काठमाडौँ/ परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्यका लागि जलवायु एवं वातावरण संरक्षणमा जोड दिनुभएको छ ।
उहाँले युलेन्स एजुकेशन फाउण्डेसन र बनेपा नगरपालिकाको संयोजकत्वमा आज बनेपा नगरपालिका–३, काँसी भञ्ज्याङ क्षेत्रमा वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्नुभयो । सो कार्यक्रममा उहाँले जलवायु परिवर्तनका कारण नेपाल समस्यामा परिरहेकाले सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल जलवायु परिवर्तनको प्रभावबाट सङ्कटमा छ । हाम्रो यो अवस्थाबारे विश्व समुदायमा जानकारी गराएका छौँ र हाम्रा कारणले हामी पीडित होइनौँ भन्ने तथ्य विश्वले बुझिसकेको अवस्था छ । त्यसैले हामी थप सक्रिय भएर जलवायु न्यायका लागि लाग्नुपर्ने छ ।”
नेपालले केही महिनाअघि सगरमाथा संवादको आयोजना गरेर हामी कसरी जलवायु परिवर्तनको चपेटामा परेका छौँ भन्ने कुरा स्पष्ट जानकारी गराएको र नेपालको अवस्थाका बारेमा आफ्ना धारणासहितको २५ बुँदे कार्ययोजना समेत सार्वजनिक गरेको जानकारी उहाँले दिनुभयो ।
मन्त्री राणाले नेपालका तर्फबाट आफूले पहिलोपटक अन्तरराष्ट्रिय अदालतमा उपस्थित भई नेपालले जलवायु न्याय पाउनुपर्ने कुरालाई जोडदार रूपमा उठाएको स्मरण गर्नुभयो । अब ‘कार्बन ट्रेड, लस एण्ड ड्यामेज फण्ड’सहित जलवायु न्यायका विषयमा नेपालको पहुँच र कार्यक्रमका लागि पहल गर्ने जानकारी गराउनुभयो ।
सो कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी, बागमती प्रदेश सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे, नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति तथा बागमती प्रदेश सभा सदस्य तीर्थ लामा, बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीलगायत विभिन्न पालिकाका बडा अध्यक्षहरु र काठमाडौँ युलेन्स स्कुलका विद्यार्थीहरूको सहभागिता थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ भाद्र ६ गते