काठमाडौं विश्वविद्यालय र नेपाल इन्जिनियरिङ काउन्सिलबीच नेपालमा इन्जिनियरिङ शिक्षाको गुणस्तर उकास्नका लागि सहकार्य गर्ने सहमति भएको छ । सहमति अनुसार नतिजामा आधारित शिक्षा (आउटकम–बेस्ड एजुकेसन) लाई प्रोत्साहन गर्न र वासिङ्टन एकर्डको मापदण्डअनुसार अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरणको ढाँचा (एक्रेडिटेशन फ्रेमवर्क) विकास गर्ने आधार तयार गरेको छ ।
मङ्गलबार काठमाडौं विश्वविद्यालयमा आयोजित एक कार्यक्रमबीच विश्वविद्यालयका उपकुलपति प्राडा अच्युत वाग्ले र काउन्सिलका अध्यक्ष प्राडा पद्मबहादुर शाहीबीच सो समझदारी भएको हो । समझदारीमार्फत दुवै संस्थाले सहकार्य गर्दै इन्जिनियरिङ कार्यक्रम सुदृढीकरण, पठन–पाठन पद्धति सुधार, र विश्वस्तरीय दक्षता प्राप्त गर्ने स्नातक उत्पादन गर्ने साझा प्रतिबद्धता जनाएका छन् । यस कदमले नेपाली इन्जिनियरिङ स्नातक डिग्रीलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउन र नेपाली इन्जिनियरहरुको वैश्विक गतिशीलता बढाउन टेवा पुग्ने अपेक्षा गरिएको छ ।
समझदारी अन्तर्गत नतिजामा आधारित शिक्षा प्रणालीलाई प्रवद्र्धन गर्न संयुक्त सेमिनार, कार्यशाला र अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने, एक्रेडिटेशन प्रक्रियामा शैक्षिक नेतृत्वकर्तालाई सक्षम बनाउन क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गर्ने, र गुणस्तरीय शिक्षा विस्तारका लागि स्रोत आदानप्रदान गर्ने योजना रहेको छ ।
कार्यक्रममा बोल्दै काउन्सिलका प्रतिनिधिहरुले यस सहकार्यले नेपालमा टिकाउ एक्रेडिटेशन प्रणाली निर्माणमा ठूलो योगदान दिने बताएका थिए। त्यस्तै, विश्वविद्यालयका प्रतिनिधिहरुले विश्वविद्यालयले ज्ञान, सीप र समुदायलाई जोड्ने आफ्नो दृष्टि अन्तर्गत राष्ट्र–सेवामा निरन्तर अग्रसर रहने बताएका थिए ।
नेपाल इन्जिनियरिङ काउन्सिलले अन्तर्राष्ट्रिय इन्जिनियरिङ अलायन्स अन्तर्गतको वासिङ्टन एकर्डमा सदस्यता प्राप्त गर्ने प्रक्रियालाई अघि बढाइसकेको छ । काठमाडौं विश्वविद्यालयले वास्तविक समस्याको समाधान र नतिजामा आधारित शैक्षिक अभ्यासलाई आत्मसात गर्दै यस दिशामा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
२०८२ भाद्र ४ गते