ्कुराउँछ र हरेक फाँटमा सुन्दर भविष्यको आशा लहलहाउँछ । सेती, कर्णाली र महाकालीजस्ता नदीमा पानी मात्रै होइन, विद्युत् र जल पर्यटनको ठूला अवसरहरु बगिरहेका छन् । खप्तड, बडिमालिका र अपि–सैपाल हिमाल केबल दृश्य सौन्दर्य मात्र होइनन्, विश्वभरका पर्यटकलाई मोहित पार्ने अमूल्य सम्पदा हुन् । कैलाली, कञ्चनपुरका फाँट, पहाडका कान्ला र उच्च हिमालका पाखापखेरा निर्वाहमुखी खाद्यान्न मात्रै होइन, स्वस्थ जीवनका लागि कृषि उपज र रोजगारीका लागि औद्योगिक सम्भावना पनि बोकेका छन् । यहाँका वन जङ्गल वन्यजन्तुका क्रिडास्थल र जडीबुटीका ‘आधार इलाका’ हुन् । यी सबै सन्देशलाई विश्वभर पु¥याउन र लगानी आकर्षित गर्न यो सम्मेलन दोस्रो पटक आयोजना हुँदैछ ।
प्रदेशलाई समृद्धि र दिगो विकासतर्फ उन्मुख गराउन सबै सरोकारवालामा साझा दृष्टिकोण निर्माण र दीर्घकालीन सहकार्य आवश्यक छ । यही उद्देश्यका लागि विकास सम्मेलन आयोजना गर्न थालिएको छ । यसले कानुनी र नीतिगत सुधार, सार्वजनिक–निजी साझेदारी तथा स्थानीय उद्यमशीलता प्रवद्र्धन गरी प्रदेशको विकासलाई एक नयाँ दिशा दिने लक्ष्य लिएको छ । सम्मेलनका मुख्य पाँच वटा उद्देश्य र महत्त्व छन्ः
लगानी आकर्षणः प्रदेशका प्रमुख क्षेत्रहरू (ऊर्जा, कृषि, पर्यटन, पूर्वाधार, उद्योग, डिजिटल) मा स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्नु । नयाँ लगानी प्रवाहमार्फत उत्पादन र उत्पादकत्वमा वृद्धि गरी रोजगारी सिर्जना र आर्थिक गतिशीलता प्रदान गर्नु ।
नीति सुधार र लगानीमैत्री वातावरणः सरलीकृत लगानी प्रक्रियाका माध्यमबाट लगानीकर्ताहरूलाई सहज अनुभव प्रदान गर्नु । सरकारी, निजी तथा अन्तरराष्ट्रिय साझेदारहरूको सहकार्य र समन्वयलाई बलियो बनाउनु ।
स्थानीय उद्यमशीलता र नवप्रवर्तनः युवा उद्यमी र ‘स्टार्टअप’ को विकासमा प्रोत्साहन गर्नु । नवप्रवर्तनशील विचारधारालाई समर्थन गर्दै प्रतिस्पर्धात्मकता र दीर्घकालीन विकास सुनिश्चित गर्नु ।
समग्र आर्थिक विकासः प्रदेशको कुल घरेलु उत्पादन (जिडिपी) वृद्धिमा योगदान पु¥याउने । आर्थिक संरचनामा नयाँ जीवन्तता र दिगो विकास रणनीतिहरूको कार्यान्वयन गर्नु ।
सम्मेलनलाई यी उद्देश्य पूर्तिका लागि स्थानीय सरकार, निजी क्षेत्र, विकास साझेदार र सङ्घीय सरकारबीचको सहकार्यलाई संस्थागत बनाउने तथा सुदूरपश्चिमको सम्भावनालाई विश्वसामु उजागर गर्ने अवसरका रूपमा लिएका छौँ ।
सुदूरपश्चिम : सम्भावना र अवसर
सामाजिक, सांस्कृतिक, भौगोलिक र जैविक विविधता तथा स्रोत र संसाधनको विविधता (प्राकृतिक, मानवीय र भौतिक संचरना) सुदूरपश्चिम प्रदेशका सामथ्र्य हुन् । यो यस्तो भूमि हो, जहाँ खप्तडका जङ्गलले ध्यानको गहिराइमा पु¥याउँछन् । अपी–सैपाललगायत हिमालले गौरवको शिखर देखाउँछन् र महाकाली–कर्णालीजस्ता नदीले विकासमा हासिल गर्न चाहेको गतिलाई बताउँछन् । यहाँका तराई, पहाड र हिमालका बस्ती, खोलानाला, पाखापखेरामा सङ्घर्ष, साहस र संस्कारको कथा गुथिएका छन् ।
यस प्रदेशमा पेट्रोलियम पदार्थ, चुनढुङ्गा, पत्थर, कोइला, अभ्रक (सल्फर), फलाम, तामा, सिसा आदिका खानीको सम्भावना रहेको अनुमान छ । यहाँको तराई क्षेत्र अन्नबाली, दलहन र तेलहनको भण्डार हो भने पहाड जडीबुटी र फलफूलको उद्यानयुक्त क्षेत्र हो । व्यापारिक सम्बन्धको हिसावले पनि यो प्रदेश बहुआयामिक महत्वको छ । तराई र पहाडका जिल्लाको व्यापार, पारवहन र वाणिज्य सम्बन्ध भारतसँग जोडिएको छ । नजिकै भारतको उत्तराखण्ड तथा उत्तर प्रदेश राज्यहरू छन् । चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालकै लुम्बिनी तथा कर्णाली प्रदेशसँग सीमाना जोडिएको छ ।
यी सम्भावनाका बीच पनि उचित लाभ लिन सकिएको छैन । ‘ल्हासामा सुन छ कान मेरो बुच्चै’ भनेझैँ यहाँ उचित लगानी र विकास पूर्वाधारको अभावमा देशमै सबैभन्दा कमजोर अवस्था छ । मानव विकास सूचकाङ्क, बहुआयामिक गरिबी, बिजुली उत्पादन, बेरोजगारी, उद्योग, कलकारखाना, कुल गार्हस्थ उत्पादनमा हाम्रो अवस्था चिन्ताजनक छ । त्यसैले यी सबै कुरालाई मध्यनजर गरी प्रदेश सरकारले विकासको गति बढाउन चाहेको छ । त्यसका लागि सबैलाई लगानीको लागि अपिल गरिरहेको छ । प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार, ऊर्जा, मानव पुँजी, सूचना तथा प्रविधि र सेवा क्षेत्रमा लगानीको बाटो खोल्ने गरी विकास प्राथमिकताको पहिचान गरेको छ । आगामी लगानी सम्मेलनलाई लक्षित गरी विभिन्न मन्त्रालय, निजी क्षेत्र र विकास साझेदार समेतको समन्वयमा करिब ४५ वटा बहुलाभदायी परियोजना पहिचान गरिएका छन् । यहाँका सम्भावनाबारे यसरी विश्लेषण गरौँः
ऊर्जा र जलविद्युत्ः सुदूरपश्चिम प्रदेशमा जलविद्युत् आयोजना विकासको ठूलो सम्भावना छ । यहाँका नदी तथा खोलाबाट १५ हजार मेघावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको जानकारहरू बताउँछन् । छ हजार चार सय मेगावाट क्षमताको पञ्चेश्वर बहुउद्देशीय परियोजना, ४३९ मेगावाटको बेतन कर्णाली आयोजना, सात सय ५० मेगावाटको पश्चिम सेती परियोजना र १० हजार आठ सय मेगावाट क्षमताको कर्णाली परियोजना यहाँका महत्वपूर्ण आयोजना हुन् । बझाङ, बैतडी, दार्चुला, अछाम, डोटी, बाजुरामा केही जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।
सुदूरपश्चिममा ऊर्जामा यत्रो सम्भावना छ, तर पनि यहाँ करिब एक सय ७५ मेगावाट विद्युत् मात्रै उत्पादन भइरहेको छ, जबकी देशभर करिब तीन हजार पाँच सय ६५ मेगावाट बिजुली उत्पादन भइरहेको छ । यहाँ छ सय ८० मेगावाट विद्युत् उत्पादनका लागि अनुमति लिएर विभिन्न चरणमा छन् । एक हजार नौ सय १६ मेगावाट उत्पादन अनुमतिपत्रका लागि दरखास्त प्राप्त भएको र एक हजार दुई सय ७२ मेगावाटका लागि सर्वेक्षण अनुमतिप्राप्त गरी अध्ययनको चरणमा रहेको अवस्था छ । कतिपय आयोजना सम्भाव्यता अध्ययन सकेर निर्माण सुरु हुने अवस्थामा छन् । यहाँ आन्तरिक माग, नजिकै विश्वको उदाउँदो अर्थतन्त्र भारत र त्यहाँका धेरै जनसङ्ख्या र उद्योग भएका क्षेत्र नजिकै रहेकाले प्रदेशमा उत्पादित विद्युत् केवल आन्तरिक माग पूरा गर्न मात्र होइन, भारत र त्यहाँ हुँदै अन्य मुलुकमा निर्यात गर्न सक्ने क्षमता सम्भावना छ ।
कृषि र कृषि उद्यमः यहाँ कुल कृषि योग्य क्षेत्र तीन लाख ६७ हजार छ सय ४९ हेक्टर रहेको छ । त्यसमा एक लाख ७१ हजार आठ सय ३२ हेक्टर सिँचित क्षेत्र छ । जहाँ ३८ हजार तीन सय हेक्टर सिँचाइ क्षमताको रानीजमरा कुलरिया सिँचाइ आयोजना र ७१ हजार आठ सय २० सिँचाइ हुने महाकाली सिँचाइ आयोजना छ । यहाँको कृषि क्षेत्रले प्रदेशको कुल गार्हस्थ उत्पादनमा करिब एक तिहाइ योगदान गरिरहेको छ । यहाँ बाजुरामा १९ हजार हे, बझाङमा १८ हजार र अछाममा ११ हजार हेक्टर ओलिभ खेतीका लागि सम्भावनायुक्त छ ।
यसर्थ धान, गहुँ र ओलिभ प्रशोधन तथा पशु आहार उद्योग यहाँको कृषि औद्योगिक आधार हुन् । यस्तै, ओखर, किवी, सुन्तला, स्याउलगायत उच्च मूल्यका बालीको उपयोग, स्थानीय रक्सी उत्पादन, जैविक तथा देशी बीउ उत्पादन कारखाना, बहुउद्देश्यीय जडीबुटी प्रशोधन केन्द्र, मसला प्रशोधन, व्यावसायिक दुग्ध उत्पादन र व्यवस्थापन गर्न सकिन्छ । त्यसबाहेक माछा उद्योग, ह्याचरी, व्यावसायिक हरिण, कालिजपालनका लागि यो भूमिमा अत्यन्त सम्भावना छ । यी उत्पादनलाई प्रशोधन गरी मूल्यवृद्धि गरेर अन्तरराष्ट्रिय बजारमा निर्यात गर्न सकिन्छ ।
पर्यापर्यटन, साहसिक गतिविधि र धार्मिक पर्यटनः खप्तड राष्ट्रिय निकुञ्ज, अपि–सैपाल हिमाल, बडिमालिका, उग्रतारा, शैल्यशिखर, रामारोशन, घोडाघोडी, बेहडाबाबा, मल्लिकार्जुन, उग्रताराजस्ता धार्मिक तथा प्राकृतिक स्थलले साहसिक, धार्मिक र पारिस्थितिक पर्यटनको अपार अवसर बोकेको छन् ।
खप्तड र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज इको लज, वन्यजन्तु सफारी र वेलनेस रिट्रिट, बडिमालिका, त्रिपुरासुन्दरी, शैलेश्वरी, रामारोशन, बैद्यनाथधामजस्ता क्षेत्रहरू आध्यात्मिक र सांस्कृतिक पर्यटन, महाकाली, कर्णाली र सेतीलगायत नदीहरू ¥याफ्टिङ, कायकिङ र नदी किनार इको–लजका लागि उपयुक्त छन् ।
यहाँ खस भाषाको उद्गमस्थल डोटी सभ्यता, सौका, डगौरा, राना थारुलगायत यहाँका जातजाति, भाषाभाषाी, रहनसहन आधारित होमस्टे, फार्म टु टेबल अनुभव र हिमालयन ट्रेकिङ मार्गको विकासको माध्यमबाट लाभ लिन सकिन्छ । यसमा तीर्थस्थल र संरक्षित क्षेत्रलक्षित रिसोर्ट, हाइवे विश्राम स्थल, केबलकार, सम्मेलन केन्द्र, पार्कहरू लगानीका क्षेत्र हुनसक्छन् ।
उद्योग पूर्वाधार र सहरी विकासः यहाँका नौ जिल्लामा २५ भन्दा बढी खनिजहरू पहिचान गरिएका छन् । प्रमुख खनिजका लागि ४० भन्दा बढी अन्वेषण अनुमतिपत्र जारी गरिएका छन् । टालक, ग्रेनाइट र धातु खानी (सिसा, तामा, जिङ्क), मूल्यवान चुनढुङ्गा–सिमेन्ट परियोजनामार्फत खनिज केन्द्रहरू बनाउन सकिन्छ । क्षेत्रीय आपूर्ति श्रृङ्खलाका लागि रासायनिक र मल उद्योग, काठ, काठ प्रशोधन र सिजनिङ प्लान्टहरू, ग्रेनाइट र धातु हस्तकला उद्योग लगानीका क्षेत्र हुन् ।
यस्तै, सडक स्तरोन्नति, इन्धन स्टेशन, विद्युतीय सवारी चार्जिङ स्टेशनजस्ता हाइवे र पुल परियोजना, पर्यटकका लागि चार्टर्ड उडान, हवाई सेवा तथा विमानस्थल स्तरोन्नति र सार्वजनिक यातायात, आवास, पानी र सरसफाइ, मनोरञ्जन क्षेत्रहरूमार्फत रणनीतिक लगानीका अवसर छन् । यसका साथै डुडेझारी, दैजी छेला औद्योगिक क्षेत्र र दोधारा चाँदनी सुक्खा बन्दरगाह विकास ।
शिक्षा, स्वास्थ्य, खेलकुद र सूचना प्रविधिः हाल यहाँ चिकित्सक जनसङ्ख्या अनुपात १ः १९००० छ । जबकी विश्व स्वास्थ्य संगठनको मापदण्ड १ः१००० छ । यसर्थ ई—हेल्थ, डाइग्नोस्टिक र ग्रामीण पहुँचका लागि लगानीको प्रचुर सम्भावना छ । यहाँ जनसङ्ख्याको ४३ प्रतिशत १९ वर्षमुनिका युवाहरू छन् । समग्रमा ६० प्रतिशत युवाको उपस्थिति छ । यस्तो अवस्थामा आवासीय नमुना विद्यालय, पोली–टेक्निक, प्राविधिक शिक्षालय, मेडिकल कलेज, डिजिटल पूर्वाधार, ग्रामीण बजार विस्तार, सफ्टवेयर विकास र आइटी सेवा, आइटी हब, प्राविधिक इन्क्यूबेटर र डेटा सेन्टरमा लगानी गर्न सकिने प्रशस्त ठाउँ छ ।
पछिल्लो समय लगानीको अर्को क्षेत्र खेल पूर्वाधार हो । खेल क्षेत्रमा सुदूरपश्चिमको योगदान करिब ४० प्रतिशत रहेको विज्ञहरूको दावी छ । खेलाडी र यहाँका दर्शकको लगाव अत्यधिक छ, नेपाल प्रिमियर लिग (एनपिएल) त्यसको उदाहरण हो । नेपाल क्रिकट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले काठमाडौँको क्रिकेटग्राउण्डमा उपस्थित करिब ७० प्रतिशत दर्शक सुदूरपश्चिमकै र ९६ मध्ये २८ वटा खेलाडी सुदूरपश्चिमकै रहेको बताउँदै हुनुहुन्थ्यो । यसलाई अर्थतन्त्रसँग जोड्न यहाँ पर्याप्त ठाउँ छ ।
सुदूरपश्चिम किन अबको गन्तव्य ?
सीमापार व्यापार र ठूलो बजार पहुँचः भारतसँगको खुला सीमा, निकट बजार र यातायात सञ्जालले सुदूरपश्चिमलाई क्षेत्रीय व्यापारिक केन्द्र बनाउन सक्छ । भारतका दुई प्रमुख राज्यहरू उत्तराखण्ड र उत्तरप्रदेशसँग हामी जोडिएका छौँ, जहाँ २७ करोड जनसङ्ख्या छ । दिल्ली, लखनऊ, बरेली, देहरादुन र अन्य सहरमा सहज सडक पहुँच छ । त्यसैले यहाँको उत्पादन र ऊर्जा खपतका लागि पर्याप्त असर छन् ।
हरित अर्थतन्त्रको केन्द्रविन्दुः देशमै बढी वन क्षेत्र रहेको यस प्रदेशमा जलवायु प्रतिरोधात्मक, नवीकरणीय ऊर्जा र स्वच्छ ऊर्जा आधारित जीविकोपार्जनका अवसर छन् ।
‘भर्जिन ल्याण्ड’ : धार्मिक क्षेत्र, सांस्कृति विविधता र पर्यापर्यटनका दृष्टिले ‘भर्जिन’ ल्याण्ड छ । यहाँ भारतीय धार्मिक पर्यटकदेखि साहसिक विश्वपर्यटनलाई लोभ्याउन सम्पदाहरू छन् ।
श्रम केन्द्रित युवा जनशक्तिः अहिलेको विश्वको सबैभन्दा ठूलो सम्पत्ति मानव पुँजी नै हो । सुदूरपश्चिममा हाल १९ वर्षमुनिको जनशक्ति ४३ प्रतिशत र ६० वर्षमुनिको युवाको हिस्सा ६० प्रतिशत छ । यो मानव पुँजीलाई उत्पादनमा लगाउन र श्रम केन्द्रित उद्यमका लागि तयार गरी लाभ लिन सकिन्छ ।
मूल्य श्रृङ्खला क्षमताः घरेलु र सीमापारी बजारका लागि कच्चा पदार्थको उत्पादन र आपूर्तिको अपार उपलब्धता छ ।
प्रदेश सरकारको लगानीमैत्री सोच र तयारीः लगानीकर्ताले नाफा मात्र होइन, सुरक्षाको प्रत्याभूति पनि चाहन्छन् । यसलाई ध्यानमा राख्दै प्रदेश सरकारले कर छुट र सहुलियत, लगानी सुरक्षित गर्ने कानुनी संरचना, दर्ता र अनुमतिका लागि ‘एकद्वार सेवा केन्द्र’, पूर्वाधार निर्माणमा सरकारी प्राथमिकता, सार्वजनिक–निजी साझेदारी प्रवर्द्धनलगायत नीतिगत व्यवस्था गरेको छ । यी व्यवस्थामार्फत प्रदेशलाई ‘लगानी सुगम गन्तव्य’ का रूपमा स्थापित गर्न ठोस कदम चालिएको छ । प्रदेश सरकार हाल दोस्रो पञ्चवर्षीय योजनाको तयारीमा जुटिसकेको छ, जसमा समावेशी, नवप्रवर्तनशील र लगानीमैत्री रणनीतिहरूलाई मूलधारमा ल्याउने तयारी छ । यस योजनामा नजी क्षेत्र निर्देशित विकास ढाँचालाई केन्द्रमा राख्ने दिशामा कार्य भइरहेको छ । यी कार्यले लगानीकर्तालाई सहजता, विश्वास र दीर्घकालीन नाफा सुनिश्चित गर्नेछ भन्ने हाम्रो विश्वास हो ।
‘समृद्धिको यात्रामा साझेदारी’
प्रदेश सरकारले पहिलो पञ्चवर्षीय योजना (२०७८÷७९—२०८२÷८३) अवधिमा कुन क्षेत्रमा कस्तो उपलब्धि हासिल गर्ने भनेर लक्ष्य निर्धारण गरेको छ । यस अवधिमा आर्थिक वृद्धिदर तीन दशमलव ६ बाट २०८२÷८३ सम्म १० दशमलव पाँच प्रतिशत पुर्याउने ‘महत्वाकांक्षी’ लक्ष्य निर्धारण गरिएको छ । यस्तै, प्रतिव्यक्ति आय वार्षिक ९१८ अमेरिकी डलरबाट एक हजार ७१५ डलर पुर्याउने भनिएको छ । निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्यालाई २४ दशमलव छ प्रतिशतबाट ११ प्रतिशतमा झार्ने तथा बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्यालाई २५ दशमलव तीन प्रतिशतबाट १३ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।
यस्तै, मानव विकास सूचकाङ्कलाई शून्य दशमलव ५४७ बाट शून्य दशमलव ६२१ मा पुर्याउने, अपेक्षित आयु ६९ दशमलव आठबाट ७२ वर्ष पुर्याउने, बेरोजगारी दर सात दशमलव पाँचमा झार्ने तथा ९९ प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुर्याउने लक्ष्य लिइएको छ । अब हामी अन्तिम वर्षमा छौँ, हालसम्मका तथ्याङ्कले पूर्वनिर्धारित लक्ष्य भेट्टाउन मुस्किल छ । त्यसैले हामी के निष्कर्षमा पुगेका छौँ भने प्रदेशको समृद्धि केवल सरकारको एकल प्रयासले सम्भव हुँदैन । निजी क्षेत्र, वैदेशिक लगानीकर्ता, प्रवासी नेपाली, सहकारी संस्था र स्थानीय समुदाय सबैको सहभागिताबाट मात्रै यो सम्भव छ । त्यसका लागि प्रदेश सरकारले सरकारले साझेदारी, सहकार्य र पारदर्शितामा आधारित आर्थिक विकासलाई प्राथमिकता दिएको छ ।
यस सम्मेलनमार्फत हामी सबैलाई एकै थलोमा ल्याएर पूर्वनिर्धारित लक्ष्य पछ्याउन र सम्भावनाको नयाँ अध्याय खोल्ने सपना देखिरहेका छौँ । त्यसैले प्रदेश सरकारले प्रदेशका सपना, आशा र सम्भावनामा लगानी गर्न सबैलाई निम्तो गरिरहेका छौँ । प्रदेश सरकारले बिजुली उत्पादन गरेर उज्यालो फैलाउन, उद्योग खोलेर रोजगारी सिर्जना गर्न, कृषिलाई समुन्नतिको आधार बनाउन, पर्यटन विकासमार्फत हाम्रो सौन्दर्यलाई संसारभर पुर्याउन आह्वान गरिरहेको छ ।
प्रदेश नीति तथा योजना आयोग र सिङ्गो प्रदेश सरकारले बुझेको छ—लगानी केवल पैसा होइन, विश्वास पनि हो । त्यसैले सुदूरपश्चिम प्रदेश सरकारले लगानीकर्ताको नाफा र व्यवसाय सुरक्षा, सहज अनुमति प्रक्रिया, कर प्रोत्साहन, कानुनी तथा नीतिगत सहजीकरण, सार्वजनिक–निजी साझेदारी जस्ता आधारहरू तयार गरिसकेको छ । सुदूरपश्चिमलाई अब अवसरहरूको भूमिमा बदल्ने सरकारको अठोट छ । त्यसमा नीति तथा योजना आयोगले आवश्यक योगदान गरिरहेको छ । हामी सबैलाई अपिल गर्दछौँ– आउनुहोस् सँगसँगै हातेमालो गरौँ । तपाईँ–हाम्रो सहकार्यले उपलब्ध स्रोतको भरपूर उपयोग गर्नेछ । त्यसले रोजगारी सिर्जना गर्नेछ । नागरिकको जीवन बदल्ने छ र यसले प्रदेशलाई मात्र नभई सिङ्गो नेपाललाई समृद्धितर्फ डोर्याउन योगदान पुग्नेछ ।
(लेखक सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको सदस्य हुनुहुन्छ)
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित