राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सडक निर्माण, किसानका लागि मल र सिँचाइको व्यवस्थालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
काठमाडौँ/ राष्ट्रियसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सडक निर्माण, किसानका लागि मल र सिँचाइको व्यवस्थालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद गोमादेवी तिमिल्सिनाले नारायणघाट–काठमाडौँ सडक खण्डको सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “म हिजो मात्रै नारायणघाटबाट काठमाडौँ आउँदै थिए, बाटोको हालत विजोग छ, ६ महिनाअगाडि राम्रै थियो, तर अहिले खाल्डाखुल्टी मात्रै छ, पहिला ५ घण्टामा काठमाडौँ पुगिन्थ्यो, अहिले आठ घण्टामा पनि पुग्न कठित छ, यो बाटो सुधारका निम्ति म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”
सांसद नरबहादुर विष्टले पछिल्लो समय भएको ‘भिजिट भिसा’ प्रकरणबारे सरकारसँग जवाफ माग गर्नुभयो । “पछिल्लो समय फेरी भिजिट भिसाको विषय उठेको छ, यसबारेमा गृहमन्त्री रमेश लेखकले सदनमा जवाफ दिनुपर्छ,” उहाँले भन्नुभयो ।
सांसद भुवनबहादुर सुनारले सरकारले विद्यालय शिक्षा विधेयक गत असार १५ गतेभित्र पारित हुन्छ भने पनि अहिलेसम्म राष्ट्रियसभामा आएको छैन किन? भन्दै सरकारसँग प्रश्न गर्नुभयो ।
सांसदहरु सुरेशकुमार आले मगर, नारायणदत्त मिश्र, मदनकुमारी शाह (गरिमा) र राजेन्द्रलक्ष्मी गैरेले बाढी, पहिरो, महङ्गी, शान्तिसुरक्षालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित