उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउनुभएकी उपराष्ट्रपति भोसँग मन्त्री डा राणाले भेटवार्ता गर्नुभएको हो ।
काठमाडौँ / समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज यहाँ शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउनुभएकी उपराष्ट्रपति भोसँग मन्त्री डा राणाले भेटवार्ता गर्नुभएको हो ।
सो भेटका क्रममा नेपाल भियतनाम सम्बन्धका विविध आयामहरुका साथै द्विपक्षीय हित र आपसी चासोका विषयहरुमा कुराकानी भएको थियो । त्यस क्रममा मन्त्री डा राणाले पछिल्लो समय तीव्र आर्थिक विकासका लागि भियतनामलाई बधाई दिँदै यो आर्थिक विकासबाट अन्य देशले पनि सिक्नसक्ने धारणा राख्नुभयो ।
मन्त्री डा राणले दुवै देशबीचको सांस्कृतिक सम्बन्धलाई उजागर गर्नुपर्ने र बौद्ध धर्म दुवै देश र जनताका बीचको सम्बन्ध विस्तारको एक सबल कडी रहेकोमा जोड दिनुभयो । उहाँले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा धेरै भियतनामी नागरिकहरू आउने गरेको प्रसङ्ग उल्लेख गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा दुवै देश मिलेर काम गर्न सकिने पनि बताउनुभयो ।
पछिल्ला वर्षहरुमा नेपाल र भियतनामका पर्यटकहरुको सङ्ख्या उल्लेखनीय रुपमा बृद्धि भएको जानकारी दिँदै मन्त्री डा राणाले यो अवसरको उपयोग गर्दै दुवै देश पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुयो ।
मन्त्री डा राणाले भियतनामबाट नेपालका भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलमा उडानको वातावरण निर्माणका लागि पनि आग्रह गर्नुभएको थियो । त्यसैगरी उहाँले नेपाल अगामी सन् २०२६ पछि अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिको तयारीमा रहेकाले त्यसपछिको अवस्थामा आवश्यक सहयोगका लागि पनि भियतनामसँग आग्रह गर्नुृभएको थियो ।
भेटमा मन्त्री डा राणाले नेपाल सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्यमा उम्मेदवारी दिएकाले त्यसमा सहयोगका लागि आग्रह गर्दा उपराष्ट्रपति भोले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल र भियतनाम द्विपक्षीय र बहुपक्षीय तहमा एकअर्कालाई सहयोग र समर्थन गर्दै आएको उल्लेख गर्दै दक्षिण-दक्षिण सहयोग, जलवायु परिवर्तनजस्ता विश्वव्यापी एजेण्डाहरूमा आगामी दिनमा पनि सहकार्यका साथ अघि बढ्नुपर्नेमा सो भेटमा छलफल भएको थियो ।
जी ७७, नन अलाइन्मेन्ट मुभमेन्ट (नाम)का सदस्य राष्ट्रका रुपमा नेपाल र भियतनाम विकासशील देशहरुको हित रक्षाका लागि एकमत भएर काम गरिरहेको सो अवसरमा उपराष्ट्रपति भो र परराष्ट्रमन्त्री डा राणाले बताउनुभएको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित