 
                    काठमाडौँ/ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालको सरुवाका सम्बन्धमा युलेन्स स्कुल तथा परराष्ट्रमन्त्री समेत रहनुभएका उक्त स्कुलको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष डा. आरजु राणा देउवालाई जोडेर भएको सार्वजनिक टीका टीप्पणीप्रति युलेन्स एजुकेसन फाउन्डेसनले आपत्ति जनाएको छ ।
फाउन्डेसनले बुधबार विज्ञप्ति जारी गरेर युलेन्स स्कुललाई नियमन गर्ने प्रयास गरेपछि दाहाललाई सरुवा गरिएको भन्दै विभिन्न माध्यमबाट प्रकाशित भएका समाचार भ्रामक, मिथ्य, मनगढन्ते र तथ्यहीन भएको जनाएको हो ।
ती सामग्री परराष्ट्रमन्त्री राणा देउवाप्रति पूर्वाग्रहबाट प्रेरित र कपोलकल्पित रूपमा जोडी चरित्रहत्या गर्ने मनसायले सम्प्रेषण भएको स्कुलले जनाएको छ । फाउन्डेसनका अनुसार महानिर्देशक दाहालको नेतृत्वमा विभागले काठमाडौँका लगभग २८ विद्यालयमा अनुगमन गरी समीक्षाका लागि विभिन्न कागजातहरू पेस गर्न अनुरोध गरेको थियो ।
युलेन्स स्कुलको संस्थापक संस्था यूलेन्स एजुकेसन फाउन्डेसनले विभागले माग गरेको सबै सूचना, जानकारी र कागजातहरू तोकिएको समयमा नै पेस गरी विभागको अनुरोधको पूर्णपालना गरेको फाउन्डेसनले जनाएको छ ।
माग गरेका सबै कागजात र सूचना तथा जानकारी सम्बन्धित विभागमा बुझाएपछि विभागद्वारा कुनै औपचारिक जानकारी नदिएको तथा जरिवाना गरिएको सुचना वा जानकारी पनि यूलेन्स एजुकेसन फाउन्डेसनलाई नदिएको बुधबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
“युलेन्स एजुकेसन फाउन्डेसन सबै सञ्चार गृह, सञ्चारकर्मी, युट्युवकर्मीहरूलाई उहाँहरूले सम्प्रेषण गर्नुभएको सूचना तथा खबर सत्य, तथ्यमा आधारित छ ? छैन जाँच गरी सत्य र तथ्यमा आधारित सहि सूचना तथा समाचार सम्प्रेषण गर्न हार्दिक अनुरोध गर्दछ ।
युलेन्स एजुकेसन फाउन्डेसनका प्राज्ञिक विभाग प्रमुख तथा युलेन्स स्कुलका प्राचार्य मेदिन लामिछानेद्वारा जारी गराएको विज्ञप्तिमा भनिएको छ, “ युलेन्स एजुकेशन फाउन्डेसन एउटा पारदर्शी संस्था हो । यो संस्था आफ्ना अभिभावक, सम्बन्धित सरकारी निकाय, सरोकारवाला संस्था, सञ्चार गृह, सञ्चारकर्मी सबैलाई सान्दर्भिक र आवश्यक सबै सूचना तथा जानकारी प्रदान गर्न प्रतिबद्ध छ ।”

 
                            खुसी
 
                            दुःखी
 
                            अचम्मित
 
                            उत्साहित
 
                            आक्रोशित