चलचित्र यही भदौ २० गतेदेखि नेपालसहित अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
काठमाडौँ / नेपाली चलचित्र ‘रिमै’मा गुरुङ समुदायको कला र संस्कृति हेर्न पाइने भएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाटमा अभिनेता दयाहाङ राईले गुरुङ संस्कृति बुझ्ने महत्त्वपूर्ण दस्तावेज ‘रिमै’ बन्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “गुरुङ समुदायको संस्कृति र जीवनशैलीका विभिन्न आयामलाई यसमा समेटिएको छ । भोलिको पुस्ताले गुरुङ समुदायबारे बुझ्न यो चलचित्र उपयोगी हुने मैले ठानेको छु । विशेषगरी गोरखाको माथिल्लो भेगमा बस्ने गुरुङ समुदायको संस्कार र संस्कृतिमा चलचित्रको कथा तयार पारिएको छ ।”
उहाँले ‘रिमै’ शब्दको अर्थ गुरुङ समुदायमा ‘छोरी–चेली’ भएता पनि सन्दर्भअनुसार ‘तरुनी’को रूपमा प्रयोग गरिने बताउनुभयो । अन्तिम संस्कारका लागि गुरुङ समुदायमा छोरी अनिवार्य मानिने संस्कृतिलाई चलचित्रमा देखाइएको उहाँको भनाइ छ ।
“गुरुङ भाषामा चलचित्र बनेका छन्, तर सबैले नेपालभर बुझ्ने भाषामा यो चलचित्र तयार भएकाले महत्त्वपूर्ण छ”, अभिनेता राईले भन्नुभयो ।
चलचित्रकी अभिनेत्री रिश्मा गुरुङले चलचित्र हेरेपछि गुरुङ समुदायमा छोरीको महत्व झनै प्रस्टिने जानकारी दिनुभयो । आफैँ गुरुङ समुदायको भएकाले पनि नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकिरहेको संस्कृतिलाई चलचित्रले बृहत् रुपमा प्रचार गर्ने अभिनेत्री गुरुङले विश्वास व्यक्त गर्नुभयो ।
“म यो चलचित्रमा जोडिनुको एउटा कारण संस्कृतिलाई जोडेर तयार गरिएको कथा हो । पुर्खाले सिकाउनुभएको संस्कार र संस्कृति समेटिएको पटकथा पढेपछि यसमा काम गर्नुपर्छ भन्ने प्रेरणा मलाई प्राप्त भएको हो । मनोरञ्जन चाहनेका लागि पनि यो चलचित्र उत्तिकै राम्रो छ”, अभिनेत्री गुरुङले भन्नुभयो ।
उक्त चलचित्रमा अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिबी गुरुङ, टेक गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् । खिलबहादुर गुरुङले निर्देशन गर्नुभएको चलचित्रमा उपेन्द्र सुब्बाको पटकथा लेखन, शैलेन्द्रध्वज कार्कीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन रहेको छ । चलचित्र यही भदौ २० गतेदेखि नेपालसहित अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित