वर्षा रोकिएपछि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनको सहयोगमा पहिरा पन्छाएर सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले जानकारी दिनुभयो ।
पाल्पा / अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सिद्धबाबा क्षेत्रका तीन ठाउँमा ढुङ्गासहित पहिरो खसेपछि सोमबार साँझदेखि पूर्णरूपमा अवरुद्ध बनेको सडक आज साँझादेखि एकतर्फी सञ्चालनमा आएको हो ।
वर्षा रोकिएपछि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनको सहयोगमा पहिरा पन्छाएर सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले जानकारी दिनुभयो ।
राजमार्गको पाल्पा तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रको नागडाँडा, ड्यामसाइड, सिद्धबाबालगायत स्थानमा खसेका पहिराले सोमबार बेलुकीदेखि सडक अवरुद्ध भएको थियो । निरन्तरको वर्षाका कारण सडकमा खसेका पहिरा पन्छाउन नसकेर राजमार्ग खुलाउन ढिलाइ भएको प्रमुख आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पानी परिरहेको र माथिबाट ढुङ्गासहितको पहिरो झर्न नरोकिएकाले केही समस्या आएको हो । अहिले डोजर लगाएर दुवैतर्फ खुलाउने प्रयास भइरहेको छ ।” सोमबार दिनभर बेला–बेलामा पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गरे पनि साँझातिरदेखि पुनःनिरन्तर वर्षा भइरहेकाले पहिरो निरन्तर खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । पानी रोकिनासाथ कर्पोरेसनले डोजर लगाएर सडक खुलाउन सहयोग गरेको उहाँको भनाइ छ ।
पुनः पानी पर्नासाथ राजमार्गको माथिल्लो भेगबाट ढुङ्गा खसेपछि सवारीसाधन रोकिने ट्राफिक कार्यालयले जनाएको छ । यात्रुलाई जोखिमका बेला अत्यावश्यकबाहेक यात्रा नगर्न दोभान प्रहरी चौकीले अनुरोध गरेको छ ।
पानी परेर सिद्धबाबा खण्डमा पहिरो खस्ने, ढुङ्गा खस्ने भएपछि प्रहरी चौकी दोभान, प्रभास, बर्तुङले सवारीसाधन रोक्दै गरेका छन् । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट आवतजावत गर्ने सवारीसाधन बाटोमा रोकिएका थिए । सडक एकतर्फी खुलेपछि सवारी गन्तव्यतर्फ लागेका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित