स्टोरी:

‘जहाँ गर्मी भुल्न आउँछन् तराईवासी’

तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै सिन्धुली प्रवेश गर्ने तराईवासीलाई करकरेको रसिलो भुइँकटहरले स्वागत गर्दछ । सिन्धुलीको सदरमुकाम, माढीबजारबाट १० किलोमिटर दक्षिणतर्फ पर्ने कमलामाई नगरपालिका–८ करकरेलाई भुइँकटहरको पकेट क्षेत्र मानिन्छ ।

सिन्धुली / तराईमा यतिबेला उखरमाउलो गर्मी छ । सिन्धुलीमा शीतलताको कमी छैन । नीलो आकाशको छानोमुनि उभिँदा सेतो बादलको घुम्टाले ढपक्कै ढाक्छ यहाँ । गर्मीयाम बिर्साउने हुस्सुले पनि साथ छोड्दैन ।

तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै सिन्धुली प्रवेश गर्ने तराईवासीलाई करकरेको रसिलो भुइँकटहरले स्वागत गर्दछ । सिन्धुलीको सदरमुकाम, माढीबजारबाट १० किलोमिटर दक्षिणतर्फ पर्ने कमलामाई नगरपालिका–८ करकरेलाई भुइँकटहरको पकेट क्षेत्र मानिन्छ । यहाँको स्वादिलो कटहरले मात्रै होइन, प्रकृतिले पनि स्वर्गीय सन्तुष्टि प्रदान गर्दछ ।

सडक छेउमा स्थानीय व्यापारीले राखेका कटहरको सुगन्धले बिपी राजमार्गका यात्रुहरुलाई हतारमा भए पनि केही क्षण रोकिन बाध्य पार्छ । मिठासले भरिएको कटहर चाख्दै कतिपयले कोसेलीका रूपमा लिएर जाने गर्दछन् । माढी बजारबाट बिपी राजमार्ग हुँदै उत्तरतर्फ लाग्दा भिन्नै मौसमको अनुभव हुन्छ । माढी बजारबाट १६ किलोमिटर अगाडि बढेपछि सिन्धुलीगढी पुगिन्छ । जहाँ गर्मीयाममा पनि शीतलहर चल्छ । चियाबारीबाट अगाडि बढेपछि देखिने प्राकृतिक मनोरम दृश्य र सडक छेउका स्थानीय उत्पादनको मिठासले सबैलाई मोहित बनाउँछ । यही कारण भारतदेखि तराईसम्मका पर्यटक यहाँ घुम्न आउँछन् ।

सिन्धुलीको शीतल वातावरणले गर्मीमा तापिएका तराईवासीलाई मात्रै होइन, यहाँका स्थानीय नागरिकलाई पनि राहत दिन्छ । वर्षभरि ओसिलो र सिमसार देखिने सिन्धुलीगढी क्षेत्रको महत्व गर्मीयाममा झनै बढ्छ । माढीबजार क्षेत्र गर्मीले तात्दा गढी क्षेत्र हुस्सुले छोपिन्छ । बिहान–बेलुका त जाडो नै महसुस हुन्छ । भारतको विहारबाट परिवारसहित घुम्न आएका शीतल भगतलाई यहाँको मौसमले प्रफुल्लित बनायो । “हाम्रो विहारमा अहिले गर्मीको तापले हैरान छौँ, पङ्खाले पनि राहत दिँदैन । यहाँ त चिसो महसुस भयो,” उहाँले हाँस्दै सुनाउनुभयो ।

भगतको परिवार बिहानै भारत–नेपाल सीमा नाकाबाट सवारी चढेर बिपी राजमार्ग हुँदै कमलामाई नगरपालिका–३ मा अवस्थित ऐतिहासिक, धार्मिक, प्राकृतिक र पर्यटकीयस्थल सिन्धुलीगढीको यात्रामा निस्किएको थियो । उहाँसहितको नौ जनाको परिवारले जिल्लाका विभिन्न मनमोहक ठाउँमा रोकिँदै चियानास्ता, फलफूल खाँदै, सामूहिक तस्बिर खिच्दै चेर यात्रालाई अगाडि बढाए ।

सिन्धुलीगढी पुगेको थियो । ऐतिहासिक सिन्धुलीगढीको डाँडामा बसेर टाढासम्म फैलिएको दृश्य नियाल्दाको चरम आनन्द उहाँले शब्दमा व्यक्त गर्नै सक्नुभएन । “हाम्रोतिर चर्को घाम लाग्ने हुँदा दिउँसोको समयमा हिँड्डुल गर्न कठिन छ । तर यहाँ आइपुग्दा निकै शीतलता महसुस भयो । हरियाली जङ्गल सुन्दर वातावरणले रोमाञ्चक बनायो,” उहाँले भन्नुभयो ।

सिन्धुलीगढी क्षेत्र प्राकृतिक सुन्दर दृश्य र शीतलताका लागि मात्रै नभई ऐतिहासिक महत्वका कारण पनि पर्यटकको रोजाइमा पर्दछ । यहाँ ब्रिटिस सेनालाई गोर्खाली फौजले पराजित गरेको गौरवमय वीरता समेटिएको छ । सानो गढी, पौवागढी, तोप हान्ने प्वाल, ऐतिहासिक इनार, जेलघर, रानी दरबार र युद्ध सङ्ग्रहालयले यहाँको गौरव झल्काउँछ । सिद्धबाबा मन्दिरले धार्मिक आस्था बढाउँछ । अग्लो पहाड र हरियाली जङ्गलको बीचमा रहेको यो गढीमा पुगेपछि जो कोहीलाई आनन्द र शान्तिको अनुभूति हुने गर्छ ।

जनकपुरधाम उपमहानगरपालिका–१३ का कैलाशकुमार राउतलाई पनि सिन्धुली घुम्दाको अनुभव अविस्मरणीय लाग्यो । उहाँले भन्नुभयो, “यहाँ घुम्दा मनै मोहित भयो । तराईमा यहाँजस्तो वृक्ष छैन । अहिले बस्नै नसक्ने गर्मी छ । तराईमा पनि यस्तै हरियाली वातावरण होस् भन्ने इच्छा धेरै छ ।” दैनिक जिल्लामा कति सङ्ख्यामा पर्यटक भित्रिन्छन्, यसको तथ्याङ्क कुनै निकायसँग छैन । तर, भगत र राउत जसरी आउने पर्यटक यहाँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यताको प्रशंसा गर्दै फर्किन्छन् ।

त्यसैले त सिन्धुलीका सडक छेउ स्थानीय उत्पादनको बिक्रीस्थलका रूपमा पनि विकसित हुँदै गएका छन् । गढीडाँडा, सोलाभञ्ज्याङ, खनियाखर्कमा पुगेका पर्यटक अकबरे खुर्सानी, नून, लसुन र टिमुर मिसाएर तयार गरिएको स्थानीय अचारसँग हरियो काँक्रोको लामो चिरा चपाएर स्वाद लिन्छन् । कतिपय भुइँकटहर र नास्पातीको मिठासमा हराउँछन् । कोही मोबाइलमा यहाँको सौन्दर्यता कैद गर्न व्यस्त हुन्छन् ।

सिन्धुलीको गढी क्षेत्र मात्रै होइन्, जिल्लाको नौवटै पालिकामा पर्यटकीय सम्भावना प्रचुर छ । वरिपरि हरियाली वनजङ्गलले घेरिएको, चराचुरुङ्गीहरुको मधुर स्वर, निर्मल जल र जलमै फुलेका कमलका फूल—यी सबैले ऐतिहासिक तथा धार्मिक ‘पञ्चकन्या पोखरी’ क्षेत्रको सौन्दर्य अझ अनुपम बनाएको छ ।

प्रकृतिसँग रमाउन चाहने पर्यटकका लागि यो ठाउँ सदरमुकाम सिन्धुलीमाढीबाट पश्चिमतर्फ करिब २० किलोमिटरको दूरीमा पर्छ । मरिण गाउँपालिका–५ मा रहेको यस स्थल दृश्यावलोकनका लागि मात्र होइन, घुम्न आउने पर्यटकको मन लोभ्याउने गन्तव्यका रुपमा समेत चिनिन थालेको छ ।

यता सुनकोशी गाउँपालिका–५, मुल्कोट क्षेत्र पछिल्लो समय पर्यटकीय हबका रुपमा स्थापित हुँदै गएको छ । यहाँ रिसोर्ट, रेष्टुरेन्ट, होटल र सुनकोशीमा ¥याफ्टिङ सुविधा उपलब्ध भएपछि मुल्कोट पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ ।

फिक्कल चुचुरो सिन्धुलीकै सर्वोच्च शिखर हो । यहाँ पनि पर्यटक मनोरम दृश्यावलोकनका लागि पुग्छन् । यहाँको सामुदायिक ‘होमस्टे’मा बसेर स्थानीय संस्कृति र ‘अग्र्यानिक’ परिकारको स्वाद लिन सकिन्छ । फिक्कल गाउँपालिकामा महादेवडाँडा, सुम्नाम पोखरी, खोलागाउँ, खाङसाङ, सोल्पाठाना र रत्नावतीबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

भिमान, सिन्धुलीमाढी बजार, भद्रकाली, खुर्कोट र मुल्कोट क्षेत्रका होटल, रिसोर्टहरु गर्मीको मौसममा चलायमान देखिन्छन् । गर्मीयाममा तराईबाट घुम्न आउने पर्यटकको चहलपहलले व्यापार, व्यवसायमा नयाँ ऊर्जा थपेको स्थानीय व्यवसायी गुञ्जन तामाङले बताउनुभयो । उहाँका अनुसार जिल्लाको व्यापार व्यवसाय राजमार्गका यात्रु र तराईबाट घुम्न आउने पर्यटकका कारण चलायमान छन् ।

गर्मीयाममा सिन्धुलीको शीतलतामा रमाउन आउने पर्यटक आगमनमा वृद्धि भएसँगै व्यापार र व्यवसाय फस्टाउन थालेको सिन्धुली उद्योग वाणिज्य सङ्घकी महिला सचिव सिर्जना श्रेष्ठको बुझाइ छ । तर, घुम्न आएका पर्यटकलाई दुई–चार दिन बस्न प्रेरित गर्ने पूर्वाधार र सुविधामा अझै सुधार आवश्यक रहेको उहाँको भनाइ थियो ।

सरकारको प्रवद्र्धन र व्यवसायीकहरूको सक्रियताले जिल्लाको पर्यटकीय क्षेत्र अझ आकर्षक र व्यवस्थित बन्दै जाने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सिन्धुलीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार सुधार, सेवासुविधा विस्तार र प्रचारप्रसारमा थप ध्यान दिन जरुरी छ । यसका लागि सबै पक्ष एकजुट भएर अगाडि बढ्न आवश्यक छ ।”

सिन्धुलीको प्राकृतिक सौन्दर्य, धार्मिकस्थल, सांस्कृतिक सम्पदा, ऐतिहासिकस्थल, ग्रामीण जीवनशैली र बगरमा गरिएको खेतीका दृश्यले पर्यटकलाई आकर्षित गर्दछ । तर, पैदल मार्गहरू नियमित प्रयोगमा नआएपछि जङ्गलले ढाक्न थालेका छन्, गोलञ्जोर, फिक्कल र कमलामाईमा करोडौँ खर्च गरेर बनेका भ्यू टावरहरू जीर्ण भइसकेका छन् । पुनःनिर्माण गरिएको ऐतिहासिक रानीदरबार उचित व्यवस्थापन नपाउँदा जीर्ण हुँदै गएको छ ।

पर्यटन प्रवद्र्धनका लागि केवल संरचना निर्माण पर्याप्त छैन । दीर्घकालीन संरक्षण, प्रभावकारी व्यवस्थापन र स्थानीय उत्पादन तथा सांस्कृतिक गतिविधिसँग जोड्नुपर्छ । यसरी गर्दा मात्र पर्यटकको बसाइ लामो हुनेछ र स्थानीय आम्दानी तथा रोजगारीमा पनि वृद्धि हुनेछ । सिन्धुलीमा गर्मीयाममा शीतलता, जाडोयाममा न्यानोपन, इतिहास, प्रकृति र सांस्कृतिक अनुपमको सङ्गम छ । यहाँ आउने जो–कोही पनि खाली हात फर्किंदैनन्, उनीहरू इतिहास, प्राकृतिक सौन्दर्य र स्मृतिको मीठो सँगालो लिएर फर्किन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments