कृष्ण जन्माष्टमी

थारू बस्तीमा भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला

काठमाडौँ/ कृष्ण जन्माष्टमी नजिकिँदै गर्दा पश्चिम नेपालका थारू बस्तीमा अष्टिम्कीको तयारी सुरू हुन्यो । चित्र कोर्नका लागि प्राकृतिक रङको जोहो गरिन्थ्यो । हरियो रङका लागि सिमी, कत्थक रङका लागि विशेष काठ, रातो रङका लागि पवईं साग । कालो रङका लागि त सुकेको लौका आगोमा डढाउनुपथ्र्यो ।

थारू समुदायमा विशेषगरी हरियो, कालो, सेतो र रातो रङको प्रयोग हुन्छ । अष्टिम्कीमा पनि यिनै रङ प्रयोगमा आउँछन् । दुःख गरेर सङ्कलन गरिएका प्राकृतिक रङलाई हातैले घरका भित्तामा अष्टिम्की चित्र बनाएर उनीहरू अष्टिम्की पर्व मनाउँथे । तर, अहिले यसको मौलिकता हराएको छ । प्रिन्ट गरिएका अष्टिम्कीका चित्र टाँसेर पूजा गर्ने चलन हाबी भएको छ । यसले अष्टिम्की चित्रकलाको मौलिकपन नै हराउँदै जानेमा विज्ञहरू चिन्तित छन् ।

हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन खास गरी पश्चिमा थारू समुदायले ‘अष्टिम्की पर्व’ मनाउने गर्छन् । यो पश्चिमा थारूहरूको मौलिक पर्व हो । यो दिन अष्टिम्की चित्र बनाएर व्रतालु महिलाले पूजा गर्ने चलन छ ।

मिथिला चित्रकलासँग मिल्दोजुल्दो अष्टिम्की चित्र व्यावसायिक बन्न त परै जाओस् घरका भित्ताहरूमा पनि देखिन छाडेको छ ।

अष्टिम्की चित्रको महत्त्व

अष्टिम्की गीतको पुस्तक प्रकाशन गरिसकेका शत्रुघन चौधरीका अनुसार अष्टिम्की थारूहरूको विभिन्न प्रदर्शनकारी सौन्दर्य कलामध्ये एक हो, जुन प्राकृतिक सौन्दर्य र जीवको गहिरो सम्बन्ध रहेको चित्रकलामार्फत व्यक्त हुन्छ ।

अष्टिम्कीका दिन बिहानै नुवाइधुवाइ गरी निराहार व्रत बसी महिला–पुरुषहरू घरको बहरी (पिँढी) को उत्तरतर्फको भित्तामा हस्तचित्र बनाउने गर्छन्, जहाँ मानवकृति र प्राकृतिक स्वरूप बनाइएका हुन्छन्”, उहाँ भन्नुहुन्छ, “सृष्टिको कथादेखि पशुपन्छी, जीवजन्तुको चित्र बनाइएको हुन्छ । यसले थारूहरूको जीवनशैली र जीवजीविकाको सम्बन्ध देखाउँछ ।”

अष्टिम्कीबारे विद्यावारिधि गरेका थारू संस्कृतिविद् डा कृष्णराज सर्वहारीका अनुसार, अष्टिम्की चित्रकला एक कला मात्र होइन, समग्र थारू समुदायको उत्पत्ति, जीवनशैली, दर्शन र संस्कृतिको प्रतिरूप हो । उहाँ भन्नुहुन्छ, “अष्टिम्कीको गीत गाउँदै अष्टिम्की चित्र बनाइन्छ । गीतमा भनिएको कुरा चित्रमा झल्किन्छ । चित्रमा सूर्य र चन्द्रको उपस्थितिले थारूहरू प्रकृतिपूजक रहेको प्रस्ट बुझिन्छ ।”

डा. सर्वहारीका अनुसार, अष्टिम्की चित्रकलामा ब्रह्माण्ड सृष्टिसँग जोडिएका सबै पक्ष समावेश हुन्छन् । थारुहरूको कृषिकर्म हलो जोतेको, डोलीमा बेहुला–बेहुली बसेको, घना जङ्गल, पशुपन्छी आदि सबैले थारु जनजीवनको विविध पाटोलाई चित्रमार्फत उजागर गर्छन् । यी चित्र भित्तामा डेहरी (भकारी) मा बनाइन्छन् र साँझपख पूजाअर्चनापछि मात्र फलफूल खाने गरिन्छ ।

असारको पहिलो साता सार्वजनिक भएको पुस्तक ‘बुढनी’ को आवरणमा पनि अष्टिम्की कला झल्कन्छ । यसका लेखक इन्दु थारु अष्टिम्की चित्रकला थारु समुदायका पुर्खाले पहिलेदेखि नै बनाउँदै आएकाले पुस्तकमा मौलिक कलालाई स्थान दिएको बताउनुहुन्छ ।

“थारु समुदायमा चित्र बनाउने आफ्नै शैली छ । बाघ, मयूर होस् वा अन्य जनावर र पन्छी । ज्यामितीय आकारमा बनाइएका यी चित्र हेर्दा स्पष्ट हुन्छ कि यो थारुहरूको कला हो । यो बनाउने तरिका पनि विशिष्ट छ”, उहाँ भन्नुहुन्छ । अष्टिम्की चित्र हेर्नेबित्तिकै थारु समुदायको सांस्कृतिक पहिचानसँग जोडिने अनुभूति आफूलाई हुने उहाँको भनाइ छ ।

अष्टिम्की चित्रकला प्रवर्द्धनमा स्थानीय तह

संस्कृति जगेर्ना र थारु लोकचित्रकलाको प्रवर्द्धनमा स्थानीय तहले आ–आफ्नो तर्फबाट पहल गरिरहेका छन् । थारु बहुल क्षेत्रका पालिकाहरूमा अष्टिम्की चित्रकलाको प्रवर्द्धन गर्न कार्यशाला, प्रतियोगिता, गोष्ठीहरू सञ्चालन भइरहेका छन् ।

बर्दियाको बारबर्दिया नगरपालिकाले आफ्नो पालिकामा लागू गरेको स्थानीय पुस्तक ‘बारबर्दिया गौरव’मा अष्टिम्कीबारे पाठ राखेको छ । यसका साथै, त्यहाँ अष्टिम्कीको अवसरमा कक्षा ४ देखिमाथिका विद्यार्थीलाई अष्टिम्की चित्र बनाउने अभ्यास पनि गराइन्छ । ‘बारबर्दिया गौरव’ पुस्तकका लेखकमध्ये एक नरेशलाल कुसुम्याका अनुसार पाठ्यक्रम, कार्यशालालगायत विभिन्न प्रयासले यो चित्रकलालाई दिगो बनाउन र प्रवर्द्धन गर्न सकिन्छ ।

यसै साता काठमाडौँमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र अग्रासन थारु महिला समाजको सहकार्यमा थारु अष्टिम्की चित्रकला कार्यशाला आयोजना गरियो । जसमा काठमाडौँवासी थारु युवाले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

कैलालीको जानकी गाउँपालिकाले त आफ्नो कार्यालय भवन कक्ष अष्टिम्की चित्रकलाले सुसज्जित बनाएको छ । मौलिक हस्तकला चित्रले पालिकाकै शोभा बढाएको छ । पालिकाले बर्सेनि अष्टिम्कीको सेरोफेरोमा अष्टिम्की चित्रकला कार्यशाला तथा प्रतियोगिता आयोजना गर्छ । साथै पालिकाले लोककलाको हब भनेर नै घोषणा गरेको छ ।

थारु परम्परालाई जगेर्ना गर्न प्रत्येक वर्ष अष्टिम्कीका अवसरमा कार्यशाला सञ्चालन गर्दै आएको बताउनुहुन्छ, जानकी गाउँपालिका, कैलालीका अध्यक्ष गणेश चौधरी । “पुराना पुस्ताबाट प्राप्त सीप र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले अष्टिम्की चित्रकला बनाउने परम्परालाई जोगाउन कार्यशाला गर्दै आएका छौँ”, उहाँ भन्नुहुन्छ, “कार्यशालामा सहभागीलाई भित्तेचित्र कसरी बनाउने, यसको महत्त्व के छ भन्नेबारेमा सिकाइन्छ ।”

जानकी गाउँपालिकाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा चित्रमा रङको संयोजन कसरी गर्ने, थारु सीप र परम्परासँग कसरी जोड्ने भन्ने विषयमा काम गर्दै आएको छ ।

अध्यक्ष चौधरीका अनुसार थारु समुदायको अष्टिम्की चित्रकलामा संरक्षण र व्यवसायीकरणको पहलको आवश्यकता छ । चित्रकलालाई भविष्यमा कसरी बजारीकरण गर्ने भन्ने विषयमा योजना बनाइरहेको उहाँले सुनाउनुभयो । मिथिला चित्रकलाजस्तै अष्टिम्कीले पनि बजार पाओस् भन्ने चाहना रहेको उहाँको भनाइ छ ।

यसका लागि गाउँपालिकाले अष्टिम्की चित्रकलालाई बेलाबेलामा प्रदर्शनीमा राख्ने र आगामी दिनमा कोसेली घर स्थापना गरेर बिक्री गर्ने सोच बनाएको छ ।

यसैगरी, बर्दियाको ठाकुरबाबा नगरपालिकाअन्तर्गत ठाकुरबाबा प्रज्ञा प्रतिष्ठानले पनि यस वर्ष तीनदिने अष्टिम्की चित्रकला कार्यशाला आयोजना गरेको छ । दुई दर्जन सहभागीले प्रशिक्षकहरूबाट सुन्दर अष्टिम्की चित्र बनाएका छन् । यसलाई अरु वर्ष पनि निरन्तरता दिइने प्रतिष्ठानका सचिव खगेन्द्र नेपाल बताउनुहुन्छ ।

बर्दियाको बारबर्दिया नगरपालिकाले थारु लोककला अष्टिम्की जोगाउन तथा यसलाई व्यापकता दिन यस वर्ष पालिकास्तरीय अष्टिम्की टिक्ना (पूजा गर्ने) कार्यक्रम गरेको छ । यसका साथै, नगरपालिकाले अतिरिक्त क्रियाकलापअन्र्तगत परम्परागत सीप हस्तान्तरणसँग सम्बन्धित विभिन्न कार्यक्रम विद्यालयहरूमा गर्दै आएको छ ।

नगरपालिकाका प्रशासकीय अधिकृत टीकानाथ गोसाईंले परम्परागत सीपलाई जोगाउने उद्देश्यले अष्टिम्की चित्रकला, डुना, टपरी, ढकिया बनाउनेलगायत कार्य विद्यालयलले शैक्षिक क्यालेन्डरमै समावेश गरेको बताउनुभयो । आगामी दिनमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा अष्टिम्की कार्यशाला गर्ने योजना रहेको उहाँको भनाइ छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले अष्टिम्की चित्रकला जोगाउन र प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले संस्कृति र परम्परा जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । “यसको संरक्षणका लागि सम्बन्धित समुदायभित्र पुस्तान्तरण हुन आवश्यक छ”, उहाँले भन्नुभयो, “यही आवश्यकतालाई मध्यनजर गर्दै प्रतिष्ठानले झकझक्याउने ठाउँमा जति सम्भव हुन्छ, सहकार्यको प्रयास बढाइरहेको छ ।”

अष्टिम्की चित्रकला कार्यशालमा प्रतिष्ठानले गरेको सहजीकरणको प्रभाव राम्रो देखिएको उहाँको अनुभव छ । “लोककलाको बजारीकरण र दीगो विकासका सम्भावनालाई ध्यानमा राख्दै काम सुरू गरिएको छ । यस्ता कार्यक्रमले थारु समुदायको मौलिक शैली, लोककथा, अष्टिम्की चित्र तथा अन्य लोकचित्रकलालाई जनजीवन र सामाजिक रूपान्तरणसँग जोड्ने प्रयास गरेका छन्”, उहाँले भन्नुभयो ।

प्रशिक्षण कार्यक्रममार्फत स्थानीय कलाकार तथा नयाँ पुस्तालाई थारु चित्रकलाको महत्त्व र सीप हस्तान्तरण गरिँदै आएको छ । यसबाट राम्रो प्रभाव र सम्भावना देखिएको काफ्ले बताउनुहुन्छ । उहाँका अनुसार, लोकचित्रकलाको मौलिकता जोगाउँदै पुस्तान्तरण र दीगो विकासका लागि आम्दानीको स्रोतका रूपमा कसरी विकास गर्ने भन्नेबारे सोच बनाउन आवश्यक छ ।

अष्टिम्की चित्रकलामा थारुहरूको जीवनदर्शन स्पष्ट झल्किन्छ । थारु लोककला बाँचेको छ । यद्यपि, नयाँ पुस्तालाई यसको महत्त्व अझै पनि बुझाउन सकिएको छैन । चित्र बनाएर आम्दानी गर्न सकिन्छ भन्ने सोचको अभावले पनि यसले व्यवसायीकरणको बाटो लिन नसकेको कलाकार मित्थु थारु बताउनुहुन्छ । उहाँले अष्टिम्की कलामै धेरै पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।

‘पहिले ट सिरिजल जल थल धरती, डुसरे ट सिरिजल कुश कइ डाभ’ यही श्लोकबाट अष्टिम्की गीतको सुरूआत हुन्छ । अर्थात् पहिले पृथ्वी जलैजल थियो, पछि स्थल बन्यो । कुश भन्ने वनस्पतिको पहिलो सृष्टि भयो । यसरी सृष्टिको सिर्जनाको कथाबाट अष्टिम्की गीतको प्रारम्भ भएको छ ।

सर्वहारी अष्टिम्की चित्रलाई अष्टिम्कीको अवसरमा मात्र सीमित नराखी अन्य समय पनि अभ्यासमा ल्याउन सकिए थारु कलाकारलाई अगाडि बढ्न अवसर मिल्ने बताउनुहुन्छ । प्रवर्द्धनमा सबैले आफ्नो स्थानबाट साथ दिए लोककला लोप हुन सक्ने खतराबाट जोगिने उहाँको भनाइ छ ।

संस्कृति बचाउने मनसायले मात्रै होइन, यसलाई आर्थिक अवसरमा परिणत गर्न पनि जरुरी छ । जसरी मिथिला चित्रकलाले विश्वमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ, अष्टिम्की कला भने घरकै भित्ता र पोस्टरमा सीमित हुन पुगेका छन् । यसको प्रवर्द्धनका लागि प्रचार–प्रसार, कार्यक्रम, प्रदर्शनी, अभियान तथा कार्यशालामार्फत नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्नमा भने ढिला भइसकेको छ ।-बुनु थारू/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments