मदन पुरस्कार गुठीको भदौ ६ मा बसेको बैठकले २०८१ सालको जगदम्बा-श्री सम्मान गिरीलाई र मदन पुरस्कार उरमाललाई अर्पण गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जनाएका छन्। लोकसंस्कृति क्षेत्रमा सक्रिय गिरीलाई लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरे बापत जगदम्बा-श्री सम्मान प्रदान गर्ने निर्णय भएको हो।
पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये काविमोको उपन्यास उरमाल मदन पुरस्कारका लागि छनोट भएको हो। पुरस्कारका लागि रमेश भुसालको छालबाटो, कुमारी लामाको दर्ज्यु संलाप, मनप्रसाद सुब्बाको पञ्चत्त्वको पालाम, श्रेयज सुवेदीको बहुरूपी, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह र तीर्थ गुरुङको हिउँको गीत श्रेष्ठ सूचीमा अटाएका थिए।
यसअघि २०८० सालको जगदम्बा-श्री सम्मान भाषाशास्त्री योगेन्द्रप्रसाद यादव र मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई प्रदान गरिएको थियो।
२०१२ सालमा स्थापित मदन पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोकसंस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिरविद्युत् उत्पादकलाई प्रदान गरिएको थियो।
२०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झनामा जगदम्बा-श्री सम्मान स्थापना गरिएको हो। यो सम्मान पहिलो पटक नारायणगोपाललाई प्रदान गरिएको थियो।
नेपाली भाषामा वर्षभरि प्रकाशित पुस्तकमध्ये एउटा पुस्तकलाई मदन पुरस्कार र विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने/व्यक्ति संस्थालाई जगदम्बा-श्री सम्मान प्रदान गरिन्छ। दुवैको पुरस्कार राशि समान चार लाख रुपैयाँ छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित