काठमाडौँ/ प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।
पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।
आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।
स्नानपछि जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धती सहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवम् तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।
वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो समेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवम् नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक लगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।
जनै पूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ ।
विभिन्न थरी गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताउनुहु्न्छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग पनि निको हुने उहाँले सुनाउनुभयो ।
नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । अहिले यो परम्परा पहाडी क्षेत्रमा बढ्न थालेको छ ।
काठमाडाँैको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमा दिन आज बिहानैदेखि मेला लाग्ने गर्छ ।
नवलपरासी/नयाँ पुस्तामा सिप हस्तान्तरण नहुँदा हिन्दू धर्मावलम्बीले मात्र प्रयोग गर्ने जनै बनाउने प्रचलन हराउँदै जान थालेको छ । हिजो आज जनै घरमा नै तयार पार्ने प्रचलन हराउँदै गए पछि बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ ।
युवापुस्ता रोजगारी तथा अन्यकार्यमा व्यस्त रहने हुँदा पनि जनै तयार पार्ने सिप सिक्न नसक्दा अहिले यो सिप नै लोप हुने अवस्थामा पुगेको हो । युवापुस्ताले जनै बनाउनेकार्यमा चासो नदिने तथा सुलभ मूल्यमा बजारमा जनै पाइने भएकाले यो क्रम हराउँदै गएको नवलपरासी(बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–६ का पूर्ण भुसालले बताउनुभयो ।
“अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सिप नहुँदा हिजो आज यो क्रम हराउँदै गएको छ”, उहाँले भन्नुभयो, “आफँैले बनाउनुभन्दा बजारमा किन्न सजिलो हुने भएपछि सबैले त्यसै गर्न थालेका छन् ।”
केही वर्ष अगाडिसम्म जनै बनाएर आफन्तलाई पनि दिने गरेको भएता पनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको मध्यविन्दु नगरपालिका–७ का मणि सापकोटाले बताउनुभयो ।
“आजकाल अधिकांश युवा विदेश छन्, भएका पनि रोजगारीमा लागेका छन् । फुर्सद् नहुँदा नयाँ युवाले जैनै बनाउने सिप नै सिक्न छाडे”, उहाँले भन्नुभयो, “अधिकांश गाउँघरमा युवा पुस्ताभन्दा वृद्ध वृद्धा र महिला बालबालिका मात्र हुँदा पनि जनै बनाउने मान्छे पनि नभएर यो सिप हराउँदै गयो ।”
गाउँमा अहिले जनै बाट्नै छाडिसकेको सापकोटाले बताउनुभयो । जनै पूर्णिमाको लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उहाँले बताउनुभयो । बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरकफरक मूल्यमा उपलब्ध हुने गरेका छन् । नयाँ जनै फेर्नुपर्ने हिन्दु संस्कारमा रहिआएको मान्यताअनुसार जनै पूर्णिमाको लागि जनैको कारोबार पनि ठुलै हुने गरेको पाइन्छ ।
विगतका वर्षमा गाउँघरमा ब्राह्मण तथा क्षेत्री समुदायका व्यक्तिले एक महिना अघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो जनै नै उत्कृष्ट जनै रहने गरेको पण्डित इन्द्रप्रसाद गौडेलले बताउनुभयो ।
“आफ्नै हातले धागो सङ्ग्ल्याएर, कतुवामा बाटेको जनै नै राम्रो हो, हिजो आज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो” उहाँले भन्नुभयो “भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावटी राम्रो र उपयुक्त हुँदैन ।”
पछिल्लो समय हिन्दु धर्मावलम्बीको पवित्र पर्वको रूपमा मनाइने जनपूर्णिमाको महत्त्व नयाँ पुस्ताले बिर्सँदै गएको पण्डित गौडेलले गुनासो गर्नुभयो ।
“रक्षा बन्धनका दिन नजिकैको धार्मिक मठमन्दिरमा गएर विधिपूर्वक पूजाआजा गर्नुपर्ने भएता पनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “आधुनिकताको नाममा र युवापुस्ता व्यस्त रहने हुँदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।”
जनै पूर्णिमा(रक्षा बन्धन)का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षा बन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रही आएको छ । “तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्त ऋषिलाई तर्पण दिने भएकाले जनै पूर्णिमालाई ऋषि तर्पणी पनि भन्ने गरिएको छ”, पण्डित गौडेलले भन्नुभयो, “हिन्दु धर्मावलम्बीले यस पूर्णिमाको दिन नजिकैको तीर्थस्थलमा गई मन्त्रो उच्चारण गरी विधिपूर्वक पूजाआजा गरेर घरमा लगेको जनै र रक्षा बन्धन लगाएर जनै पूर्णिमा पर्व मनाउने परम्परा रही आएको छ ।”
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित