डिजिटल नेपाल फ्रेमवर्कको विस्तार र नेपाल टेलिकमको प्रगतिबारे ब्रिफिङ

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्यप्रगतिबारे आज ब्रिफिङ लिनुभएको छ ।

सूचना तथा सञ्चार प्रविधिको उपयोग गरेर सुशासन, विकास र समृद्धिको गतिलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै आउनुुभएका प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, टेलिकमका निमित्त प्रबन्ध निर्देशक सबिना मास्के प्रधानसहितसँग ब्रिफिङ लिनुभएको हो ।

नेपाल सरकारबाट हालै राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) नीति, २०८२ स्वीकृत भएको सन्दर्भमा डिजिटल नेपाल फ्रेमवर्कलाई थप विस्तार र समयसापेक्ष परिमार्जनका लागि मन्त्रालयले गृहकार्य सुरु गरेकाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको छ । प्रस्तावित डिजिटल नेपाल फ्रेमवर्क २.० (फास्ट) ढाँचामा तयार गरिएको छ । उक्त प्रस्तावमा डिजिटल इकोसिस्टमको पूर्वाधार, पहुँच, क्षमता विकास र रुपान्तरणको अवधारणा समावेश गरिएको छ ।

प्रस्तावित नयाँ ढाँचामा यसअघि समाविष्ट कृषि, शिक्षा, स्वास्थ्य, शिक्षा, पर्यटन, वित्त, सुशासनका साथै अहिले सामाजिक सुरक्षा, विपद् र जलवायु परिवर्तनका क्षेत्र थप गरिएको छ ।

यसको कार्यान्वयनका क्रममा डिजिटल नेपालको प्राथमिकता निर्धारण, अनुुगमन र प्रतिवेदनका लागि सञ्चारमन्त्रीको अध्यक्षतामा डिजिटल रुपान्तरण परिषद् प्रस्ताव गरिएको छ । उक्त नयाँ फ्रेमवर्क मन्त्रिपरिषद्बाट स्वीकृतिपछि कार्यान्वयनमा आउनेछ ।

प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपालको दूरदृष्टिसहित डिजिटल नेपाल फ्रेमवर्क, २०७६ स्वीकृत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments