दर्ता भएर सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी गरिने

काठमाडौँ/ काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीको तयारी थालेको छ ।

कामपा शिक्षा विभागले यस्ता विद्यालयहरूको स्थलगत अनुगमन गरी खारेजीको लागि थप प्रक्रियामा जाने तयारी गरेको कामपाले जानकारी दिएको छ । वैकल्पिक विद्यालयहरू महिला ज्योति, जायना र जेम्स नमूनालाई स्थानान्तरण अनुमति दिइएको कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

उहाँका अनुसार २५ वटा विद्यालयको नाम परिवर्तनको लागि अनुमति दिइएको छ । सामुदायिक तथा संस्थागत विद्यालयहरूको कक्षा र विषय थप, नाम र स्थान परिवर्तन, स्वामित्व परिवर्तन, सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी, वैकल्पिक विद्यालय स्थानान्तरणजस्ता विषय कामपाको शिक्षा समितिमा छलफलको क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

रानीदेवी माध्यमिक विद्यालय, रानीबारीलाई शैक्षिक सत्र २०८२ देखि कक्षा १० सञ्चालन गर्न अनुमति दिइएको छ । पशुपति मित्र, गीतामाता, जनकल्याण, जनपथ र नेपाल आदर्श माध्यमिक विद्यालयलाई प्राविधिक धारमा कक्षा १२ मा सिभिल र कम्प्युटर इञ्जिनियरिङ विषय थप गर्न अनुमति प्रदान गरिएको छ ।

संस्थागत विद्यालयहरूको कक्षा र विषय थपका लागि १२ वटा विद्यालयलाई अनुमति दिने तयारी पनि कामपाले गरेको छ । त्यस्तै नाम परिवर्तनका लागि कागजात पेस गरेका २१ वटा विद्यालयलाई अनुमति दिइएको छ । संस्थागत विद्यालयको स्थानान्तरणको लागि आवश्यक मापदण्ड तयार गरी आगामी शिक्षा समितिको बैठकमा पेस गर्न कामपा शिक्षा तथा स्वास्थ्य समितिलाई जिम्मेवारी दिइएको छ ।

आर्थिक वर्ष २०८२ र ८३ को शिक्षा क्षेत्रको बजेट र बुक फ्रि फ्राइडे कार्यक्रमको उपयोगिता, सान्दर्भिकता र परिमार्जनका लागि शिक्षा तथा स्वास्थ्य समितिमार्फत १५ दिनभित्र प्रतिवेदन पेस गर्ने तयारी कामपाको छ ।

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि डा सुरजराज काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलले विद्यालय सञ्चालनको मापदण्ड, सामाजिक र स्रोत नक्साङ्कन, भौतिक संरचना, शैक्षिक गुणस्तर र दीर्घकालीन शिक्षा योजनाका लागि सुझावसहितको प्रतिवेदन पेस गर्नेछ प्रारम्भिक बाल विकासको अभिलेखीकरण विधान दर्ताका लागि शिक्षा विभागले अध्ययन गरी कार्य गर्ने कामपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments