बौद्धमार्गीहरुले मनाए पञ्चदान पर्व

भक्तपुर/ मल्ल राजा नरेश मल्लको शासनकालमा नेपाल संवत् ७७५ मा जयदेव बज्राचार्यले सुरु गरेको पञ्चदान पर्व आज भक्तपुरमा मनाइएको छ । प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने पञ्चदान पर्व आज बौद्धमार्गीहरुले भव्य रुपमा मनाएका हुन् ।

आज पाँच दीपंकरहरुलाई भक्तपुर नपा–९ सूर्यमढीस्थित आदिपद्म महाविहारमा भेला गराएर त्यहाँ विशेष पूजा सम्पन्न गरेपछि पाँच दीपंकर बुद्धलाई बाजागाजासहित भक्तपुरनगरका १० वटै वडाका टोलटोलमा परिक्रममा गराइयो ।

भक्तपुर नगरपालिकाको क्वाठडांैस्थित प्रशन्नशील महाविहार, गोल्मढीको झौरबही, साकोठाको चतुब्र्रम्ह महाविहार, इताछेंस्थित थथुबही अर्थात् जयकीर्ति विहार र भार्वाचोको कुथुबही अर्थात् बौद्ध समकृत विहारमा रहेका पाँच दीपंकरहरुलाई भक्तपुर नगर परिक्रमा गराइएको छ ।

पर्वमा बौद्धमार्गी नेवारहरुले आफ्नो वरपर रहेका विभिन्न विहार, बही, चोक र घरमा दानशाला बनाइ अन्न, फलफूल र दक्षिणा दान दिएका छन् । बुद्ध धर्मका अनुयायी बज्राचार्य, बुद्धाचार्य, शाक्यलगायत भने उक्त टोल टोल पुगेर अन्न, फलफूल र दक्षिणा दान लिन दिनभर भिक्षाटनमा सहभागी भएका छन् ।

काठमाडौँ उपत्यका र अन्यत्र मनाइने पञ्चदान पर्वभन्दा भक्तपुरको पञ्चदान पर्व फरक र विशेष किसिमको रहेको स्थानीय देवचन्द्र बज्राचार्यले जानकारी दिनुभयो ।

दीपंकर बुद्धसँगै बौद्धमार्गीहरु बौद्ध परम्पराअनुसार पिण्डपात्र (गुलुपा) हातमा लिएर भिक्षाटनमा सहभागी हुने बज्रचार्यले जानकारी दिनुभयो । भक्तपुर नगरको पूर्व आदिपद्म महाविहारबाट सुरु भएको पूजा नगरको पश्चिम थथुबहीमा पुगेर सम्पन्न गरिने परम्परा छ ।

भक्तपुरको पञ्चदानको प्रमुख विशेषता गुँलाबाजा बजाउनुलाई मानिन्छ । टौमढीमा बौद्धमार्गीहरुले दान गाथा र स्त्रोत्र वाचनसँगै गुँला बाजा बजाउने परम्परा रहेको छ । बौद्धमार्गीहरुको पञ्चदान पर्वमा मात्रै बजाईने गुँला बाजा दीपंकर बुद्ध यात्राको क्रममा परम्परागत गुँला धाः बाजा, प्वंगाबाजा, दाफा भजन श्रृङ्गभेरी बाजाको साङ्गीतिक समूहहरुले आआफ्नो बाजाको प्रदर्शनी गर्ने प्रचलन रहेको छ । विहार र बहीहरुमा संरक्षित बौद्ध सम्पदाहरुको प्रदर्शनसमेत गर्ने परम्परा रहेको छ ।

बौद्धमार्गीहरुले आफू बुद्धका अनुयायी भएको कारण आफूले आर्जन गरेको आयको केही अंश दानका लागि राख्ने र पञ्चदान पर्वमा सोही दान गर्ने प्रचलन रहँदै आएको राजुमान बज्राचार्य बताउनुभयो । देवचन्द्र बज्राचार्यले पाँच दीपंकर बुद्धलाई पाँच पाण्डब भनेर विभिन्न समाचारदेखि व्यक्तिहरुले चर्चा गरेकोमा गुनासो गर्दै यो पाँच पाण्डब नभई पाँच दीपंकर भएको स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments