काठमाडौं / मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित नेपाल इन्जिनियरिङ कलेज (नेक) प्रति विद्यार्थीहरु अत्याधिक आकर्षित भएको पाइएको छ । विगत ३१ वर्षदेखि नेपालको इन्जिनियरिङ शिक्षाको उन्नयनका साथै दक्ष जनशक्ति उत्पादनमा टेवा दिँदै आइरहेको नेकप्रति विद्यार्थीको रुचि देखिएको हो ।
कलेजले स्नातक तहमा आगामी शैक्षिक सत्रका लागि शनिबार प्रवेश परीक्षा लिएकोमा विज्ञान संकाय लिएर कक्षा १२ पास गरेका सयौं विद्यार्थीहरुले सहभागीता जनाएका छन् । कलेजका मिडिया रिलेसन अफिसर आशिष झाका अनुसार प्रवेश परीक्षामा ४५० भन्दा बढी विद्यार्थीहरु सहभागी भएका छन् । ‘नेपालमै इन्जिनियरिङ गर्छु भन्ने विद्यार्थीहरुको संख्या राम्रो रहेछ । यो पटकको प्रवेश परीक्षामा उल्लेख्य मात्रामा विद्यार्थीहरु आउनु भयो । ४५० भन्दा बढी विद्यार्थीहरु प्रवेश परीक्षामा सहभागी हुनुभयो ।’ मिडिया रिलेसन अफिसर झा भन्नुहुन्छ ।
यस पटकको प्रवेश परीक्षामा काठमाडौंमा रहेका विद्यार्थी मात्र हैन, मोफसलबाट समेत विद्यार्थीहरु सहभागी भएका थिए । धादिङदेखि छोरीलाई प्रवेश परीक्षामा सहभागी गराउन ल्याएका अभिभावक लक्ष्मण अधिकारीले कलेजको शैक्षिक वातावरण निक्कै राम्रो पाएको बताए । ‘पोखरा विश्वविद्यालय भन्दापनि पुरानो कलेज रहेछ, रिसर्च ओरियन्ट प्रयोगात्मक शिक्षण विधि रहेछ । इन्जिनियरिङ अध्ययन गर्नका लागि रिसर्च भनेको ठूलो कुरा हो । त्यसमाथि यो मुनाफारहित सामाजिक शैक्षिक संस्था पनि भएकोले शुल्कहरु पनि सर्वसुलभ नै लाग्यो ।’ सरकारी सेवा निवृत्त अधिकारीले भने ।
काठमाडौं, सितापाइलाका अनन्त डाँगीले पनि कलेजले प्रदान गर्ने इन्जिनियरिङ शिक्षा समयसापेक्ष र जीवनोपयोगी देखेर नै आफुले छोरालाई प्रवेश परीक्षा दिन लगाएको बताए । ‘अन्यत्र पनि इन्जिनियरिङको पढाई नहुने हैन तर, यहाँको पढाउने शैली, विद्यार्थीले पाउने सुविधा अन्यत्रको भन्दा फरक रहेछ । हामीले जुन शिक्षा हासिल गर्छौ त्यसले भोलीको भविष्य सुरक्षित हुनुपर्छ भन्ने मान्यताले म यहाँ आएको हुँ ।’ अभिभावक डाँगीले भने । कक्षा १२ पास गर्ने वित्तिकै विदेशिने लहडले लाखौं युवाहरुको भविष्य विग्रँदै गएकोमा उनी चिन्तित सुनिए,‘देशको अवस्था देखेर त छोराले पनि विदेसिन खोज्दैथ्यो, तर, मेरो मनले मानेन । युवाजति विदेसिए यो देश बनाउने कसले ? समस्याबाट भागेर हैन, समस्यासँग जुधेरमात्र सफलता प्राप्त हुन्छ, आफ्नै घरको खाएर पढ्नु जति सजिलो विदेशमा हुन्न भनेर छोरालाई सम्झाएर यहाँ ल्याए ।’ उनले भने ।
प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरुले शहरी भिडभाड र कोलाहलबाट टाढा शान्त तथा हरियालीयुक्त वातावरण रहेकोले आफुहरु आकर्षित भएको बताए । कलेजले पूर्णकालिन फ्याकल्टीहरुको व्यवस्थापन गरेकाले अध्ययनलाई थप सहजता हुने उनीहरुको धारणा छ । आफ्नै पूर्वाधार, विषयगत प्रयोगशाला, पुस्तकालय, राष्ट्रिय अन्तराष्ट्रिय एक्सपोजरको सुविधा, स्थानीय, प्रादेशिक लगायतका आकर्षक छात्रबृत्ति, एकेडेमिया र इण्डष्ट्रीलाई जोड्ने शिक्षण पद्दति कलेजका थप विशेषता छन् ।
नेपाल इन्जिनियरिङ काउन्सिल बाट स्थायी मान्यता प्राप्त कलेजले गरिब, जेहेन्दार, दूरदराजमा रहेका विद्यार्थीहरुलाई इन्जिनियरिङ शिक्षामा पहुँच स्थापित गराउने उद्देश्यले शुल्कहरु निर्धारण गरेको छ । त्यसो त, यो कलेज मुनाफा वितरण नगर्ने सामाजिक शैक्षिक संस्था हो । संस्था दर्ता ऐन २०३४ अन्तरगत जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भएको यस कलेज पछिल्लो समय नेपाल सरकार, शिक्षा मन्त्रालयद्वारा गठित सञ्चालक समिति मार्फत सञ्चालित छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित