काठमाडौँ/प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय तथा पर्यटन समितिमो सौर्य एयरलाइन्सको दुर्घटना जाँचबुझ आयोगको अन्तिम प्रतिवेदनबारे छलफल गरिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा सो प्रतिवेदन माथि सरोकारवालासँग छलफल गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा दुर्घटना जाँचबुझ आयोगका पदाधिकारीसँग समितिले सत्यतथ्य जानकारी लिएको छ । बैठकमा दुर्घटना छानबिन आयोगका अध्यक्ष रतिसचन्द्र लाल सुमनले प्रतिवेदन प्रस्तुत गर्दै दुर्घटना मानवीय त्रुटिका कारण भएको स्पष्ट पार्नुभयो ।
आयोगको प्रतिवेदन अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को ढाँचाअनुसार तयार पारिएको र त्यसमा ‘यस्तो दुर्घटना दोहोरिन नदिने उपाय’समेत सुझावस्वरूप समावेश गरिएको उहाँले उल्लेख गर्नुभयो ।
सौर्य एयरलाइन्सको ९ एन–एएमई–सीआरजे २०० कलसाइन विमान दुर्घटनामा १९ मध्ये १८ जनाको निधन भएको र समयमै उद्धार नभएकाले को–पाइलट र इन्जिनियरको पनि ज्यान गएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार मौसम दुर्घटनाको कारण नभएको, उडानको चार सेकेन्डमै विमान दुर्घटना भएको र ‘रेस्क्यु अपरेसन’ प्रभावकारी नभएको उल्लेख छ । ‘क्याबिन क्रु’ले सिट बेल्ट नलगाएको, केही ब्याग सौर्य एयरलाइन्सको कार्यालयमै भेटिएको र नियामक तथा सेवा प्रदायक निकाय दुवैको कमजोरी देखिएको प्रतिवेदनको निष्कर्ष छ ।
बैठकमा पीडित परिवारका तर्फबाट प्रकाश खतिवडाले दुर्घटना जाँचबुझ आयोग नै कानुनसम्मत नभएको आरोप लगाउनुभयो । उहाँले सेवा प्रदायक संस्थामा आयोग अध्यक्षका आफन्त भएको, दुर्घटनामा परेकालाई सौर्य एयरलाइन्सका कर्मचारी बनाएको र उडान अवैज्ञानिक भएको दाबी गर्दै न्यायिक जाँचको माग गर्नुभयो ।
को–पाइलट सुशान्त कटुवालका बुबा ओम कटुवालले दुर्घटनाको दोष छोरामाथि पोखिएको भन्दै असन्तुष्टि प्रकट गर्नुभयो । उहाँले दुर्घटनाको सम्पूर्ण जिम्मेवारी अनुमतिदाता निकाय हुने तर्क गर्नुभयो ।
बैठकमा सांसद शिशिर खनालले पाइलट र को–पाइलटलाई मात्र दोषारोपण गर्ने भाष्य निर्माण गर्न नहुने भन्दै आपत्ति जनाउनुभयो । उहाँले सुरक्षित हवाई सेवा सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभयो । सांसद प्रेम सुवालले ११ महिना लगाएर तयार गरिएको प्रतिवेदनबारे प्रश्न उठाउँदै विमान उड्न र यात्रु जान अनुमति दिने निकाय नै बढी जिम्मेवारी हुने बताउनुभयो ।
सांसद एकनाथ ढकालले विमान दुर्घटनामा बढी जिम्मेवार नियामक निकाय हुने धारणा राख्नुभयो । सांसद एनपी साउदले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा कमजोरी कुन–कुन निकायको हो प्रतिवेदनमा स्पष्ट आउनुपर्ने बताउनुभयो ।
बैठकमा विभिन्न सांसदले प्रतिवेदनका निष्कर्ष, अनुसन्धानको विधि, मनोवैज्ञानिक परामर्शको आवश्यकता, स्रोत–साधन अभाव र विस्फोटक पदार्थसमेत रहेको दाबीबारे छलफल गर्नुभएको थियो ।
समितिले दुर्घटनाका कारणमा थप गहिरो छानबिन गर्नुपर्ने र सुरक्षा मापदण्ड कार्यान्वयनमा कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको छ । समितिका सभापति राजकिशोर यादवले दुर्घटना जाँचआयोगको अन्तिम प्रतिवेदनबारे कानुनी परामर्श लिएर थप छलफल गरेर मात्रै निर्णय लिइने जानकारी दिनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित