कारागारको संरचना सुधार गर्नुपर्नेमा सांसदको जोड

नेकपा एमालेकी सुनिता बरालले संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि त्यससँग सम्बन्धित धेरै कानुन निर्माण हुन नसकेको बताउनुभयो ।

काठमाडौँ / प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले विशेष समयमा बोल्दै समसामयिक विविध विषयमा आफ्ना धारणाहरु व्यक्त गर्नुभएको छ ।
नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले नेपालको कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले भीडभाड, स्वास्थ्य जोखिम, हिंसात्मक घटना र मानव अधिकार उल्लङ्घनका समस्या बढेको बताउनुभयो ।

उहाँले कारागार व्यवस्थापन कार्यविधिको प्रभावकारी कार्यान्वयनमार्फत कैदीलाई केवल सजाय नभइ सुधार गरी समाजमा पुनःस्थापित गर्ने व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो । सांसद साउदले कारागारलाई सुधारगृहको रूपमा रुपान्तरण गर्दै बन्दीहरूको सीप र क्षमतालाई मुलुकको उत्पादनसँग जोड्ने, खुला कारागार वा सामुदायिक सेवामा संलग्न हुने अवसर दिने र पुनःसामाजिकीकरणका लागि प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । “क्षमताअनुसार संरचना निर्माण, स्वास्थ्य सेवा, स्वच्छता, पौष्टिक आहार र मानसिक स्वास्थ्य कार्यक्रमको सुनिश्चितता गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

नेकपा एमालेकी सुनिता बरालले संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि त्यससँग सम्बन्धित धेरै कानुन निर्माण हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “साझा विषयमा एक भएर अघि बढ्नुपर्नेमा छलफल र आलोचनात्मक चेतको साटो गालीगलौजमा सीमित भइरहेका छौँ ।” उहाँले कानुन निर्माण र विकास निर्माणका विषयमा सधैँ पक्ष–प्रतिपक्षको टकराव मात्र हुने हो भने कल्पना गरेको समृद्ध नेपालको सपना पूरा हुन कठिन हुने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका वर्षमान पुनले सरकारको बेथितिका कारण जनमानसमा निराशा फैलिएको आरोप लगाउनुभयो । उहाँले अर्थतन्त्रमा पनि आशाअनुरुप सुधार हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकमध्ये ७४ प्रतिशत विदेश पलायन हुने सरकारी तथ्याङ्क छ । अर्थतन्त्रका वास्तविक सूचकाङ्कमा सुधार देखिएको छैन । बैंकमा लगानी योग्य खर्बौँ रुपैयाँ थुप्रिएको छ, तर उद्योगी–व्यवसायीले ऋण लिएर व्यवसाय विस्तार गर्न चाहिरहेका छैनन् ।” उहाँले आयात गरिएको मल समेत वितरण हुन नसकेको र मल नपाएका किसानको पीडा सुन्दा सरकार मौन रहेकोप्रति प्रश्न गर्नुभयो ।

नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले नेपालमा हवाई यात्रा असुरक्षित भएको बताउँदै पटक पटक हुने हवाई दुर्घटनाका बारेमा गहिरो अनुसन्धानको आवश्यकता औँल्याउनुभयो । उहाँले हवाई क्षेत्रमा देखिएको दण्डहीनताको अन्त्य हुनुपर्ने र सौर्य एयरलाइन्स दुर्घटनाको कानुनअनुसार पुनःजाँच हुनुपर्ने र न्यायिक जाँच आयोग गठन गरेर पुनः अनुसन्धानको माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments