त्यागी र दानी नेता वासुदेवशरण कोइराला

सर्लाही/ त्यागी एवं दानी नेताका रूपमा परिचित नेपाली कांग्रेसका पाका नेता एवं प्रजातन्त्र सेनानी वासुदेवशरण कोइरालाले समाजमा पुर्‍याएको योगदान अतुनीय रहेको स्मरण गरिएको छ । 

९३ वर्षको उमेरमा मङ्गलबार दिवङ्गत हुनुभएका कोइरालाको सङ्घर्ष, त्याग र समर्पणका बारेमा सामाजिक तथा राजनीतिक क्षेत्रका अगुवाले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । उहाँहरूले कोइरालाको निधनले नेपाली राजनीतिका अतिरिक्त सामाजिक तथा सांस्कृति क्षेत्रमा पनि अपूरणीय क्षति पुगेको बताउनुभएको छ । केही समयअघिदेखि अस्वस्थ रहनुभएका कोइरालाको सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीस्थित आफ्नै निवासमा निधन भएको हो । 

नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापतिसमेत रहनुभएका कोइरालाले जुटपानीमा बेसहारा वृद्धवृद्धालाई आश्रय दिन पद्म–भुवनेश्वरी नमुना वृद्ध सेवाश्रम सञ्चालन गर्दै आउनुभएको थियो । आश्रममा अहिले केही बालबालिकासहित ५० जनाभन्दा बढी वृद्धवृद्धालाई आश्रय दिइरहेको आश्रमका अध्यक्ष भवानी कोइरालाले जानकारी दिनुभयो । कोइरालाले आफ्नो घरजग्गा यसअघि नै आश्रमलाई प्रदान गरिसक्नुभएको छ । 

विसं २०१२ देखि नेपाली कांग्रेसमा आबद्ध कोइरालाले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बिपी) सहित कांग्रेसका संस्थापक नेताहरूसँग लामो समय राजनीतिक जीवन बिताउनुभएको थियो । २०१५ सालको निर्वाचन, सुवर्णशमशेरको नेतृत्वको २०१८ को तथा बिपी कोइरालाको आह्वानमा २०३० देखि २०३२ को सशस्त्र सङ्घर्ष एवं २०४२ सालको सत्याग्रहमा उहाँ सक्रिय सहभागी हुनुभएको थियो । 

Lahachhap

उहाँले लामो समय यातनापूर्ण काराबास र चार वर्ष निर्वासित जीवनसमेत बिताउनुभएको थियो । प्रजातन्त्र सेनानी कोइरालाको निधनसँगै एउटा इतिहास ढलेको भन्दै नेपाली कांग्रेसका नेताले उहाँको सम्झना गरिरहेका छन् । 

नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति अशोक खनालले कांग्रेसमा एउटा इतिहासको देहवसान भएको बताउनुभएको छ । खनालले भन्नुभयो, “लामो राजनीतिक इतिहास बोक्नुभएका उहाँको निधनले कांग्रेसलाई ठुलो क्षति पुगेको छ । आजबाट एउटा इतिहासको अन्त्य हुँदा साह्रै चिन्ता लागेको छ ।”

कोइराला वृद्धाश्रममा पुग्ने जोकोहीसँग लोकतान्त्रिक व्यवस्था ठिक ढङ्गले अगाडि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुहुन्थ्यो । नेपाली कांग्रेस सर्लाहीका अर्का पूर्वजिल्ला सभापति सत्यदेवसिंह दनुवार एक जना असल राजनीतिक गुरु गुमाउनु परेको बताउनुहुन्छ । 

कोइरालाको निधनले लोकतन्त्रको बुलन्द विचार विलीन हुन पुगेको दनुवारको भनाइ छ । नेपाली कांग्रेस सर्लाहीको मङ्गलबार बसेको बैठकले कोइरालाले गर्नुभएको त्याग, समर्पण र सङ्घर्ष नेपाली राजनीतिमा अनुकरणीय र अविस्मरणीय रहने उल्लेख गरेको छ । 

कोइरालाको इच्छा अनुसार उहाँको पार्थिव शरीर मङ्गलबार नै बिपी कोइरालाको नाममा स्थापित धरानको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान अनुसन्धान गर्ने विद्यार्थीको सहयोगार्थ दान दिइएको परिवारले जनाएको छ । कोइरालाको श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । 

सभापति देउवाद्वारा दुःख व्यक्त 

कांग्रेसका संस्थापक नेता कोइरालाको निधनमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाका तर्फबाट नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार शोक वक्तव्य जारी गर्दै पार्टी र भ्रातृ संस्थाको विभिन्न पदीय जिम्मेवारमा रहेर स्व. कोइरालाले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहने उल्लेख गर्नुभएको छ । कांग्रेस सभापति देउवाले कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोक सन्तप्त परिवारजनप्रति पार्टी र व्यक्तिगततर्फबाट गहिरो समवेदन प्रकट गर्नुभएको छ ।  -जनार्जन खत्री/गोरखापत्र

Lahachhap
खोपासीका प्रजातान्त्रिक आन्दोलनका योध्दात्रय स्वर्गीय वासुदेव शरण कोइराला, स्वर्गीय नारायणदास उलक र स्वर्गीय पूर्ण प्रसाद सत्यालः फोटो सौजन्य-मोहन पूर्ण सत्याल

९३ बर्ष अघि काभ्रेको खोपासीमा जन्मिनु भएका उहां २०१२ सालदेखि नेपाली काग्रेसको नीति , कार्यक्रममा समर्पित हुनुहुन्थो । २०१५ सालको निर्बाचन, सुबर्ण शम्शेरको नेतृत्वको २०१८ को तथा बीपी कोइरालाको आह्वानको २०३०- ३२ को सशस्त्र सशस्त्र संघर्ष एबं २०४२को सत्याग्रह सक्रिय सहभागी रहनु भएका उहांले लामो समय यातनापूर्ण काराबास र ४ बर्ष निर्बासित जीवन झेल्नु भएको थियो । शेक्षिक क्षेत्रको उन्नयनमा उहॉको उल्लेख्य योगदान रह्यो । उहॉले काठमाण्डौं र सर्लाहीमा “ नवजीवन विद्याश्रम “ नामक स्तरीय विद्यालय स्थापना र संचालन गरी निशुल्क पठनपाठनको ब्यवस्था गर्ने कार्यमा बिशिट भूमिका गर्नु भयो । किसान आन्दोलनमा पनि सक्रिय उहॉ नेपाल किसान संघको केन्द्रीय अध्यक्ष समेत हुनु भयो । उहॉ कांग्रेसको जिल्ला सभापतिकासाथै पटकपटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहनु भयो । हाल उहॉ सर्लाहीको जुटपानी ( नवलपुर ) स्थित आफ्नै निवासस्थानमा बृद्धाश्रम स्थापना गरी बृद्धबृद्धाहरूको सेवामा समर्पित हुनुहुन्थ्यो । उहांले आफ्नो शरीर पनि बीपी कोइरालाको नाममा स्थापित धरानको स्वास्थ्य विज्ञानप्रतिष्ठानलाई चिकित्सा विज्ञान अनुसंधान गर्ने विद्यार्थीहरूको सहयोगार्थ दान दिनु भएको थियो । केही समययता अस्वस्थ्य रहिआउनु भएका ९३ बर्षीय कोइराला आफुलाई भेट्न आउने शुभच्छुहरूलाई भनिरहनु भएको थियो – “परिणाम जे भए पनि इमान , नैतिकता र बिवेक नछोड्नु , दीनदुखी र समाजको सेवा गर्नु !” नेपाली समाजका एक आदर्श पुरूषप्रति हार्दिक श्रद्धॉन्जली !

श्रीमती मन्जु कोइराला, मीनु, रेबिका (रश्मि ) नीरज तथा भवानीसहित सम्पूर्ण शोकाकुल परिवारजनमा गहिरो समवेदना ।

काभ्रे काँग्रेसद्वारा दुःख व्यक्त

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments